कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

चुरेमा खानेपानीको संकट

कान्तिपुर संवाददाता

सर्लाही — लालबन्दी नगरपालिका–१६, परवानीपुरका ६ सय परिवारले वर्षौंदेखि खानेपानी संकट झेल्दैछन् । उनीहरू कालिन्जोर खोलाको दूषित पानी पिउन बाध्य छन् ।

चुरेमा खानेपानीको संकट

हरिवन नगरपालिका–१, अत्रौलीका ५ सय ६३ परिवार पनि कुवा र खोल्साकै धमिलो पानीमा निर्भर छन् । ईश्वरपुर– १२, कालिन्जोरका डेढ सय परिवारलाई खानेपानीकै चिन्ता छ ।


सर्लाहीको चुरे क्षेत्रका अधिकांश बस्ती स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर छन् । दूषित पानी पिउनुपर्ने बाध्यताकै कारण यस क्षेत्रमा झाडापखालाको महामारी फैलिने गरेको स्थानीयले बताए । महामारीकै कारण प्रत्येक वर्ष स्थानीयको ज्यान जाने गरेको छ ।


ती क्षेत्रमा स्वच्छ खानेपानीका लागि डिप बोरिङ गर्ने योजना ठेकेदारको लापरबाहीका कारण अलपत्र बनिरहेको स्थानीय गुनासो गर्छन् ।


सम्बन्धित निकायको उदासीतनाका कारण आफूहरूले सानातिना प्रयासबाट जेनतेन खानेपानीको व्यवस्था मिलाएको अत्रौलीका स्थानीय टमबहादुर घिसिङ बताउँछन् । ‘डाँडाकाँडाका विभिन्न ठाउँमा रसाएको पानी जम्मा पारेर खाने गरेका छौं,’ उनले भने, ‘अरूबेला त ठिकै हो बाढी पहिरोका बेला स्वास्थ्य जोखिम बढ्छ ।’


अत्रौलीमा डिप बोरिङ गर्ने योजनाको म्याद सकिएकै महिनौं भइसकेको छ । खानेपानी कार्यालयबाट ठेक्का पाएको सम्बन्धित ठेकेदारले कामै सुरु नगरेपछि स्थानीयको सफा र स्वच्छ पानी पाउने आशामा तुषारापात भएको घिसिङले गुनासो गरे ।


कालिन्जोरका स्थानीयले बाँके खोलामा पाइप ओछ्याएर गाउँमा पानी ल्याएका छन् । बर्सेनि खोलाले पाइप बगाएका कारण गाउँमा खानेपानीको हाहाकार हुने गरेको हरि लुंगेलीले बताए । उनले भने, ‘यहाँ दैनिक खानेपानीको गर्जो टार्न नदीको धमिलो पानी ओसारेर पिउन बाध्य छौं । केही भने घण्टौं लगाएर छिमेकी गाउँबाट खानेपानीको जोहो गरिरहेका छन् ।’ यहाँ पनि डिप बोरिङको योजना छ, तर काम भएको छैन ।


खानेपानीको हाहाकार हुने परवानीपुरमा पनि समस्या उस्तै छ । ‘कालिन्जोर खोलाबाट पानी खाँदै आएका छौं, परवानीपुरका प्रकाश थापाले भने, ‘बाढीपहिरो र सुख्खाको बेला निकै सास्ती खेप्नुपर्छ ।’ जलवायु परिवर्तन, वन विनाश लगायत कारणले स्रोत सुकेपछि पानीको अभाव बढदा स्थानीय बासिन्दा कुवा, नदी र खोलाको पानी पिउन बाध्य छन् ।


चुरे क्षेत्रमा पर्ने कालिन्जोर, परवानीपुर, नारायण खोला, पत्थरकोट, अत्रौली, ढुंग्रेखोलालगायत गाउँमा खानेपानी अभाव छ । सरकारी तथा गैरसरकारी निकायको सहयोगमा खोलामा पाइप ओछ्याए पनि वर्षायाममा बाढीपहिरोले पाइप बगाउँदा तथा हिउँदमा मुहान सुकेका कारण खानेपानीको हाहाकार हुने गरेको छ ।


स्वच्छ खानेपानीका लागि बजेट अभाव र ठेक्का पाएका ठेकेदारले काम नगरेका कारण निर्माणले गति लिन नसकेको डिभिजन खानेपानी कार्यालयका प्रमुख जगन्नाथ पूर्वेले बताए । उनले भने, ‘समय सीमा सकिँदा पनि काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाइरहेको छु ।’

प्रकाशित : श्रावण १२, २०७५ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?