२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

राजधानी सहर दुर्गन्धित

शाहीमान राई

जनकपुर — फोहर व्यवस्थापन नहुँदा प्रदेश २ को राजधानी जनकपुर दुर्गन्धित बनेको छ । उपमहानगरपालिकाको फोहर मैला शाखाले सहरका विभिन्न बस्तीबाट थुपारिएको फोहर संकलन गरे पनि व्यवस्थित हुन सकेको छैन ।

राजधानी सहर दुर्गन्धित

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित जनकपुर सहर घुम्न आउने स्वदेशी तथा विदेशी आगन्तुकको पहिलो नजर फोहर मैलामै पर्ने गरेको छ । अव्यवस्थित फोहर मैलाका कारण पर्यटकीय धार्मिक सहर जनकपुरको पहिचान नै फोहर मैलायुक्त सहरका रूपमा परिचित हुन थालेको छ ।

जनकपुर सहरका बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रालगायत बजार, पसल, होटल, लज तथा निजी घरबाट उत्सर्जन हुने फोहर अधिकांश सडक किनारा, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् । ढल प्लास्टिकजन्य फोहोर भरिएका छन् । ढलमा बग्नुपर्ने पानी सडकमा बग्न गरेको छ । वर्षादका बेला घरआँगनमै दुर्गन्धसहितको कालो पानी बग्ने गरेको छ । त्यही पानी बगेर जनकपुरका स्वच्छ र पवित्र मानिएका तालपोखरीमा पुग्छ ।

दूषित पानीले तालतलाउ पोखरीमा रहेका माछा मर्ने गरेको जनकपुर मत्स्य विकास केन्द्रले जनाएको छ । फोहरमैलाको दुर्गन्धले सहरको जनस्वास्थ्य नराम्ररी प्रभावित भएको छ । कालो पानी र फोहरको दुर्गन्धले खाना अरुचि हुने, अमन, अपच र आलस्य हुने गरेको स्थानीयवासी बताउँछन् ।

जनकपुर उपमहानगरपालिकाले एसियाली विकास बैंक, सहरी विकास तथा भवन निर्माण विभागलगायत विभिन्न निकायको आर्थिक सहयोगमा एकीकृत सहरी विकास आयोजना अन्तर्गत सहरभित्र सडक विस्तार, ढल निकास, ड्रेन, ह्युमपाइप जडान गरिएको छ । ढलको पानी भूमिगत रूपमा पठाउन ठाउँठाउँमा ड्रेन निर्माण गर्ने योजना छ ।

विभिन्न बस्तीमा स्थानीयबासीको विवाद र अवरोधका कारण काम पूरा भएको छैन । जनकपुर उपमहानगरपालिकाले निर्माण व्यवसायी कम्पनीलाई जग्गा खाली नगरिदिएपछि सडक विस्तार र ढल निर्माण आयोजना अधुरै रहेको छ । उपमहानगरपालिकाले ढल निकास र फोहरमैला व्यवस्थापनका लागि डम्पिङसाइट व्यावस्थापन गर्न नसक्दा राजधानी सहर दुर्गन्धित बनेको हो । फोहोर मैला व्यवस्थापनका निम्ति डम्पिङसाइट नहुनु, जनचेतनाको अभाव, स्थानीयवासीको असहयोग मुख्य चुनौतीका रूपमा रहेको उपमहानगरपालिका वडा नं–५ की सचिव जमुना भुजेल बताउँछिन् ।

सार्वजानिक शौचालयको कमी, स्थानीयवासीको जत्तिबेला जहाँ पनि खुला स्थानमा दिसापिसाब गर्ने, जथाभावी फोहोर फाल्ने मानसिकताको कारण सहर दुर्गन्धित छ । राजधानी सहरको जनकचोक, रामचोक, तिरहुतियाचोक, महावीर चोक, तिरहुतियागाछी चोक, जानकीमन्दिर आसपास, देवीचोक, मिल्सएरिया, सोनारपट्टी लगायत उपमहानगरको अधिकांश ठाउँमा फोहोरमैला व्यवस्थित हुन सकेको छैन ।

जनकपुर उपमहानगरपालिकालाई फोहोरमैला व्यवस्थापनका लागि डम्पिङसाइट व्यवस्थापन गर्न एसियाली विकास बैंकले ३५ करोड रुपैयाँ उपलब्ध गराए पनि हालसम्म उपयुक्त स्थान फेला पार्न सकेको छैन । डम्पिङसाइट नहुँदा फोहोरमैला व्यवस्थापन गर्न समस्या भएको जनकपुर उपमहानगरपालिका फोहोरमैला व्यवस्थापन विभागका प्रमुख उपेन्द्र साहले बताए ।

उनका अनुसार हाल कर्मचारीले वडा नं २३ स्थित दुधमती धार, बेगागाउँलगायत खुला ठाउँमा फाल्ने गरेका छन् । फोहोरमैला व्यवस्थापन, कार्यालय र सडक सरसफाइका लागि उपमहानगरपालिकामा ४१ जना स्थायी, १२ जना करार र ५० जना दैनिक ज्यालादारी गरी एक सय ३ जना स्विपर कर्मचारी कार्यरत छन् । फोहोरमैला व्यवस्थापनका लागि उपमहानगरपालिकासित एक ट्रिपर, दुईवटा ट्रयाक्टर र एउटा एस्काभेटर छ भने ४ वटा ट्रयाक्टर र एउटा ट्रिपर भाडामा लिएर काम चलाइरहेको इन्चार्ज साहले बताए ।

यसमध्ये एस्काभेटर र ६ वटा ट्रयाक्टर सडक विस्तारका लागि घर भत्काउने कार्यमा प्रयोग गरिएका छन् । फोहर मैला व्यावस्थापनकै लागि भारत सरकारले विगतमा प्रदान गरेको ९ वटा ट्रिपर, ४ वटा ट्रयाक्टर र ३ वटा स्काभेटर गरी १७ वटा सवारी साधन अधिकांश काम नलाग्ने अवस्थामा छन् ।

जनकपुरमा बाक्लो बस्ती भएकाले लुकेर दिसापिसाप गर्ने ठाउँ छैन । फोहोर फाल्ने डम्पिङसाइट, वन, जङगल नभएकाले बाध्य भएर जहाँ पायो, त्यहीं फाल्ने गर्छन् । फोहोर मैलाले नाक, मुख, आँखा, शिरदेखि पाउसम्म प्रभावित पारेपछि मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने गरेको छ ।

उपमहानगरपालिकाले दैनिक नियमित रुपमा फोहर संकलन गरे पनि सडक किनारा, होटल, लज, धर्मशाला छेउ, विद्युत् पोल, ढल, नालीमा भएको फोहर सरसफाइ नगर्ने भएकाले राजधानी सहर दुर्गन्धित बनेको हो । उपमहानगरपालिका –२३ स्थित फुलगाममा डम्पिङसाइट व्यवस्थापनको लागि एक करोड रुपैयाँ लगानी गरिसकेको छ । तर प्राप्त हुने नहुने अझै टुङ्गो लागिनसकेको कर्मचारीले बताए ।

जनगणना २०६८ अनुसार जनकपुर उपमहानगरपालिकाको २५ वटा वडामा ३० हजार ५ सय ८९ घरपरिवार र एक लाख ६२ हजार २ सय ३२ जनसंख्या छ । यसमध्ये घरवारविहीन अवस्थामा रहेका दलित, उत्पीडित समुदायको छाप्रोमा निजी शौचालय समेत छैन । ऋषिमुनीकालीन सहर जनकपुरलाई आधुनिक सहरको रुपमा विकसित गर्न सामाजिक वातावरणले नकारात्मक प्रभाव परेको जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले बताए ।

जताततै फोहर मैला, खुला शौचालय, डम्पिङसाइट, लामखुट्टे, ध्वनि प्रदूषण, वातावरण प्रदूषणबाट अक्रान्त जनकपुर सहर सरसफाइ, ढल निकास र सहरको व्यवस्थापन गर्न खानेपानी तथा सरसफाइ विभागबाट दुई अर्ब रुपैयाँ बजेट लगानी गर्ने सम्झौता भइसकेको उपमहानगर प्रमुख सहले बताए ।

प्रकाशित : श्रावण १७, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?