कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय बजारमा आँपको माग उच्च

दैनिक १८ लाख रुपैयाँको कारोबार
रवीन्द्र उप्रेती

महोत्तरी — भारतीय बजारमा राम्रो मूल्य पाउन थालेपछि महोत्तरीको उत्तरी भेगमा उत्पादित आँपको निर्यात बढेको छ । भारत विहारको सीमावर्ती बजारमा नेपाली आँपको माग उच्च छ ।नेपाली व्यापारीका अनुसार बढी मूल्य, धेरै खपत र यातायातको सुविधाले दैनिक १५ देखि १८ लाख मूल्यबराबरको ५ सय क्विन्टल आँप भारत निर्यात भइरहेको छ ।

भारतीय बजारमा आँपको माग उच्च

माग र मूल्य राम्रो पाएपछि उत्पादकले सीमावर्ती समसी बजारमा गोदाम नै भाडामा लिएर भारत निर्यातका लागि आँप भण्डारण गरेका छन् ।

भारत निर्यात गर्ने उद्देश्यले समसीमा ५० भन्दा बढी गोदाम खोलिएका छन् । आँप व्यापारी सुशील श्रेष्ठका अनुसार गोदाममा महोत्तरीको उत्तरवर्ती खयरमारा, बर्दिवास, माइस्थान, टुटेश्वर, लक्ष्मिनिया, भरतपुर, रामनगर, गौशाला, औरही, हात्तिलेटका बगैंचाबाट आँप आपूर्ति भइरहेको छ । समसीका गोदामबाट भारतीय व्यापारीले ट्रक ल्याएरै आँप खरिद गर्दा निर्यातमा कुनै समस्या नभएको श्रेष्ठले जनाए । गोदाम खोलिएपछि आँप खरिदका लागि दिनहुँ सयाैं भारतीय व्यापारी आउन थालेपछि समसी बजारमा चहलपहल बढेको छ ।

स्थानीय बजारमा मूल्य नपाएपछि निराश बनेका गौशाला–६ बेलगाछीका जोगी साहले पनि असार दोस्रो सातादेखि समसीस्थित भारतीय बजारनजिकको घरमा गोदाम खोले । जिल्लाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र मानिएको गौशाला बजारमा १० रुपैयाँ किलो नबिकेको आँप समसी ल्याएपछि भारतीय व्यापारीले दोब्बर दरमा खरिद गरेको उनले बताए ।

उनका अनुसार सिजन सकिन लागे पनि गौशालालगायत स्थानीय हाटमा अहिले आँपको मूल्य प्रजातिअनुसार प्रतिकेजी १५ देखि ३० रुपैयाँ छ । नेपाली बजारमा माल्दह आँपको थोक भाउ २० देखि २५ सय प्रतिक्विन्टल छ । आँप समसी पुर्‍याएपछि ३ हजारदेखि ३२ सय रुपैयाँ क्विन्टलमा भारतीय व्यापारीले लिने गरेको उनले जनाए ।

समसीमा गोदाम सञ्चालन गरेका व्यापारीका अनुसार आँपको भाउ सधंै एकनास रहँदैन । तर नेपाली बजारको तुलनामा भने झन्डै दोब्बर बढीको फरक पर्ने गरेको छ । अहिले नेपाली बजारमा सबैभन्दा सस्तो कलकत्तिया प्रजातिको आँप प्रतिकेजी १५ रुपैयाँ छ । सोही प्रजातिलाई भारतीय व्यापारीले भारु १५ सयदेखि १८ सय प्रतिक्विन्टल तिरेर लान्छन् । समसी पुर्‍याएपछि नेपाली २० रुपैयाँ प्रतिकेजी पर्ने आम्रपाली भारु ३० रुपैयाँ, ३० रुपैयाँ प्रतिकेजी पर्ने साउनी बम्बै भारु ३३ देखि ३५ र ३० रु प्रतिकेजीको सिपिया आँप भारु २५ देखि ३० रुपैयाँमा बिक्ने गरको व्यापारीले जनाए ।

आँप खरिद गर्न बुधबार ट्रक लिएरै समसी पुगेका भारतीय व्यापारी रजाउल्लाहका अनुसार स्वादिलो, रसिलो र सहज उपलब्ध हुँदा भारतीय बजारमा नेपाली आँपको माग उच्च छ । उत्तरी विहारका अधिकांश भूभाग डुबान क्षेत्र भएकाले त्यहाँ मागअनुसारको उत्पादन हुन नसक्दा पनि नेपाली आँपले निर्यातको अवसर पाएको भारतीय व्यापारीको भनाइ छ ।

स्थानीय बजारमा मूल्यमा भारी गिरावट आएपछि निराश बनेका आँप कृषक आफनो उत्पादन भारतीय बजारमा खपत हुन थालेपछि मालामाल बनेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार महोत्तरीमा ३ हजार हेक्टर क्षेत्रफलमा आँप बगैंचा छ । कार्यालयको बागवानी शाखाका लक्ष्मी नारायण झाका अनुसार यो वर्ष महोत्तरीमा प्रतिहेक्टर ६ हजार क्विन्टलको दरले सरदर १८ लाख मेट्रिक टन आँप फलेको छ ।

प्रकाशित : असार ३०, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?