कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तलब माग्दै कर्मचारी सडकमा

जानकी मेडिकल कलेज विवाद
कर्मचारीको आन्दोलनका कारण कलेज र शिक्षण अस्पताल दुवै २ महिनादेखि ठप्प
अजित तिवारी

जनकपुर — १५ महिनाको तलब भुक्तानीका लागि २ महिनादेखि कलेज परिसरमै धर्नारत जानकी मेडिकल कलेजका कर्मचारी बुधबारदेखि सडक आन्दोलनमा उत्रिएका छन् । धनुषाको रमदैयास्थित कलेजनजिकै जनकपुर–ढल्केबर राजमार्गमा टायर बालेर कर्मचारी प्रदर्शनमा उत्रिँदा आवागमन ठप्प भएको छ ।

तलब माग्दै कर्मचारी सडकमा

वैशाख १० गतेदेखि आन्दोलनमा उत्रिएका जानकी मेडिकल कलेजका कर्मचारीले बुधबार १ घण्टा राजमार्ग अवरुद्ध पारेका हुन् । दुई महिना लामो धर्ना बस्दा पनि कलेज प्रशासन र सरकारले चासो नदेखाएको आरोप लगाउँदै कर्मचारी संघर्ष समितिले सडक आन्दोलन चर्काएका हुन् । करिब १५ महिनाको तलब नपाएको, ६ वर्षदेखि सञ्चय कोषमा रकम दाखिला नगरेको र तलबबाट कट्टा गरिएको कर सरकारलाई नबुझाएको भन्दै जानकी मेडिकल कलेजमा कार्यरत कर्मचारी दुई महिनादेखि आन्दोलनमा छन् ।

कर्मचारीको आन्दोलनका कारण कलेज र शिक्षण अस्पताल दुवै २ महिनादेखि ठप्प छन् । कलेजमा भइरहेको आन्दोलनले एमबीबीएसका ५ औं सेमेस्टरका विद्यार्थी अन्तिम प्रयोगात्मक परीक्षाबाट समेत वञ्चित भएका छन् । ५ औं सेमेस्टरमा अध्ययनरत कलेजका ७० जना विद्यार्थी परीक्षा नहुँदा अन्योलमा छन् । कर्मचारी आन्दोलनपछि सम्पर्कविहीन रहेका व्यवस्थापकको लापरबाहीले जानकी मेडिकल कलेजको समस्या झन् झांगिएको छ ।

‘कलेजको समस्या व्यवस्थापकसँग बसेरै सुल्झाउन खोजेका थियौं,’ जानकी मेडिकल कलेज कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादवले भने, ‘तर, सबैतिर हारगुहार गर्दा पनि कुनै सुनुवाइ नभएपछि सडकमा उत्रिन बाध्य भएका छौं ।’ संयोजक यादवका अनुसार कर्मचारीको आन्दोलनलाई कलेज व्यवस्थापक, प्रदेश सरकार, स्थानीय प्रशासन सबैले बेवास्ता गरेको आरोप लगाए ।

‘कलेज र शिक्षण अस्पताल ठप्प पारेर धर्नामा बसेकै २ महिना पुग्यो,’ उनले भने, ‘सबैले बेवास्ता गर्दा हामी थाकिसकेका छौं, बाध्य भएर सडकमा आगो बाल्नुपरेको छ ।’ यादवका अनुसार बुधबार छोटो अवधिका लागि गरिएको राजमार्ग बन्द, आइतबारसम्म समस्याको सुनुवाइ नभए लम्बिनेछ । वैशाख ११ गतेदेखि सांकेतिक विरोधमा उत्रिएका जानकी मेडिकल कलेजका कर्मचारीले वैशाख २३ गतेदेखि कलेजमा तालाबन्दी गरेर धर्नामा बसे । त्यसबीचमा पनि समस्याको सुनुवाइ नभएपछि उनीहरूले जेठ १६ गतेदेखि जनकपुरको ब्रह्मपुरीमा रहेको शिक्षण अस्पतालको इमरजेन्सी सेवा पनि ठप्प पारे ।

कर्मचारीको आन्दोलनले पढाइ र परीक्षा दुवैबाट वञ्चित भएका जानकी मेडिकल कलेजका विद्यार्थीलाई पनि आन्दोलनमा सहभागी गराउने प्रयास भइरहेको कर्मचारी संघर्ष समितिका संयोजक यादवले बताए । ‘विद्यार्थी संगठनसित पनि आन्दोलन चर्काउने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘आइतबारसम्म समस्या समाधान नभए आन्दोलन उग्र हुनेछ ।’ जानकी मेडिकल कलेजमा ४ सय ५० जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।

पिसिँदै विद्यार्थी
धनुषाको रमदैयास्थित मेडिकल कलेजमा ताला लगाएर त्यहाँ कार्यरत कर्मचारीको करिब २ महिना लामो आन्दोलनले एमबीबीएस अध्ययनरत विद्यार्थीको परीक्षा मात्र होइन, पठनपाठन समेत रोकिएको छ ।

जनकपुरको ब्रह्मपुरीमा रहेको मेडिकल कलेजको शिक्षण अस्पतालसमेत ठप्प छ । एमबीबीएसको ५ औं सेमेस्टरमा अध्ययनरत ७० जना विद्यार्थीको परीक्षाका लागि जेठ १९ गतेदेखि असार ३ गतेसम्मको समय तोकिएको थियो । यहीबीचमा कर्मचारीले आन्दोलन सुरु गरेपछि विद्यार्थीको परीक्षा अनिश्चत बनेको छ ।

उपभोक्ता हक अधिकार संरक्षण मञ्चमा उजुरी गर्न जानकी मेडिकल कलेजका ७० जना विद्यार्थी काठमाडौं पुगेका थिए । ‘कलेजका व्यवस्थापक–कर्मचारी सबैलाई गुहार्‍यौं, तर हाम्रो बाध्यता कसैले बुझेनन्,’ जानकी मेडिकल कलेजका एक विद्यार्थीले भने, ‘उपभोक्ता हक अधिकार संरक्षण मञ्चमा कलेज विरुद्धमा ठगी मुद्दा गर्दैछौं ।’

जानकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले कलेजकै लापरबाहीले भविष्य असुरक्षित बनेको बताए । जानकी मेडिकल कलेजका विद्यार्थीले आफ्नो समस्या समाधानका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।

कर्मचारीको आन्दोलनले परीक्षा रोकिएपछि आईओएमको टोली जानकी मेडिकल कलेजको अवस्था बुझ्न यहाँ आएको थियो । आईओएमका केशव उप्रेती, रोहित पोखरेल र डा. ओम बरालको टोलीले जानकी मेडिकल कलेजका विद्यार्थी र कर्मचारीसित भेटेर समस्याबारे बुझेको थियो । आईओएम टोलीले कलेजका व्यवस्थापकसित भेट्न खोज्दा पनि उनीहरू सम्पर्कमा आएनन् ।

जानकी मेडिकल कलेजको कर्मचारी संघर्ष समितिका सञ्जय चौधरीले कर्मचारीको आन्दोलनपछि सम्पर्कविहीन बनेको व्यवस्थापकका कारण झन् समस्या थपिएको बताए । ‘हामीले वार्ता र छलफलकै माध्यमले मेडिकल कलेजको समस्या सुल्झाउन खोजेका हौं,’ चौधरीले भने, ‘तर, कलेज व्यवस्थापक सम्पर्कमा आउन नचाहँदा कर्मचारी र विद्यार्थीको बेहाल भएको छ ।’

जानकी मेडिकल कलेजमा एमबीबीएसमा ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजले सञ्चालन गरेको नर्सिङमा २ सय र बीएस्सी नर्सिङमा ५० जना विद्यार्थी पढ्छन् । १६ वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका जानकी मेडिकल कलेजले पहिलो वर्ष एमबीबीएसको ६० कोटा पाएको थियो । त्यसपछि ८० र १ सय २० सम्म कोटा पाएका कलेजको एमबीबीएसको कोटापछि ६० सम्ममा झारिएको थियो ।

प्रकाशित : असार ७, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?