कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो रोपाइँ

भरत जर्घामगर

काठमाडौँ — समयमै वर्षा भएपछि सिरहामा धान रोपाइँ सुरु भएको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका यहाँका कृषकले समयमै वर्षा भएपछि रोपाइँ सुरु गरेका हुन् ।

सुरु भयो रोपाइँ

सिरहामा कृषकले मुख्य बालीका रूपमा धान बाली लगाउँछन् । कृषि विकास सिरहाको तथ्यांकअनुसार अहिलेसम्म १० प्रतिशत रोपाइँ भएको छ । कुल खेतीयोग्य ७३ हजार ९ सय १३ हेक्टर जग्गामध्ये ३९ हजार ३ सय ४१ हेक्टर जग्गा सिञ्चित क्षेत्र छ । तर, समयमै वर्षा भएपछि जिल्लाभर रोपाइँ सुरु भएको कार्यालयले जनाएको छ ।

सिरहामा धान खेतीका लागि ६४ हजार ४ सय ७० हेक्टर खेतीयोग्य जग्गामा वर्षेनी ७२ हजार ३ सय मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । युवाशक्ति वैदेशिक रोजगारीका लागि खाडी मुलुक लगायत अन्यत्र गएपछि मजदुर अभाव भएको छ । उता कृषि मजदुरहरूले ज्याला बढाउन माग गर्दै रोपाइँंमा अवरोध सुरु गरेका छन् ।

सरकारी दररेटअनुसार श्रमिकको दैनिक ज्याला न्यूनतम ५ सय रुपैयाँ निर्धारण गरे पनि आफूहरूले खनजोत र रोपाइँं गर्दा तोकिए अनुसारको ज्याला पाउन नसकेको भन्दै सिरहा धन्छबारका कृषि मजदुरले ज्याला वृद्धि नगरेसम्म रोपाइँंमा नजाने अडान राखेपछि रोपाइँ प्रभावित भएको छ । उनीहरूले खेतमा श्रम गरेबापत दैनिक ८ किलो धानमात्र पाउने गरेको भन्दै रोपाइँमा नजाने अडान राखेका हुन् । ८ किलो धानको बजार मूल्य २ सय रुपैयाँ हो ।

‘सरकारले तोकेको दररेट मागेका छैनौं, कम्तीमा १२ किलो धान दिनुपर्‍यो भनेका हौं,’ सिरहा धन्छवारकी पचिया देवी मुसहरले भनिन्, ‘तर गिरहत १० किलो धानमात्र दिन तयार छ, त्यति ज्यालामा धान रोपाइँ जाँदैनौं ।’ १२ किलो धानको बजार मूल्य ३ सय ५० रुपैयाँ हुन्छ ।

जग्गाधनीले दैनिक ३ सय ५० रुपैयाँ ज्याला दिन नमानेकाले समस्या भएको ५८ वर्षीय श्यामलाल मुसहरले सुनाए । ‘बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म खटिनुपर्छ,’ उनले भने, ‘हामी पनि बरु भोकै बस्छौं, रोपाइँंमा जाँदैनौं ।’ कृषकहरू भने उत्पादनभन्दा लगानी बढ्दा ज्याला वृद्धिमा समस्या भएको बताउँछन् ।

सिरहाका कृषकले स्थानीय जातको बासमती, जसवाका साथै सोना मन्सुली, मिथिला, हर्दिनाथ, राधा–११ तथा सावित्री जातका धान खेती गर्दै आएका छन् । ‘समयमा धानको बेर्ना तयार नहुनु र कृषि मजदुर अभावका कारण रोपाइँंमा समस्या देखापरेको’ वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भने, ‘असार १५ सम्म कम्तीमा पनि ३५ प्रतिशत रोपाइँ भइसक्नुपथ्र्यो तर व्याड तयारी नभएका कारण र कृषि मजदुर अभावमा रोपाइँं हुन सकेको छैन ।’

प्रकाशित : असार २३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?