कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगाहा पुल मर्मत

रवीन्द्र उप्रेती

गौशाला (महोत्तरी) — बाढीले क्षति पुर्‍याएपछि आवागमन ठप्प भएको औरही नगरपालिकास्थित जंगाहा पुलको मर्मत सुरु गरिएको छ । जनकपुरस्थित डिभिजन सडक कार्यालयका डिई कुवेर नेपालीले दुई तीन दिनभित्र मर्मत सम्पन्न भई आवागमन सुचारु हुने जनाए ।

जंगाहा पुल मर्मत

बाढीले पुलको पूर्वी भागलाई सडकसँग जोड्ने ‘अवोटमेन्ट वाल’ मा थप क्षति पुर्‍याएपछि प्रहरीले २ सातादेखि साना सवारी सञ्चालनमा रोक लगाएको थियो । ठूला सवारी भने महिना अघिदेखि नै बन्द थिए ।

पुल उच्च जोखिममा रहेकाले मानवीय क्षति हुन नदिन सवारी सञ्चालनमा रोक लगाएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।बाढीले पुलको दायाँबायाँ कटान गरी पूर्वी खण्डमा क्षति पार्दै गएकाले आवागमन रोकेको हो । पुलको एक नं पिलर आसपासको माटोसमेत बगाएपछि जोखिम बढेको प्राविधिकले जनाएका छन् ।

डिई नेपालीले बजेट अभाव र मौसमी प्रतिकुलताले तत्काल जंगाहा पुलको मर्मत हुन नसके पनि थप क्षति रोकी आवागमन सुचारु गर्न प्रयास थालिएको बताए । ‘त्यसका लागि ठेकेदार श्याम पोखरेललाई बजेट आएमा मिलाउने गरी काम गरिदिन मौखिक आग्रह गरेको छु,’ नेपालीले भने ।

ठेकेदार पोखरेलले बोल्डर अभावले काम ढिलो भएको जनाए । बोल्डर प्राप्त भएपछि तत्काल मर्मत थालिएको पोख्रेलले बताए । ‘एकआध दिनमै काम सकिन्छ, आवागमन पनि सुरु हुन्छ,’ उनले भने । बर्दिवास– जलेश्वर सडक खण्डलाई सर्लाही सदरमुकाम मलंवासँग जोडने १ सय ४९ मिटर लम्बाइको जंगाहा पुलमा आवागमन ठप्प भएपछि सर्वसाधारण मर्कामा छन् । उनीहरूलाई सदरमुकाम जलेश्वर पुग्न बर्दिवास अथवा भारतीय घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

पुलबाट आवागमन ठप्प भएपछि ३ दर्जन टेम्पो चालकको रोजिरोटी प्रभावित भएको छ । यात्रुले पनि सास्ती पाएका छन् । स्थानीय कृषकको उत्पादनलाई गौशाला र औरही बजार पुर्‍याउन असहज भएको छ ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?