बौद्धिक अपांगता स्रोत केन्द्र संकटमा

शंकर आचार्य

पर्सा — ८ महिनादेखि छात्रवृत्ति निकासा नहुँदा जिल्लामा सञ्चालित अपांगता सम्बन्धी विशेष कक्षा सञ्चालन हुने स्रोत केन्द्रहरू संकटमा परेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक देखिको विशेष कक्षाका विद्यार्थीको छात्रवृत्ति निकासा भई नआएकाले कक्षा सञ्चालकहरूलाई ती विद्यार्थीलाई २ छाक खाना खुवाउनसमेत समस्या भएको छ ।

जिल्लाका ५ विद्यालयमा सञ्चालित यस्तो कक्षामा ५० विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई सरकारले जनही ४ हजार रुपैयाँको दरले छात्रवृत्ति उपलब्ध गराउँछ । त्यसै छात्रवृत्तिको भरमा उनीहरूलाई आवास सुविधा सहितको पठनपाठनको व्यवस्था मिलाइएको छ ।

तर ८ महिना यता छात्रवृत्तिबापतको रकम नपाउँदा अपांग विद्यार्थीहरूको पालनपोषणमै समस्या भएको गुनासो विशेष कक्षा सञ्चालक शिक्षकहरूले गरेका छन् । जिल्लाको नेरा मावि भिखमपुरमा बहिरा, पोखरिया निमाविमा सुस्त मनस्थिति, वीरगन्जको सिद्धार्थ माविमा दृष्टिविहीन, नेरामावि महुवनमा सुस्त मनस्थिति र देवरञ्जन मावि रामनगरीमा बहिरा विद्यार्थीको विशेष कक्षा स्रोत केन्द्र सञ्चालन हुँदै आएका छन् । विगतमै साधन–स्रोत अभावमा थलिएका यी केन्द्रहरू हाल अर्थ अभावमा झनै रुग्ण भएका छन् ।

पर्सामा २०५८ सालदेखि सञ्चालित यी केन्द्रमा एक/एक स्रोत शिक्षक र आयाको व्यवस्था छ । महुवन स्रोत केन्द्रका शिक्षक रामनरेश यादव विद्यार्थीको पालनपोषणमा खर्च हुने छात्रवृत्तिको रकम नआउँदा स्थिति नाजुक बनेको बताउँछन् । ‘८ महिनादेखि उधारोमा रासन खरिद गरेर काम चलाएका छौं,’ उनले भने, ‘आजभोलि भनेर छात्रवृत्ति रकम आउला भनी पर्खी बसेका छौं, तर अब हदै समस्या भएको छ ।’

प्रत्येक विद्यार्थीबापत वर्षको १० महिना सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यसै रकमबाट बालकहरूको खानापिना, औषधिमुलो, पोसाक आदि सम्पूर्ण सामग्रीको व्यवस्था गर्नुपरेको यादव बताउँछन् । छात्रवृत्ति रकमले पनि बालकहरूलाई दैनिक बिहान चिया–बिस्कुट, दिउँसो नास्ता, २ छाक खाना र प्रत्येक शुक्रबार मासु दिने गरिएको उनले बताए ।

बौद्धिक अपांगता भएका बालक भएकाले उनीहरूलाई २४ सै घण्टा निगरानी गरेर बस्नुपरेकाले यस्ता केन्द्र सञ्चालन गर्न विशेष सजग पनि हुनुपर्छ । सामान्य विद्यार्थी जस्तो बौद्धिक अपांगता भएका विद्यार्थीलाई पढाउने पाठ्यक्रम र माध्यम सहज नहुने भएकाले उनीहरूलाई व्यवहार परिवर्तन, सामान चिनाउने र चाडपर्व आदि अनुसार त्यस्ता पर्वमा प्रयोग हुने सामान तथा खाने परिकार आदिबारे शिक्षा दिएर समाज तथा परिवारमा पुन:स्थापनाको प्रयास गरिन्छ ।

भीखमपुर स्रोत केन्द्रका शिक्षक अशोक कुमार साह पटकपटक जिल्ला शिक्षा विकास समन्वय इकाईमा जानकारी गराउँदा पनि छात्रवृत्ति रकम निकासा नभएको गुनासो गर्छन् । ‘कतिन्जेल उधारोमा रासन खरिद गरेर गुजारा चलाउने,’ उनले भने, ‘अब त किराना पसलेले पनि रासन दिन्न भन्न थालिसके ।’

जिल्ला शिक्षा समन्वय इकाइका अधिकृत हरि राउत यी स्रोत केन्द्रकी लेखाजोखा संयोजक शबनम श्रीवास्तवले केन्द्रको छात्रवृत्ति रकमको माग फारम भरेर नपठाएकाले यो समस्या भएको बताए । उनले तर चालु आवको अन्त्यसम्ममा रकम निकासा भएर आउने दाबी गरे ।

Yamaha

Esewa Pasal

प्रकाशित : जेष्ठ २४, २०७५ ०९:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

२ अर्बको मरिच आयात

तेस्रो मुलुकबाट आयात हुने मरिच भारत तस्करी
शंकर आचार्य

पर्सा — चालु आवको जेठ १३ गते सम्ममा सिर्सिया सुख्खा बन्दरगाहबाट २ अर्ब ६ करोड ८ हजार ३ सय ५९ रुपैयाँ बराबरको ५० लाख ७३ हजार ७४ किलो मरिच आयात भएको छ । गत आर्थिक वर्षभरिमा ६३ करोड १८ लाख ४९ हजार रुपैयाँ बराबरको ९ लाख ३ सय ८६ किलो मरिच आयात भएको थियो ।

तेस्रो मुलुकबाट खरिद गरिएको मरिच भारत तस्करी हुने क्रम नरोकिएपछि यसको आयात ठूलो परिमाणमा हुने गरेको हो । सिर्सिया बन्दरगाह नाकाबाट मरिचको आयातको पछिल्लो तथ्यांकले भारत तस्करीको आरोपलाई बल मिल्छ ।

नेपालमा कम माग रहे पनि यो मसलाको आयात बढदै गएको छ । नेपालमा मरिच विशेष गरी भियतनाम र ब्राजिलबाट आयात हुन्छ । मरिचको मुख्य औद्योगिक आयातकर्तामा डाबर नेपाल र चौधरी गु्रप हुन् भने अन्य आयातकर्तामा आधादर्जनभन्दा बढी ट्ेरडिङ कम्पनी छन् । तीमध्ये अधिकांश वीरगन्जकै छन् । मरिचको आयात गर्दा मूल्यको ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

भारतले आफ्ना मुलुकका किसानको उत्पादनलाई प्रोत्साहन दिन यस्ता मसलाको तेस्रो मुलुकबाट आयातमा कडाइ गरेको छ । तर खुला सीमाका कारण नेपालबाट भारत तस्करी गरी लग्न सहज भएकाले कारोबारीले नेपालमा आयात गरेर भारतसम्म यो मसला लैजान्छन् । सुक्खा बन्दरगाह भन्सार कार्यालय उच्च स्रोतले फागुन महिनामा मूल्यांकन बढाएपछि यो नाकाबाट मरिचको आयात केही घटेको बतायो । पछिल्लो समय सुक्खा बन्दरगाह नाकाबाट मात्र नभई वीरगन्ज/आईसीपी भन्सार नाकाबाट पनि मरिचको आयात हुन थालेको छ ।

भन्सार प्रशासनले फागुन मध्यतिर सन्दर्भ मूल्यअनुसार राजस्व संकलन प्रयास गर्दा झन्डै २ साता आयातकर्ताले मरिच जाँचपास गराएर लगेका थिएनन् । बन्दरगाहस्थित भन्सार कार्यालयले कालो मरिचको मूल्य प्रतिमेट्रिक टन ३ हजार ७ सय डलर मानेर जाँचपास गर्न थालेपछि मात्र मरिचको आयात सहज भएको थियो । यसअघि कालो मरिचको मूल्य भन्सारको सन्दर्भ मूल्यअनुसार ७ हजार डलर प्रतिमेट्रिक टन थियो ।

आईसीपी भन्सार कार्यालयका अधिकृत मोहनराज भट्ट यसअघि मरिचमा भन्सार महसुल ५ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्ने गरेकोमा मंगलबार सरकारले ल्याएको बजेटबाट मरिचको भन्सार महसुल बढेर १० प्रतिशत पुगेको बताए ।

वैशाख लागेयता वीरगन्ज तथा आईसीपी भन्सार नाकाबाट मरिचको आयात बढेको अनुभव गरिएको उनले बताए । वैशाख यता यी दुवै नाकाबाट गरी दैनिक ८/१० गाडी मरिच भित्रिएको उनले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७५ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT