कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कन्टेनरले ‘यार्ड’ भरियो

शंकर आचार्य

पर्सा — सिर्सिया सुक्खा बन्दरगाहमा मालवाहक कन्टेनर थुप्रिने क्रम बढेको छ । शनिबार मध्याह्नसम्म बन्दरगाहमा ५ सय ५७ वटा मालवाहक कन्टेनर थन्किएका छन् । त्यसैगरी, खाली कन्टेनर पनि १ सय ५४ वटा छन् । खाली र लोडेड गरेर हाल ७ सय ११ कन्टेनर थन्किएपछि बन्दरगाहको यार्ड कन्टेनरले भरिभराउ देखिएको छ ।

कन्टेनरले ‘यार्ड’ भरियो

बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्स स्रोतका अनुसार सिर्सिया सुक्खा बन्दरगाहका लागि भारतको बिशाखापटनम र हल्दिया बन्दरगाहबाट हिँडेका ५/५ वटा कन्टेनरवाहक रेल बाटोमै रहेका छन् । यीमध्ये २ वटा रेल शनिबार साँझ र आइतबार बिहानसम्म सुक्खा बन्दरगाहमा आइसक्छन् । त्यसपछि थप १ सय ८० मालवाहक कन्टेनर बन्दरगाहको यार्डमा थपिनेछन् । अन्य रेल पनि सोमबार राति वा मंगलबार बिहानसम्म आइसक्नेछन् ।

‘४/५ महिनायता यो समस्या ह्वात्तै बढेको छ, आयातकर्ताले समयमा मालवाहक कन्टेनर लग्दैनन्, जसले गर्दा कतिपय रेल खाली कन्टेनर नलिई रित्तै जान्छन्,’ टर्मिनल्सका एक अधिकृतले भने, ‘अर्थ मन्त्रीले सन्दर्भ मूल्यमा कडाइ गर्ने निर्देशन भन्सार कार्यालय प्रमुखलाई दिएपछि यो समस्या झनै बढ्दै गएको हो ।’

यता सुक्खा बन्दरगाह भन्सारका निमित्त प्रमुख धनबहादुर बरुवालले विशेषगरी प्लास्टिक दाना, गेडागुडी, स्पन्ज आइरन आयातकर्ताहरूले समयमा कन्टेनर नलैजाँदा समस्या बढेको स्विकारे । ‘यी वस्तुका आयातकर्ताले एकैपटक सबै कन्टेनर लग्दैनन्,’ उनले भने, ‘उनीहरूका उद्योगमा गोदामको क्षमता अभाव वा ठूलो परिमाणमा आयातित कन्टेनर एकै पटक ढुवानी गर्ने मालवाहक सवारीको बन्दरगाहमै अभावका कारणले पनि यसो भएको हुन सक्छ ।’ यस्ता आयातकर्ताले एकमुष्ट राजस्व तिरेर मालसामान भने पटकपटक छुटाएर लग्ने गरेका छन् ।

बल्क कार्गो (ठूलो परिमाणमा आयात गरिने मालसामान) आयातकर्ताको हकमा यो समस्या देखिएको तर ट्ेरडिङ कार्गो आयातकर्ताले भने बन्दरगाहमा आफ्नो मालवाहक कन्टेनर आएको केही दिनभित्रै मालसामान गन्तव्यतर्फ लग्ने गरेको उनले बताए ।

मरिच र चिनीको भन्सार शुल्क बढ्दाको समयमा पनि बन्दरगाहको यार्डमा मालवाहक कन्टेनर थन्किने समस्या देखिएको उनले बताए । यसबाहेक बर्सेनि साउन महिनाको पहिलो २ सातामा पनि यो समस्या बढी देखिने गरेको उनको अनुभव छ । असारको अन्त्यसम्ममा आयातकर्ताले गत आर्थिक वर्षको राजस्व तथा बैंकको व्याजका किस्ता पनि तिर्ने हुँदा अधिकांश आयातकर्ताको हात खाली भएको हुन्छ । साउन १५ पछि बिस्तारै उनीहरूले पुन: आफ्ना कन्टेनर लग्ने गर्छन् । यसरी साउन महिनाको पहिलो २ साता मालसामान आयात हुने दर बढे पनि ती सामानबाट राजस्व भने संकलन हुँदैन ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?