कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी प्रभावित क्षेत्रमा प्राविधिक

नेपाल तथा भारतद्वारा संयुक्त अनुगमन
खाँडो नदी थुनिँदा बर्सेनि नेपाली बस्ती डुबानमा
अवधेशकुमार झा

तिलाठी (सप्तरी) — खाँडो लगायत पूर्वी तराईमा रहेका नदीको पानी निकास लगायतका विषयको समाधान खोज्न नेपाल तथा भारतका प्राविधिकले संयुक्त अनुगमन सुरु गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्राविधिक

संयुक्त प्राविधि समितिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका हुँदै भारत प्रवेश गर्ने खाँडो नदीको निकास क्षेत्रको अवलोकन गरेको हो ।

अनुगमन टोलीमा नेपाली पक्षको नेतृत्व जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका उप महानिर्देशक प्रदीप थापाले गरेका छन् भने भारतीय पक्षको नेतृत्व भारतको केन्द्र सरकारअन्तर्गतको जल संसाधन विभागका निर्देशक अजयकुमारले गरेका छन् । टोलीले सप्तरीदेखि बारा जिल्लासम्म भारततर्फ जाने नदीको समस्या अनुगमन गरी सरकारलाई प्रतिवेदन पेस गर्ने टोलीमा रहेका जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनयर अरविन्द गुप्ताले जनाए ।

चुरेबाट निस्केको खाँडो नदीको मुहान सप्तरीको तिलाठी नजिक सिमानाका थुनिँदा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दै आएको छ । दुई वर्षअघि तिलाठी नजिक सीमा नाकामा भारतीय पक्षले खाँडोको मुहान थुन्ने गरी बाँध नै बनाउन थालेपछि नेपाली र भारतीय जनताबीच विवाद भएको थियो । उक्त विवादले उग्र रूप लिँदा दुवैतर्फका सर्वसाधारण घाइते भएका थिए । ‘खाँडोको दसगजा समस्या समाधानबारे हामीले पटक–पटक कुरा राख्दै आएका छौं,’ टोलीलाई अवस्थाबारे जानकारी दिँदै तिलाठीका सीमारक्षक देवनारायण यादवले भने, ‘भारतीय पक्ष समस्या समाधानमा आनाकानी गरिरहेको छ ।’

भारतीय पक्षले नेपाली पक्षसित विभिन्न समयमा गरेको सहमति कार्यान्यवयन नगर्दा तिलाठीमा बर्सेनि तनाव सृजना हुँदै आएको छ । सन् २०१४ को मार्चमा दुई देशका प्राविधिकहरू स्थलगत अवलोकनपछि पटनामा भएको बैठकमा खाँडो र जिता खोलालाई हाल विवादित रहेको बाँधस्थल हँुदै पश्चिमतर्फ च्यानल खनी भलुवाही खोलामा खसाल्ने सहमति भएको थियो । दुबै देशका प्राविधिकले संयुक्त सर्भे गरेर योजना बनाई काम गर्ने सम्झौता भएको थियो । १४ करोडको खाँडो खोला व्यवस्थापनसमबन्धी उक्त तात्कालीक योजना भारतीय पक्षले सहमति गरे पनि प्रशासनिक स्तरमा स्वीकृति नदिँदा हुन नसकेको नेपाली प्राविधिकहरूले बताउँदै आएका छन् ।

सन २०१४ मा भएको खाँडो खोलाको तात्कालीक समाधानका उपाय बारेको सहमतिमा सप्तरी हँुदै बग्ने जिता र खाँडो खोलालाई च्यानल खनेर सप्तरीकै लालापटी नजिक भलुवाही खोलामा खसाल्ने र त्यहींबाट पानीको निकास दिने कुरा उल्लेख रहेको छ । त्यति बेला उक्त संयुक्त सर्भेपछिको सहमतिमा नेपालका तर्फबाट जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय जनकपुरका तात्कालीन प्रमुख रत्नेश्वरलाल कर्ण र भारतीय पक्षबाट ओमप्रकास गुप्ताले हस्ताक्षर गरेका थिए ।

खाँडो खोलाको नियन्त्रण र व्यवस्थापन गर्ने सहमतिअनुसार भारत सरकारले सन २०१५ को जनवरीमै पटनामा भएको बैठकमा नेपालका तर्फबाट खाँडो खोला नियन्त्रणसम्बन्धी विस्तृत योजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिइसकेको भए पनि त्यसको कार्यान्वयनमा पनि भारतीय पक्षले चासो देखाएको छैन । दुई वर्षअघि तिलाठीमा तनाव भएपछि दुई देशका स्थानीय प्रशासनिक अधिकारीको बैठकले नेपाल तर्फबाट जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका प्राविधिक र बिहार सरकार जल संसाधन विभागका प्राविधिकहरू सम्मलित एउटा संयुक्त प्राविधिक टोली गठन गर्ने र सो टोलीले सक्दो चाँडो तत्काल उक्त क्षेत्रमा तत्काल गर्न सकिने निकासका उपायबारे प्रतिवेदन पेस गर्नुपर्ने सहमति भएको थियो ।

तर ती सहमतिसमेत कार्यान्वयन हुन सकेको छैन । ‘हरेक वर्ष दुईदेशीय अधिकारीहरूको अनुगमन मात्र हुन्छ समस्या समाधानमा तदारुकता देखाइँदैन ।’ तिलाठीका युवा नेता निरजकुमार झा ‘मुक्ती’ ले भने, ‘प्राविधिकहरूको अनुगमनपछि समस्या समाधानको आस हुन्छ तर समस्या सधैं उस्तै छ ।’

प्रकाशित : असार १७, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?