कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडक निर्माणमा अवरोध

भूषण यादव

वीरगन्ज — राष्ट्रिय गौरवको योजना हुलाकी राजमार्ग निर्माणमा स्थानीयले अवरोध खडा गरेका छन् । पर्साको जिराभवानीको चमरी टोलदेखि ठोरीको चौतारासम्म निर्माण भइरहेको ३० किलोमिटर सडक खण्डमा ठोरी गाउँपालिका विजयबस्तीका केही युवाले ठेकेदार कम्पनीको गाडीमा तोडफोड गर्दै काम ठप्प पारेका हुन् ।

हुलाकी सडक निर्माणमा अवरोध

सडक निर्माण गुणस्तरहीन भएको आरोप लगाउँदै शनिबार राति करिब पौने ९ बजेको समयमा निर्माण कम्पनीको बा१६च८८३४ नम्बरको गाडी नियन्त्रणमा लिएर चालक राजकुमार बाइवालाई कुटपिट गरेका थिए । ‘साइटबाट फर्किने क्रममा चौकमा केही युवाले नियन्त्रणमा लिए,’ बाइवाले भने, ‘गाडीमा म्यानेजर सरहरू पनि हुनुहुन्थ्यो, जबरजस्ती ढोका खोल्ने क्रममा लुकिङ ग्लास फुटाले ।’

योजनाको प्रबन्धक मनोज सिग्देलका अनुसार नजिकै रहेको प्रहरी चौकीमा दौडेर भागेपछि सबै जोगिए । ‘प्रहरीको सुरक्षामा राति नै अर्को गाउँमा शरण लियौँ,’ कान्तिपुरसँग सिग्देलले भने, ‘त्रासको वातावरण छ, काम गर्ने वातावरण छैन ।’ योजनाको ९ वटा ट्रिपरलाई दिनभरि नियन्त्रणमा राखेका थिए ।

आइतबार बिहानैदेखि उक्त क्षेत्रमा ठूलो परिमाणमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाको नेतृत्वमा टोली जिल्लाबाट गएको थियो । प्रहरीले स्थानीयसँग छलफल गरी गुणस्तरीयताको उजुरी सम्बन्धित निकायमा दिन र निर्माण कार्य सुचारु गर्ने विषयमा छलफल गरेको थियो ।

उक्त ३० किलोमिटर सडक खण्डको निर्माण ठेक्का कालिका/बानिया कम्पनीले संयुक्त रूपमा एक अर्व २० करोड रुपैयाँमा सकार गरेका छन् । गुणस्तरहीन निर्माणको आरोप लगाइए पनि ठेकेदार कम्पनीले भने केही स्थानीयबाट पटकपटक पैसा माग गरिएको दाबी गरेको छ । ‘विभिन्न किसिमको धम्की दिन्छन्,’ उक्त योजनाको प्रबन्धक सिग्देलले भने, ‘दिनहुँ ५/६ जनाले फोनमै धम्की दिन्छन्, भेटेरै भत्ता र खर्च समेत माग गर्छन् ।’ साइट इन्चार्ज गिरीश गुरुङका अनुसार सम्झौता भएको ३० महिनाभित्र योजना निर्माण सम्पन्न गर्नका लागि सबै स्रोतसाधन जुटाएर काम गरेका छौँ । ‘गुणस्तरहीन प्रमाणित भए दण्डित हुन तयार छौँ,’ सिग्देलले भने, ‘समयमै ठेक्का सम्पन्न नभए जरिवाना तिर्नुपर्छ ।’ एक दिन मात्र निर्माण कार्य अवरोध हुँदा झन्डै २० लाख रुपैयाँ ठेकेदार कम्पनीको नोक्सान हुने उनले बताए ।

पूर्वगाविस अध्यक्ष लालबहादुर श्रेष्ठले दिगो र गुणस्तरीय निर्माण नभएकाले विरोध गरेको जनाए । ‘मधेसको लाइफ लाइन निर्माणको ठेक्का लागेपछि सबै हर्षित थियौँ,’ उनले भने, ‘तर, ठेकेदारको गुणस्तरहीन निर्माण देखेर सबै दुखित बनेका छौँ ।’ गाउँमा सडक बन्ने भएपछि सडक विस्तारको मुआब्जा नआउँदै सबैले निर्माण गर्न दिएका थिए । ग्राभेल गरेको बाटोमा खाल्डैखाल्डा छन् ।

ठेकेदारकै गाडी समेत निर्माण गरिएको सडकमा अडकिने गरेको उनले खुलाए । ‘निर्माणको गुणस्तरीयताबारे ठेकेदारलाई पटकपटक जानकारी गराए पनि कुनै चासो लिँदैनन्,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिलाई पनि मतलब छैन ।’ उनका अनुसार कसैले चासो नलिएपछि स्थानीय प्रतिभा युवा क्लबका युवाहरू भेला भई संघर्ष समिति गठन गरेका छन् । ठेकेदारसँग कसैले पैसा मागेको भए कारबाही गर्न तयारी रहेको उनले दाबी गरे ।

भारत सरकारको लगानीमा निर्माण भइ रहेको हुलाकी राजमार्गको कन्सलटेन्ट पनि भारतीय नै छन् । ‘भारतीय कन्सलटेन्टकै रोहवरमा प्रयोगशाला परिक्षण गरी निर्माण भइरहेको छ,’ योजना प्रबन्धक सिग्देलले भने, ‘केही स्थानीयले गुणस्तरीयताको प्रश्न उठाएको क्षेत्रमा सव–ग्रेड्रिङको काम मात्र भएको छ, तीन तहको ग्रेभल गर्नै बाँकी छ ।’ ६ महिनामा १० किलोमिटर सडक सव ग्रोडिङ गर्ने कार्य सम्पन्न भएको छ ।

प्रकाशित : असार १८, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?