कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेट्रोलियम पदार्थको कृत्रिम अभाव

जनकपुर — नेपाल आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन र ट्यांकर व्यवसायी संघकै मिलेमतोमा ३ जिल्लामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गर्ने ५ जनालाई पक्राउ गरेर धनुषा प्रहरीले मुद्दा चलाएको छ ।

पेट्रोलियम पदार्थको कृत्रिम अभाव

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा सिन्डिकेट र चक्रीय प्रणाली लागू गरेर निगमको महेन्द्रनगर डिपो, जनकपुर पेट्रोलियम डिलर्स एसोसिएसन र ट्यांकर व्यवसायीले धनुषा, महोत्तरी र सिन्धुलीमा सातादेखि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना गरेका छन् । जानीजानी पेट्रोलियम पदार्थको अभाव सृजना गरेको आरोपमा धनुषा प्रहरीले निगमको महेन्द्रनगर डिपोका प्रमुख मोहनकुमार साह, एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र व्यवसायी संघका अध्यक्ष किशुनदेव साहलाई सोमबार पक्राउ गरेको छ ।

पेट्रोल पम्पका दुई जना कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीका एसपी गोविन्द थपलियाले पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको बताए । धनुषा प्रहरीले जनकपुरको पेट्रोल पम्पमा प्रहरी परिचालन गरेर पेट्रोलियम पदार्थको बिक्री–वितरण सहज बनाउने प्रयास गरिरहेको एसपी थपलियाको दाबी छ । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले ठगी र कालोबजारीमा मंगलबार मुद्दा चलाएको हो । ‘पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारीमा पक्राउ परेका सबैको संलग्नता देखिएको छ,’ थपलियाले भने, ‘लामो समयदेखि निगम, एसोसिएसन र व्यवसायीको मिलेमतोमा यहाँ पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको अनुसन्धानमा देखिएको छ ।’ डिलर्स एसोसिएसनका अध्यक्ष विष्णुदेव र टंयाकर व्यवसायी संघका अध्यक्ष किशुनदेव दाजुभाइ हुन् । धनुषाको सखुवा महेन्द्रनगरमा रहेको नेपाल आयल निगमको डिपोले भारतको बरौनीबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर धनुषा, महोत्तरी र सिन्धुलीमा बिक्री–वितरण गरिरहेको छ । बरौनीबाट निगमको महेन्द्रनगर डिपोमा खन्याइने पेट्रोलियम पदार्थ ट्यांकरमा लोड गरेर धनुषा, महोत्तरी र सिन्धुलीको पेट्रोल पम्पमा पुर्‍याइन्छ । निगम, डिलर्स एसोसिएसन र ट्यांकर व्यवसायीबीच डिपोबाट पेट्रोलियम पदार्थ लोड गर्ने ट्यांकरको पालोको विषयमा विवाद छ ।

पेट्रोलियम व्यवसायी र ट्यांकर व्यवसायी धेरैजसो एकै जना भएकाले उनीहरूले आफ्नो पेट्रोल पम्पमा आफ्नै ट्यांकरमा पेट्रोलियम पदार्थ लैजान खोज्नु र निगमले त्यसो गर्न नदिएपछि विवाद बढेको हो । धनुषा प्रहरीले पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना गर्ने जनकपुरका ३ वटा पेट्रोल पम्पका सिलबन्दी गरेको छ ।

जिरोमाइलको भी आयल, मुजेलियाको बाबा आयल र जनकपुर डिजल सेन्टरमा सिलबन्दी गरेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीले पम्पमा रहेको पेट्रोलियम पदार्थको मौज्दात समेत संकलन गरेको छ । धनुषा, महोत्तरी र सिन्धुलीमा दैनिक २ लाख ५० हजार डिजेल १ लाख लिटर पेट्रोल खपत हुन्छ ।

बजारमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन शनिबार भएको सहमति निगम, पेट्रोलियम एसोसिएसन र ट्यांकर व्यवसायीले अटेरी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा पेट्रोलियम पदार्थ आपूर्तिसँग सम्बन्धित यी तीनै निकायले बिक्री–वितरण सहज तुल्याउने प्रतिबद्धता जनाएका थिए ।

जनकपुरमा रहेका वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव चढेको गाडीले भी आयलमा तेल हाल्न खोज्दा नपाएपछि प्रहरी बोलाएर सिलबन्दी गराइएको थियो । मन्त्री यादवकै निर्देशनमा धनुषा प्रहरीले पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी गर्नेलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदा बजारमा हाहाकार छ । बिक्री–वितरण भइरहेको केही पेट्रोल पम्पमा उपभोक्ताको लामो लाम छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?