कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधिको दबाबले कटान रोकियो

अमन कोइराला

सर्लाही — जानकीनगर साझेदारी वनमा भइरहेको रूख काट्ने काम जनप्रतिनिधिको दबाबपछि रोकिएको छ । 
वन व्यवस्थापनका नाममा छानीछानी सालको रूख काटिएको भन्दै विरोध भएपछि जनप्रतिनिधि कटान क्षेत्रमा शनिबार पुगेर रोक्न लगाएका हुन् ।

जनप्रतिनिधिको दबाबले कटान रोकियो

वैज्ञानिक व्यवस्थापनमार्फत उत्पादन बढाई विदेशबाट आउने काठलाई रोक्ने उद्देश्यले नीति बनाएर रूख कटान भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ ।

जिल्ला वन अधिकृत नरेश ठाकुरले ठूलो गृहकार्यपछि काठको उत्पादन बढाउन वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने नीति अनुसार काम भइरहेको बताए । ‘यसबारे सबैलाई बुझाउन नसकेका कारण विरोध भएको हो,’ उनले भने, ‘एकपटक बृहत् छलफलपछि मात्र काट्न जनप्रतिनिधिबाट सुझाव आएको छ । सरोकारवाला सबै राखेर छलफल नहुन्जेल कटान बन्द गरेका छौं ।’

प्रदेश सांसद डिल्ली उप्रेती, हरिवन नगरपालिका प्रमुख गणेश प्रसाई, बरहथवा नगरपालिका प्रमुख देवकुमार महतो र हरिपुर नगरपालिका प्रमुख जमरुद्दिन मन्सुर साझेदारी वनमा पुगेर कटान रोक्न लगाएका हुन् । सालका कलिला रूख काटिएको गुनासो आएकाले तत्काल रोकेर सम्पूर्ण कुरा बुझाएर मात्र काम अघि बढाउन उनीहरूले वन कार्यालयलाई सुझाव दिएका थिए ।

उप्रेतीले वैज्ञानिक वन व्यवस्थापनका नाममा छानी छानी सालका रूख काटिएको गुनासो आएकाले त्यसको औचित्य पुष्टि गरेर मात्र अघि बढ्न वन कर्मचारीलाई सुझाव दिए । ‘जंगल मासिन लाग्यो भन्ने जनताको गुनासो छ,’ उनले भने, ‘वैज्ञानिक वन व्यवस्थापन भनेर गर्न लागेको काम र कलिला सालका रूख काटिनुको औचित्य पुष्टि नगरुन्जेल कटान रोक्नुपर्छ । जनप्रतिनिधि, वन छेउका बासिन्दा र सरोकारवालाको चित्त नबुझाई कटान जारी राखे हामी त्यसलाई रोक्न बाध्य हुन्छौं ।’ जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीयको विरोधपछि वन अधिकृत ठाकुरले यसबारे सबैलाई जानकारी गराएर मात्र अघि बढ्ने बताए । ‘विदेशबाट आयात हुने काठ प्रतिस्थापन गर्न वैज्ञानिक वन व्यवस्थापनको विकल्प छैन,’ उनले भने, ‘सबैलाई यसको औचित्य बुझाएर काट्दा अझ राम्रो हुन्छ । हामीले पहिले पनि धेरै छलफल चलाइसकेका छौं । जनप्रतिनिधिको सुझावअनुसार फेरि पनि छलफल राखेर बुझाउँछौं ।’

सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीले वैज्ञानिक वन व्यवस्थापन भन्ने शब्द राम्रो भए पनि काम गराई गलत भएको बताएका छन् । महासंघका सचिवालय सदस्य ठाकुर भट्टराईले वैज्ञानिकका नाममा जैविक विविधता ओझेलमा पार्ने काम भएको बताए । ‘छानी छानी सालका कलिला रूख काटिएको छ,’ उनले भने, ‘कम काठ आउने बांगो रूख यथावत् छन् । नियत राम्रो देखिएको छैन ।’

ठाकुरले केही सामुदायिक र साझेदारी वनमा वैज्ञानिक व्यवस्थापनको काम भएको उल्लेख गरे ।

उनले केन्द्रबाटै पारित भएको नीति भएकाले यसको कार्यान्वयनले देशलाई काठमा आत्मनिर्भर बनाउने र निकासी गर्न सक्ने हैसियमता पुर्‍याउने बताए । ‘तत्काल विवाद देखिएकाले काट्न रोकेर संवाद गर्ने सहमति भयो,’ उनले भने, ‘समग्र वन क्षेत्रकै फाइदाका लागि यो काम भइरहेको हो ।’

प्रकाशित : जेष्ठ २७, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?