कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्ज भन्सारले भेट्टायो असुली लक्ष्य

पर्सा — वीरगन्ज/आईसीपी भन्सार कार्यालयले चालु आर्थिक वर्षको अन्तिम महिनामा तोकिएको राजस्व संकलनको लक्ष्य भेट्टाएको छ । कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार दिउँसो साढे ३ बजेसम्ममा असार महिनाका लागि तोकिएको राजस्व असुली लक्ष्य कार्यालयले भेट्टाएको छ ।

वीरगन्ज भन्सारले भेट्टायो असुली लक्ष्य

असार महिनामा १३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भइसकेको उनले बताए । सोमबार दिउँसो साढे ३ बजेसम्म मात्रै एक दिनमै ४२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको उनले बताए ।

आर्थिक वर्षको अन्तिम दिन भएकाले भन्सार कार्यालयमा भीडभाड रहेको र राजस्व संकलनको काम जारी नै रहेको छ । राति अबेरसम्म मात्र मासिक राजस्व असुलीको प्रगतिबारे यकिन हुने उनले बताए । असार महिनामा नयाँ सवारी साधनको बढी आयात हुनु, इन्धनको नियमित आयात, ड्राइफ्रुटस र कस्मेटिक सामानमा अन्त:शुल्क बढेको लगायतका कारणले रजस्व असुली उत्साहजनक रहेको उनले बताए ।

कार्यालयले वार्षिक राजस्व असुली लक्ष्य भेट्टाएको नभेट्टाएको बारे भने सोमबार राति अबेर वा मंगलबार बिहानमात्र यकिन साथ भन्न सकिने यादव बताउँछन् । चालु आर्थिक वर्षका लागि १ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य यो भन्सार कार्यालयले पाएको छ । कार्यालयले जेठ महिनासम्ममा १ खर्ब १७ अर्ब १६ करोड २० लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस महिनासम्ममा यो भन्सारले १ खर्ब २० अर्ब २० करोड ९५ करोड ३१ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरी सक्नुपथ्र्यो ।

मुलुकको मुख्य नाकामा रहेको यो भन्सारले मुलुकमै सर्वाधिक राजस्व समेत संकलन गर्दै आएको छ । नयाँ सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको आयातबाट यो भन्सारले बढी राजस्व संकलन गर्दै आएको छ । संकलित राजस्वमध्ये इन्धन र नयाँ सवारी साधनको मात्र झन्डै आधा जसो योगदान हुन्छ । बाँकी राजस्व अन्यवस्तुबाट संकलन हुन्छ ।

प्रकाशित : श्रावण १, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?