कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

सडकको फोहोर नगरपालिकामा

फोहोरको राजनीति
भरत जर्घामगर

सिरहा — लहान नगरक्षेत्रभित्र पूर्व–पश्चिम राजमार्गबाट नउठाइएको फोहोर १८ दिनपछि नेपाल विद्यार्थी संघ र तरुण दलले उठाएर लहान नगरपालिकाको मुख्य कार्यालय परिसरमै थुपारिदिएका छन् ।

सडकको फोहोर नगरपालिकामा

उच्च अदालत जनकपुर राजविराज इजलासले लहान नगरपालिकाको नाममा राजमार्गको सडकको केन्द्रविन्दुदेखि २५ मिटर बाहिरको घरटहरा नभत्काउनु भन्ने अन्तरिम आदेश दिएपछि लहानका नगर प्रमुख मुनि साहको निर्देशनमा विगत १८ दिनदेखि राजमार्गबाट फोहोर उठाउन छोडिएको थियो ।

नगरपालिकाले फोहोर उठाउन छोडेपछि लहान नगरपालिकाको पूर्व बलानदेखि सात किलोमिटर पश्चिम जताततै फोहोरको डंगुर थुप्रिएको थियो । थुप्रिँदै गएको फोहोरबाट राजमार्गको चोक बस्ती दुर्गन्धित बनेपछि शनिबार नेविसंघ र तरुण दलले फोहोर उठाएर लहान नगरपालिका–१० स्थित नगरपालिकाको मूल कार्यालय अगाडि थुपारिदिएका छन् । फोहोर उठाउने क्रममा विद्यार्थी संघ र तरुण दललाई स्थानीयले साथ दिएका थिए ।

अदालती प्रक्रियामा सडक डिभिजन कार्यालयले राजमार्ग आफ्नो क्षेत्राधिकारमा परेको दाबी गर्दै सडक केन्द्रदेखि २५ मिटरबाहिरको घरटहरा भत्काउन नपाइने जिकिर गरेपछि राजमार्गको फोहोर पनि सडक डिभिजनले नै उठाउनुपर्ने भन्दै नगर प्रमुख साहले नगरपालिकाको तर्फबाट फोहोर उठाउन बन्द गर्न निर्देशन दिएको नगरपालिकाको सरसफाइ फाँटले जनाएको छ ।

‘राजमार्गबाट उठाइएको फोहोर नगरपालिकाको कार्यालयमा थुपारेर अहिलेलाई हामीले नगर प्रमुखलाई यसतर्फ ध्यानाकर्षण मात्र गराएका हौं,’ नेपाल विद्यार्थी संघ सिरहाका अध्यक्ष शीतल चौधरीले भने, ‘राजमार्गबाट फोहोर उठाउने काम नगरपालिकाको हो र फोहोरको कारण जनताको स्वास्थ्यसँग कुनै पनि बहानामा खेलवाड गरियो भने हामी संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौं ।’ राजमार्गमा नगरपालिकाले फोहोर उठाउन छाडेपछि कांग्रेस, संघीय समाजवादी फोरम, राजपा नेपाल लगायत दलले प्रेस विज्ञप्ति जारी गरी राजमार्गमा थुप्रिएको फोहोरमार्फत नगरपालिकाले जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको आरोप लगाएको छ ।

कांग्रेस लहान नगर समितिका सभापति सुनील महतोले सडक केन्द्रदेखि ३१ मिटरबाहिर नगर प्रमुख मुनि साहको होटलको करिब एक सय फिट जग्गा सडकसँग जोडिने भएकाले नगरपालिकाबाटै नक्सापास गरेका दर्जनौं पुरानो घर भत्काउने प्रपञ्चमा लागेको र सफल नभएपछि राजमार्ग छेउका नागरिकलाई फोहोरको दुर्गन्धमा बस्न बाध्य बनाएको आरोप लगाए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार गाउँ वा नगर सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, सरसफाइ तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैलाको व्यवस्थापन र स्थानीयस्तरमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारको सूचीभित्र पर्छ ।

लहान नगरपालिकाको मुख्य सडकमा पर्ने पूर्व बलान नदीदेखि पश्चिम सरस्वती खोलासम्मका विभिन्न स्वास्थ्य संस्था, होटल, मासु पसल, तरकारी बजार तथा निजी घरबाट निष्कासन हुने फोहोर नगरवासीले राष्ट्रिय राजमार्गमै थुपार्ने गरेका छन् । यसरी थुपारिएका फोहोरहरू नगरपालिकाले आफ्ना सरसफाइ कर्मचारीबाट उठाई लहान नगरपालिका–४ मा रहेको ल्यान्डफिल साइटमा हाल्ने गरेको छ ।राजमार्गमा फोहोर थुप्रिएकै अवस्थामा नगर प्रमुखसहित वडा अध्यक्षहरूको टोली पश्चिम पहाडी क्षेत्रको भ्रमणमा गएका छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?