कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला आत्महत्या प्रकरणः आफन्तले शव बुझ्न मानेनन्

लक्ष्मी साह

बारा — घटनाको अनुसन्धान गर्न माग गर्दै आफन्त शव सनाखत गर्न नआएपछि चार दिनअघि आत्महत्या गरेकी एक महिलाको शव अलपत्र परेको छ । गर्मी याममा बाराको कलैयास्थित जिल्ला अस्पताल शवले दुर्गन्धित हुन थालेपछि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।

महिला आत्महत्या प्रकरणः आफन्तले शव बुझ्न मानेनन्

बुधबार आत्महत्या गरेकी भनिएकी बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियाकी २० वर्षीया कविता यादवको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । प्रहरी चौकी कचोर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक कमलेश यादवले रौतहटको बंकुल प्रहरी चौकीले टेलिफोन गरी सिम्रौनगढ नगरपालिका–९ बसवरियाकी २० वर्षीया कविता यादवले बधुबार आत्महत्या गरेको खवर पाएको बताएका छन् । खवर पाएपछि प्रहरी घटनास्थल पुग्दा कविताले घरको छानामा लगाइएको पार (बाँस) मा ससुरा सुरेशको गम्छाबाटै पासो हालेको अवस्थामा फेला पारेका थिए ।


प्रहरी चौकी कोचर्वादेखि दस मिनेटको दूरीमा रहेको यादवको घर पुग्दा ससुरा सुरेशको मोबाइल फोनको स्वीच अफ भएको प्रहरीले जनाएको छ । त्यति बेला सुरेश घरमा थिएनन् । पति सञ्जय यादव आमाको उपचारका लागि भारतको मोतिहारी गएका थिए । प्रहरीले घटनास्थलमा शवको सर्जिमिन मुचुल्का बनाएर पोस्टमार्टमका लागि कलैया अस्पताल पुर्‍याएको थियो । तर चार दिनसम्म मृतक कविताका आफन्त पति, ससुरा, सासू तथा माइती पक्षका कोही नआएपछि पाँचौं दिन आइतबार प्रहरीले पोस्टमार्टम गराएको छ । पोस्टमार्टम गरिएको शवले अस्पताल दुर्गन्धित हुन थालेपछि नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।

मृतक कविताको बाबु रामबहादुर यादवले छोरीको आत्महत्या नभइ हत्या गरिएको आरोप लगाएका छन् । छोरीका ससुरा, पति र सासूले हत्या गरी परिवार नै फरार रहेकाले हत्या नै भएको यादवले बताए । मृतकको घरपरिवार सनाखत गर्न नगएकाले माइती पक्षले समेत घटनाको अनुसन्धान माग गर्दै शव सनाखत गरेको छैन । घटनाको अनुसन्धान माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले नमानेको रामबहादुरले गुनासो गरे ।

‘एसपी सापले किटानी जाहेरी ल्याउनुस्, मुद्दा दर्ता गरेर अनुसन्धान हुन्छ भनेपछि जाहेरी लेखेर दर्ता गर्न जाँदा दर्ता गर्नु भएन, फर्काइदिनुभयो,’ रामबहादुरले भने, ‘कहाँबाट चलखेल भयो, थाहा छैन ।’ एक प्रहरी अधिकृतले माइती पक्षले दिएको जाहेरी दर्ता भएको र घटनाको अनुसन्धान सुरु भएको बताए । प्रहरी उपरीक्षक मीरा चौधरीले शवको पोस्टमार्टम रिपोर्टका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताइन् । ‘घटना र पोस्टमार्टमबारे विस्तृत जानकारी छैन, बुझेर जानकारी दिन्छु,’ उनले आइतबार कान्तिपुरसित भनिन् ।

प्रकाशित : असार ४, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?