कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शौचालय छैन, खुला दिसामुक्त घोषणा

रौतहट — गरुडा नगरपालिका ४ मा रहेको दलित बस्ती पुगेका वडाध्यक्ष चुनचुन साहलाई बस्तीका चन्द्रकला ठाकुरले शौचालय बनाइदिन अनुरोध गरिन् । 

शौचालय छैन, खुला दिसामुक्त घोषणा

बस्तीका धेरै जसोको घरमा शौचालय नभएको भन्दै साहलाई बनाइदिन आग्रह गरेका हुन् । झन्डै ३० घरधुरी रहेको दलित बस्तीका ८/१० घरमा शौचालय छैन । यो नगरपालिका खुला दिसामुक्त घोषणा भइसकेको छ । त्यसैले वडाध्यक्ष साह घोषणाप्रति आक्रोशित थिए ।


शौचालय अभावमा बाहिर खुला स्थानमा शौच गर्नुको पीडा सुनाउँदै बस्तीका ठाकुर लगायतले साहलाई शौचालयका लागि अनुरोध गरेका थिए । ‘घर बनाउन पैसा छैन, शौचालय कसरी बनाउनु ।नगरपालिकाले सहयोग गर्‍यो भने बन्ला नत्र सम्भव छैन,’ उनले खेततिर देखाउँदै भनिन्, ‘ऊ त्यहाँ खुला स्थानमा शौच गर्छाैं। कहिलेकाहीं लाजले भुतुक्कै हुन्छाैं ।’ उनी लगायत बस्तीका सबैको पीडा उस्तै छ ।


घरमा शौचालय छैन । बनाउन आर्थिक अभाव छ । घर बनाउन नसक्ने अवस्थाकाले शौचालय कसरी बनाउने भन्ने समस्या छ । शौचालय बनाउन बाँकी रहेकै अवस्थामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्न गरुडा नगरपालिकाले मंगलबार निकै तामझामका साथ कार्यक्रमको आयोजना गर्‍यो । त्यसका लागि झन्डै ६ लाख बढी नगरपालिकाको कोषबाट खर्च गरियो । कार्यक्रम सकिन नपाउँदै चर्को आलोचना खेप्नुपर्‍यो । घरघरमा शौचालय बनाउनुपर्नेमा त्यसो नगरी हचुवाका भरमा घोषणा गरेको भन्दै वडाध्यक्ष साहले कार्यक्रमै बहिष्कार गरे । उनले नोट अफ डिसेन्ट लेखे । कार्यक्रममा केही पत्रकारलाई सम्मान गर्न बोलाइएको थियो । तर मञ्चमा नगई उनीहरू बाहिरिएका थिए । शौचालय बन्न बाँकी रहेको नगरपालिकामा हचुवाका भरमा राखिएको घोषणासभामा सम्मानपत्र लिँदा बदनाम हुने भन्दै पत्रकारले लिन अस्वीकार गरे ।


नगरपालिकाको वडा ४ का धेरैजसो घरमा शौचालय नै नबनाई हचुवाका भरमा खुला दिसामुक्त नगरपालिका घोषणा गरेको भन्दै वडाध्यक्ष साहले विरोध जनाएका हुन् । कार्यक्रमका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रमुख अतिथि बनाइएको थियो । ‘दलित बस्तीकै केहीको घरमा शौचालय छैन । यो एउटा उदाहरण मात्र हो,’ उनले भने, ‘बजार क्षेत्रकै कैयौंको घरमा शौचालय छैन । यस्तो हचुवाका भरमा गरिएको कार्यक्रमको विरोध जनाएको हुँ। पटेल गाउँमा पनि शौचालय छैन ।’ उनी दलित बस्ती पुग्दा धेरैले शौचालय नभएको गुनासो पोखे । उनलाई बनाइदिन सहयोग गर्नुपर्ने माग अघि सारे । नगरपालालिकासित शौचालय निर्माणका लागि रकम माग गर्दा सुनुवाइ नभएको र घोषणा गर्न हतार गरेको साहको आरोप छ ।


जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालयले जिल्लाभरि ९७ प्रतिशतको घरमा शौचालय बनाइसकेको दाबी गरेको छ । जिल्लाको १६ नगरपालिका र २ गाउँपालिकामा खुला दिसामुक्त नगर घोषणा गर्ने अभियानमा लागेको डिभिजनले जनायो । कटहरिया नगरपालिका ४ का वडा सदस्य मीनादेवी यादवको घरमा शौचालय नभएको भन्दै ब्यापक आलोचना भयो । जिल्लालाई खुला दिसामुक्त गराउने अभियान चलाइँदै गर्दा यहाँ स्थानीयतहका जनप्रतिनिधिकै घरमा शौचालय छैन ।

प्रकाशित : जेष्ठ २७, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?