कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयमै छुवाछूत !

डोमलाई भान्से राख्दा विद्यार्थी पढ्न आएनन्
भरत जर्घामगर

सिरहा — दलित डोम समुदायकी महिलालाई भान्से राखेको भन्दै सिरहाको गोलबजार नगरपालिका ९ स्थित आधारभूत विद्यालय गोविन्दपुरका बालबालिका पढ्न नै आएनन् ।

विद्यालयमै छुवाछूत !

दलितमध्ये पनि अति पिछडिएको डोम समुदायकी भान्सेले पकाएको खाजा खानुपर्ने भएकै कारण बालबालिका विद्यालयमा उपस्थित नहुँदा विद्यालयको खाजा कार्यक्रम प्रभावित भएको हो । विद्यालय प्रशासन र व्यवस्थापन समितिले गत शुक्रबार स्थानीय दलित महिला भालसैर मरिकलाई भान्से नियुक्त गरेको थियो ।

मरिकलाई भान्से नियुक्त गरेलगतै विद्यालयमा २ सय ३६ विद्यार्थीमध्ये २८ जना मात्र उपस्थित भए । विद्यालयमा बाल कक्षादेखि ५ सम्म पढाइ हुन्छ । तीमध्ये ३४ बालबालिका मिझार, डोमसहित दलित समुदायका छन् । विद्यालयमा मुस्लिम समुदायका ८५ प्रतिशत बालबालिका अध्ययनरत छन् ।

भान्से मालती देवी महतो र बाल विकास केन्द्रकी शिक्षिका गीता रोका मिझारबीच खाजा छोएकै विषयमा गत जेठ २२ गते भनाभन र विवाद भएपछि विद्यालय प्रशासन र व्यवस्थापन समितिको भेलाले मालतीलाई हटाएर भालसैर मरिकलाई भान्से नियुक्त गरेको थियो ।

मरिकलाई भान्से नियुक्त गरेपछि विद्यालयमा २८ विद्यार्थीमात्र पढ्न आएको प्रधानाध्यापक जगदीश यादवले बताए । ‘मरिकलाई नियुक्त गरेलगत्तै बालबालिका पढ्न आएनन्,’ उनले भने, ‘शिक्षकहरूले पालो लगाएर खाजा बनाउन थालेपछिमात्र केही थप विद्यार्थी स्कुल आएका छन् ।’ तल्लो जातिले पकाएको खाजा छोइन्छ भन्ने अन्धविश्वासी पुरानो मानसिकताले अभिभावकले बालबालिका नपठाएका हुन् कि भन्ने आँकलन गरेरै शिक्षकले पालो लगाएर पकाउन थालेपछि केही विद्यार्थी पढन आएको विद्यालयले जनाएको छ ।

उता भालसैर मरिकले आफूलाई भान्सेमा नियुक्त गरे पनि विद्यालयले खाजा पकाउनमा रोक लगाएको सुनाइन् । ‘तल्लो जातिले पकाएको खाजा छोइन्छ भनेरै आफूलाई खाजा पकाउनमा रोकेर विद्यालयले जातीय विभेद गर्‍यो,’ भालसैरले दुखेसो पोखिन्, ‘भान्सेमा नियुक्त गरेर विद्यालयले शौचालय सफाई गर्न लगाएको छ ।’ ज्ञानको ज्योति दिने स्कुलमै तल्लो जाति भनेर अपमानित गरेको उनको भनाइ छ ।

उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाउद राइनले विद्यालयमा विवाद बढेपछि अभिभावकसहित विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको बैठक बसेको तर भान्सेमा भालसैर मरिकलाई नियुक्त गरेको पछि मात्र थाहा भएको बताए । ‘बैठकमा उपस्थित थिएँ’ उनले भने, ‘केही काम परेर बैठकबाट बाहिरिएँ, पुरानो भान्से मालतीदेवी महतोलाई हटाएर भालसैरलाई नियुक्त गरिएको पछि थाहा पाएँ ।’

शिक्षिकाद्वारा निवेदन
गत मंगलबार भान्से ललितादेवी महतोले खाजा छोएको भन्दै गालीगलौज गरेको र पछि विद्यालय प्रशासन कक्षमै टेबुल ठोकेर अपमान गरेको भन्दै शिक्षिका गीता रोका मिझारले प्रअ जगदीश यादवलाई घटनाबारे निवेदन दिइन् ।

शिक्षिका रोकाले बोर्डिङ स्कुलमा नर्सरीमा अध्ययनरत छोरी स्मृतिलाई भान्साबाट आफैंले खाजा निकालेर दिएपछि भान्से ललिता र उनीबीच भनाभन भएको थियो । भोलिपल्ट प्रशासन कक्षमै ललिताले टेबुल ठोक्दै गालीगलौज गरेपछि न्यायका लागि शिक्षिका गीताले विद्यालय प्रशासनमा निवेदन दिइन् । निवेदन दिएपछि समाधानका लागि बसेको अभिभावक भेलाले भान्से ललितालाई हटाएर मासिक ३ हजार ५ सय रुपैयाँ तलब पाउने गरी भालसैरलाई नियुक्त गर्ने निर्णय गरेको प्रअ यादवले जानकारी दिए ।

मुलुक छुवाछूत मुक्त घोषणा भइसके पनि स्कुलमै खाजामा छुवाछूत गरेको भन्दै आफूलाई अपमानित गरे पनि विद्यालय प्रशासनबाट न्याय पाउन नसकेको शिक्षिका गीताले सुनाइन् । ‘विद्यालय प्रशासनले न्याय नदिएर संस्थागत रूपमै छुवाछूत गर्न बढावा गरेको महसुस गरेकी छु’, उनले भनिन् ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन लागू भएको आठ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा सिरहामा जातका आधारमा दलित समुदायमाथि हुने छुवाछूत, उत्पीडन र हिंसाका घटनामा कमी आउन नसकेको दलित अधिकारकर्मी विनोद विसुन्केले बताए । ‘छुवाछूतविरुद्ध ज्ञान बाडनुपर्ने ठाउँमा जातीय छुवाछुत घटना हुनु भनेको राज्यको संविधान, कानुन र नीतिको ठाडो उल्लंघन हो’, उनले भने, ‘यस्ता घटनाका दोषीमाथि तत्काल कारबाही गर्न माग गर्छु ।’

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को दफा ४ को उपदफा २ मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म संस्कृति, रीतिरिवाज, जात जाति, वंश समुदाय वा पेसाका आधारमा जातीय भेदभाव वा छुवाछूत गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लागाइने छैन भन्ने उल्लेख छ ।

त्यसैगरी उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन सामाजिक वहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्न नहुने उल्लेख छ ।

प्रकाशित : असार १, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?