कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२२ करोड राजस्व संकलन

रवीन्द्र उप्रेती

महोत्तरी — बर्दिवासस्थित यातायात व्यवस्था सेवा कार्यालयले यस वर्ष २१ करोड ९५ लाख राजस्व संकलन गरेको छ । जेठ ३० गतेसम्म मात्र ९ करोड ९० लाख संकलन भइसकेको कार्यालयले जनाएको छ ।

२२ करोड राजस्व संकलन

‘अनपेक्षित ढंगमा उठेको राजस्वले यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासको महत्त्व मात्र दर्साएको छैन,’ कार्यालय प्रमुख पोषण थापाले भने, ‘यसले कार्यालयका कर्मचारीलाई उत्साहितसमेत पारेको छ ।’

थापाका अनुसार सेवा कार्यालयमा भन्सार र कर कार्यालयजस्तो असुलीको लक्ष्य तोकिएको हुँदैन । सेवा लिन आएका सेवाग्राहीको संख्याको तुलनामा सवारी राजस्व असुली हुने हो । बढ्दो सेवाग्राहीका कारण यहाँबाट उठेको राजस्व तुलनात्मक रूपले भैरहवा र विराटनगरका सेवा कार्यालयको तुलनामा बढी रहेको उनको दाबी छ ।

०७१ सालदेखि बर्दिवासमा स्थापित यो सेवा कार्यालयले सबै प्रकारका सवारीसाधनको राजस्व असुली, रुट परमिट जारी र नवीकरण, पटके इजाजत, जाँचपासजस्ता सेवा दिँदै आएको छ । यही जेठदेखि हराएकालाई नयाँ लाइसेन्स र स्मार्ट लाइसेन्स वितरणको समेत जिम्मेवारी थपिएपछि सेवासँगै राजस्व असुलीसमेत बढेको हो । भौगोलिक सहजता र आवागमनको सुविधाले धनुषा महोत्तरीका उत्तरी क्षेत्रलगायत सर्लाही, रौतहट, सिन्धुली र देलाखासम्मका सवारीधनीलाई बर्दिवासस्थित कार्यालयबाट सेवा लिन सहज भएको छ । तर पछिल्लो समय जलेश्वर र नैनहीजस्ता दक्षिणी भेगका सेवाग्राहीसमेत आउन थालेका छन् ।

‘कारण यहाँबाट प्रदान गरिने सेवा सहज, मैत्रीपूर्ण, छिटोछरितो र पारदर्शी छ,’ बुधबार बर्दिवासस्थित सेवा कार्यालयमा भेटिएका महेश दासले भने, ‘त्यसैले हामी घर छेउको जनकपुर यातायात कार्यालय छाडेर ४२ किमि टाढाको बर्दिवास आएका हौं । सवारी कर र स्मार्ट लाइसेन्ससम्बन्धी काम लिएर आएका उनले १० मिनेटमै सबै काम पनि सकिएकामा खुसी थिए । यसअघि जनकपुरस्थित यातायात कार्यालयमा सेवाग्राहीको भीडले पर्खाल ढलेपछि ज्यान जोगाउँदै लाइसेन्स नवीकरण गराउन बर्दिवास सेवा कायालय पुगेको केही मिनेटमै काम भएपछि भंगाहा सीतापुरका रोहित साह कानु चकित देखिन्थे ।

‘यतिकै कामका लागि म ४ दिनदेखि जनकपुर धाइरहेको थिएँ,’ उनले भने, ‘यहाँ त केहीबेरमै काम भएकोमा मलाई त विश्वास नै लागिरहेको छैन ।’ प्रमुख थापकाअनुसार सहज र स्तरीय सेवका कारण सेवाग्राही बढदै गएकाले यसको प्रभाव राजस्व वृद्धिमा भएको हो । बर्दिवासस्थित यातायात व्यवस्था सेवा कार्यालयमा नयाँ लाइसेन्सका लागि परीक्षा र ‘ट्रायल’ लिने र नयाँ लाइसेन्स दिन पूर्वाधार भए पनि अधिकार भने अहिलेसम्म पाएको छैन । नयाँ सवारी चालकका लागि परीक्षा ट्रायल र नयाँ लाइसेन्स वितरणको अधिकार दिए यस कार्यालयबाट राजस्वमा दोब्बर वृद्धि हुने सम्भावना रहेको थापाले जनाए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?