जर्जर सडकमा थोत्रा बस

- पाइलैपिच्छे खाल्डाखुल्डी - भारतीय बाटो प्रयोग गर्न बाध्य
अजित तिवारी

जलेश्वर (महोत्तरी) — जनकपुरबाट महोत्तरीको जलेश्वर पुग्ने सडक खण्डमा पाइलापिच्छे खाल्डाखुल्डी छन् । जर्जर सडकमा गुड्ने बस पनि थोत्रा छन् । जनकपुरबाट जलेश्वर १७ किलोमिटर सडक छिचोल्न बसलाई कम्तीमा १ घण्टाभन्दा बढी समय लाग्छ ।

हिलाम्मे जनकपुर–जलेश्वर सडक खण्डमा मोटरसाइकलमा यात्रा गर्दै (माथि) र जर्जर सडकमा बस र यात्रु । तस्बिर : अजित तिवारी । कान्तिपुर

वर्षौंदेखि जर्जर बनेको सडकको निर्माण सुरु भएको २ वर्ष बितेको छ । दुई खण्डमा फरक–फरक निर्माण कम्पनीले सकार गरेको सडक निर्माण सुस्त छ । जर्जर सडकमा थोत्रा बसको यात्राले सर्वसाधारण आजित छन् । ‘सडकको अवस्था हर्दा पनि जलेश्वर जान मन मान्दैन,’ जनकपुर उद्योग वाणिज्य संघका सदस्य शंकर पासवानले भने, ‘एक त सडक जर्जर छ, त्यसमाथि थोत्रा बसको यात्रा ।’

जनकपुरदेखि जलेश्वरको रूटमा चल्ने बस २० वर्षभन्दा पनि पुराना छन् । धेरैजसो बसका सिट भाँचिएका छन् । थोत्रा बसको झरझरको आवाज झन् चर्को हुन्छ । ‘सडकको हालत खराब रहेकाले जनकपुर–जलेश्वर रूटमा नयाँ बस हाल्न मान्दैनन्,’ महोत्तरी मठिहानीस्थित संस्कृत विद्यापीठका प्राचार्य ईश्वरी पौडेलले भने, ‘कामले गर्दा जलेश्वर–जनकपुर ओहोर दोहोर गर्नुपर्ने बाध्यता छ । सडक र बसको हालत भने जर्जर छ ।’

सडक कार्यालयले जलेश्वर–जनकपुर सडक निर्माणका लागि रोशन कन्स्ट्रक्सन र हिरा भगतको निर्माण कम्पनीलाई ठेक्का दिएको छ । कतै ६ र कतै ४ लेनमा निर्माण ठेक्का लागेको जनकपुर–जलेश्वर खण्डको काम अहिले ठप्प छ । सडक कार्यालयले पटक–पटक म्याद थपे पनि सुधारको कुनै संकेत देखिएको छैन । सानो पानी पर्दा पनि सडक खण्ड हिलाम्मे हुन्छ । ‘मोटरसाइकल हाँकेर जलेश्वर पुग्नु ठूलै युद्ध जितेजस्तो हुन्छ,’ व्यापारी पासवानले भने, ‘हिलाम्मे सडक हुँदा मोटरसाइकल चिप्लने खतरा पनि उत्तिकै हुन्छ ।’

महोत्तरीको पिपराभन्दा दक्षिण सडकमा बनाउने पर्ने पुलको काम त्यतिकै थन्किएको छ । जलेश्वर हुँदै बर्दिवास पुग्ने ४२ किलोमिटर अर्को सडकको दुरावास्था जनकपुर–जलेश्वर सडकभन्दा पनि जर्जर छ । जलेश्वर आवत–जावत गर्ने धेरैजस्तो यात्रुहरू सडकको दुरावस्थाले मिठामोड हुँदै भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।

महोत्तरी, मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डलले जनकपुर–जलेश्वर सडकको अवस्था दयनीय भएकाले महोत्तरीमा बाहिरबाट आउनेको संख्यामा कमी आएको बताए । ‘जलेश्वरमा काम पर्दा पनि सकभर नआउने र अरू माध्यमले नै काम गराउन खोज्नुमा सडकको अवस्थाले पनि हो,’ मेयर मण्डलले भने ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण २२, २०७५ ०९:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

टुटेश्वरमा तीन लाख दर्शनार्थी

रवीन्द्र उप्रेती

महोत्तरी — टुटेश्वर धाममा साउने सोमबारमा भीड बढ्न थालेको छ । नेपाल तथा भारतबाट बिहानैदेखि दर्शनार्थी आउन सुरु गरेकाले मन्दिर परिसरमा भीड बढ्ने क्रम सुरु भएको हो ।

साउने सोमबार दर्शन तथा जलार्पणका लागि आइतबार काँवर बोकेर ‘बोलबम’ को नारासहित महोत्तरीस्थित बर्दिवासको टुटेश्वरनाश मन्दिरतर्फ लम्कँदै ग्रामीण भेगका दर्शनार्थी । तस्बिर : रवीन्द्र । कान्तिपुर

गेरुवा वस्त्र धारण गरी काँधमा काँवर बोकेर पैदलदेखि सवारी चढेर टुटेश्वर जानेको लस्कर आइतबार बिहानैदेखि देखिन्थ्यो । ‘बोलबम’ को जयकार र भजनकीर्तनले पूर्वपश्चिम लोकमार्गदेखि बाटोमा पर्ने जंगली क्षेत्रसमेत अहिले भक्तिनगरमा परिणत भएको छ ।

सूर्यमास अनुसार तेस्रो र चन्द्रमास अनुसार दोस्रो सोमबारमा दर्शनार्थीको संख्या ३ लाख नाघ्ने टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिले जनाएको छ । यसअघिका सोमबारमा डेढ लाख दर्शनार्थी आएको जनाइएको छ । समितिको रेकर्डअनुसार डाकबम मात्रै हजारभन्दा बढी आएका थिए । करिब ४५ किमि दूरीमा रहेको सिन्धुली सीमानजिकको कमला नदीबाट पवित्र जल बोकेर कतै विश्राम नगरी मन्दिरमा जलापर्ण गर्न सक्ने भक्तजनलाई डाकबम भनिन्छ ।

समित अध्यक्ष प्रवीण थापाका अनुसार गत वर्ष साउनमा मन्दिरमा चढाएको भेटी मात्र ३ लाख नागेको थियो । यो वर्ष दर्शनार्थीको बढदो लस्कर हेर्दा साउने सोमबार मात्रै दर्शन गर्ने १० लाखभन्दा बढी हुने समितिको अनुमान छ । टुटेश्वर १४ औं शताब्दीमा स्थापना भएको हो । महाभारत कालको वन पर्वका बेला भगवान महादेवले यसै स्थानमा अर्जुनलाई किरातेश्वर स्वरूपको दर्शन दिएको जनविश्वास पाइन्छ ।

श्रद्धालु बढेसँगै व्यवस्थापनको चुनौती पनि बढेको छ । यहाँ खाने पानीको समस्या छ । मेलाको दिन करिब ३० हजार लिटर पानी खपत हुने जनाइएको छ । पिउने पानीको स्रोत व्यवस्थापन गर्न नसक्दा दर्शनार्थी खोलाको धमिलो पानी पिउन बाध्य छन् । दर्शनका लागि एक दिनअघि नै श्रद्धालु आउने हुँदा पानीको खपत दोब्बर हुने गरेको छ । जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले टुटेश्वरमा खानेपानीको नयाँ योजना सुरु गरे पनि योजना अधुरै रहेको छ ।

मेला सुरक्षार्थ सशस्त्र तथा नेपाल प्रहरीले विशेष व्यवस्था मिलाएको जनाएको छ । नेपाल प्रहरीले मन्दिर परिसरमा अस्थायी पोस्ट खडा गरेको छ । बर्दिवासस्थित नेपाल प्रहरीका डीएसपी नकुल पोखरेलले मन्दिर, दर्शनार्थी र धार्मिक मेलाको सुरक्षा व्यवस्थामा कुनै कमी हुन न पाओस् भनेर मेला अवधिभरका लागि असईको कमान्डमा १५ जना प्रहरी परिचालन गरिएको जनाए ।

प्रकाशित : श्रावण २२, २०७५ ०९:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT