कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर वृद्धिको विरोधमा वीरगन्ज महानगरका व्यवसायी सडकमा

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाको कर वृद्धिको विरोधमा आइतबार व्यवसायीले प्रदर्शन गरेका छन् । गत वर्षको तुलनामा चालू आर्थिक वर्षका लागि झन्डै एक हजार प्रतिशत कर वृद्धि गरेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा वीरगन्जका विभिन्न वस्तुगत संघ संस्थाले विरोध प्रदर्शन गरेका हुन् ।

कर वृद्धिको विरोधमा वीरगन्ज महानगरका व्यवसायी सडकमा

उनीहरुले मेयर विजय सरावगीलाई ज्ञापनपत्रसमेत बुझाए ।


वृद्धि गरिएको कर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटम दिएको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए । घण्टाघरबाट निकालिएको जुलुसका सहभागीले कवाडी कर खारेज गर, औद्योगिक उत्पादन कर खारेज गर, सम्पत्ति, घर जग्गा करमा गरेको वृद्धि खारेज गरलगायतका प्लेकार्ड बोकेका थिए ।


महानगरका मेयर सरावगीले चालु आर्थिक वर्षका लागि उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागितमा कर निर्धारण गरिएको दाबी गरे । ‘महानगरवासीलाई मर्का पर्ने गरी कर निर्धारण गरिएको छैन,’ उनले भने, ‘कुनै समस्या भए छलफल गरेर समाधान निकाल्न सकिन्छ ।’


घर जग्गा करमा अत्यधिक वृद्धि

वीरगन्ज महानगरपालिका गहवा निवासी नुरेसा खातुन मियाँ चालू आर्थिक वर्षको घर जग्गा कर दाखिला गर्न शुक्रबार बिहान आदर्शनगरस्थित महानगरको कार्यालय पुगेको थिइन् । कर शाखाका कर्मचारीले १० धुर घडेरीको ४ हजार दुई सय २६ रुपैयाँ कर निर्धारण गरेपछि उनका खुट्टा काम्न थाले । गत आर्थिक वर्षका सोही घडेरीको उनले सात सय ४३ रुपैयाँ कर बुझाएकी थिइन् । धोबी पेसा (अरुको लुगा धुने) गर्दै आएकी मियाँले यति कर आफूले तिर्न नसक्ने बताइन् । ‘गत वर्षको तुलनामा केही सय रुपैयाँ बढेको होला भन्ने सोचेर एक हजार रुपैयाँ लिएर गएको थिएँ,’ उनले भनिन्, ‘कल्पना गरेको भन्दा कैयौँ गुण बढी कर निर्धारण गरेका छन् । म जस्ता गरिबले महानगरको कर कसरी तिर्छन् ।’


वीरगन्ज-१६ नगवा बस्ने मालती देवीले गतवर्ष आफ्नो ४ कित्ताको १३ हजार ७ सय ६७ रुपैयाँ कर बुझाएकी थिइन् । यस आर्थिक वर्षका लागि कर बुझाउन आउँदा उनको सम्पत्तिको ९४ हजार ८ सय ९१ रुपैयाँ कर निर्धारण गरिएको छ । वीरगन्ज महानगरपालिका-१४ निवासी बृजा रौनियारले साढे सात धुर जमिनका लागि गतवर्ष ६ सय ९७ रुपैयाँ कर बुझाएका थिए । चालु आवका लागि शुक्रबार कर बुझाउन आएका रौनियारलाई करका कर्मचारीले ५ हजार ९ सय नब्बे रुपैयाँ कर लाग्ने बताएपछि उनी कर नै नबुझाई फर्किए ।


दोस्रो नगर परिषद्‍बाट पारित भएर लागू गरिएको कर न्यायोचित नभएको महानगरवासीले गुनासो गरेका छन् । नयाँ आर्थिक वर्षको सुरुआतमै उत्साहका साथ (एकीकृत सम्पत्ति कर) घर जग्गाको कर बुझाउन आउने महानगरवासी आफ्नो घर जग्गाको चर्को कर निर्धारणले कर शाखा अगाडि निरीह देखिने गरेका छन् ।


वीरगन्ज महानगरपालिका-१२ ब्रहम टोल निवासी अर्जुन सिंह क्षेत्रीले जनप्रतिनिधीले जनता मार्ने निर्णय गरेको आरोप लगाए । दैनिक ज्यालादारीमा गुजारा गर्ने महानगरको करले मारमा परेका छन् । ‘व्यावसायिक प्रायोजिन र बसोबास क्षेत्रलाई छुट्याएर कर निर्धारण गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको कर निर्धारण न्यायोचित भएन । महानगरले करमा पुनरावलोकन गर्नैपर्छ ।’


यसैगरी, महानगरले उद्योग व्यपारलाई हानी पुग्ने गरी प्रदूषण एवं सडक सुधार शुल्कको नाममा मालबाहक सवारी साधनमा लगाएको अति महँगो कर, पेट्रोलका साथसाथै डिजेलमा समेत प्रतिलिटर २५ पैसा कर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरी रोक लगाइसकेको छ ।


सम्पूर्ण नगरवासीको आर्थिक अवस्थालाई ध्यानमा राखी कर निर्धारण गर्नुपर्नेमा आफूखुसी कर, दस्तुर तथा सेवाशुल्क बृद्धि गरेको संघका अध्यक्ष ओमप्रकाश शर्माले आरोप लगाए । संघका अनुसार विगतका वर्षहरुमा कर प्रयोजनको लागि सम्पत्ति/घरजग्गा मूल्याङ्कन गर्दा मालपोत कार्यालय पर्साको रजिस्ट्रेशन प्रयोजनको लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनलाई आधार लिई कर असुल उपर गर्ने गरिएको थियो । चालु आर्थिक वर्षदेखि मालपोतको न्यूनतम मूल्याङ्कन किताबलाई पाखा लगाई महानगरपालिकाले मनोमानी तरिकाले सम्पत्तिको मूल्य कायम गरेको छ ।


वीरगंज महानगरपालिका कार्यालय र मालपोत कार्यालय दुबै नेपाल सरकारकै निकाय हुन् तर दुबै निकायले कायम गरेको एउटै क्षेत्रको जग्गाको मूल्यमा ठूलो अन्तर देखिएको छ । मालपोत कार्यालयले एक करोड ५० लाख रुपैयाँको हाराहारीमा मूल्याकंन गरेको जग्गाको महानगरपालिका कार्यालयले जनताबाट अत्यधिक कर असुल गर्ने अभिप्रायले ८ करोड रुपैयाँ मूल्याकंन गरेको छ । विगतका आर्थिक वर्षमा व्यवसाय करको अधिकतम सीमा दस हजार रुपैयाँ रहेको थियो । यस आर्थिक वर्षको लागि उक्त करको सीमा २ लाख तोकेको छ । होटल व्यवसायमा करको अधिकतम सीमा ५० हजार रुपैयाँ रहेको थियो भने हाल एक लाख २५ हजार तोकिएको छ ।


विगतमा स्वास्थ्यसम्बन्धी काम गर्ने क्लिनिक, ल्याब आदिले २ हजार तिर्नुपर्ने शुल्कलाई बढाएर १५ हजारदेखि ५० हजारसम्म कायम गरिएको छ । उद्योग व्यापारलाई हानी पुग्ने गरी प्रदूषण एवम् सडक सुधार शुल्कको नाममा मालबाहक सवारी साधनमा प्रवेशमा भन्सार विन्दुमा नै असुल गर्ने गरी अति महँगो कर एवम् औद्योगिक उत्पादनका वस्तुहरु जस्तै सिमेन्ट, फलामे छड आदिमा समेत कर लगाइएको छ ।


विगतमा कवाडीजन्य वस्तुमा लाग्ने गरेको कर खारेज भइसके तापनि वीरगन्ज महानगरपालिकाले चालु आवमा उक्त कर पुन: लागू गरेकोमा संघले विरोध जनाएको छ । ‘जनताको आर्थिक हित प्रतिकूल हुने गरी स्थानीय निकायले लगाउने चर्को करले राष्ट्रको संघीय व्यवस्थालाई बदनाम गर्दैछ,’ अध्यक्ष शर्माले भने, ‘संघीय व्यवस्थाप्रति सर्वसाधारणमा गलत सोचको जन्म दिन थालेको छ ।’


करको दर नबढाई दायरा बढाउँदै राजस्व संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनसमेत गम्भीर असर पार्ने गरी महानगरपालिकाले आव २०७५/०७६ को लागि लगाइएको कर, शुल्क, दस्तुरको दर सम्पत्तिको मूल्यांकनमा पुनर्विचार गर्न संघले आग्रह गरेको छ ।

प्रकाशित : श्रावण १३, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?