कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुटेश्वरमा तीन लाख दर्शनार्थी

रवीन्द्र उप्रेती

महोत्तरी — टुटेश्वर धाममा साउने सोमबारमा भीड बढ्न थालेको छ । नेपाल तथा भारतबाट बिहानैदेखि दर्शनार्थी आउन सुरु गरेकाले मन्दिर परिसरमा भीड बढ्ने क्रम सुरु भएको हो ।

टुटेश्वरमा तीन लाख दर्शनार्थी

गेरुवा वस्त्र धारण गरी काँधमा काँवर बोकेर पैदलदेखि सवारी चढेर टुटेश्वर जानेको लस्कर आइतबार बिहानैदेखि देखिन्थ्यो । ‘बोलबम’ को जयकार र भजनकीर्तनले पूर्वपश्चिम लोकमार्गदेखि बाटोमा पर्ने जंगली क्षेत्रसमेत अहिले भक्तिनगरमा परिणत भएको छ ।

सूर्यमास अनुसार तेस्रो र चन्द्रमास अनुसार दोस्रो सोमबारमा दर्शनार्थीको संख्या ३ लाख नाघ्ने टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिले जनाएको छ । यसअघिका सोमबारमा डेढ लाख दर्शनार्थी आएको जनाइएको छ । समितिको रेकर्डअनुसार डाकबम मात्रै हजारभन्दा बढी आएका थिए । करिब ४५ किमि दूरीमा रहेको सिन्धुली सीमानजिकको कमला नदीबाट पवित्र जल बोकेर कतै विश्राम नगरी मन्दिरमा जलापर्ण गर्न सक्ने भक्तजनलाई डाकबम भनिन्छ ।

समित अध्यक्ष प्रवीण थापाका अनुसार गत वर्ष साउनमा मन्दिरमा चढाएको भेटी मात्र ३ लाख नागेको थियो । यो वर्ष दर्शनार्थीको बढदो लस्कर हेर्दा साउने सोमबार मात्रै दर्शन गर्ने १० लाखभन्दा बढी हुने समितिको अनुमान छ । टुटेश्वर १४ औं शताब्दीमा स्थापना भएको हो । महाभारत कालको वन पर्वका बेला भगवान महादेवले यसै स्थानमा अर्जुनलाई किरातेश्वर स्वरूपको दर्शन दिएको जनविश्वास पाइन्छ ।

श्रद्धालु बढेसँगै व्यवस्थापनको चुनौती पनि बढेको छ । यहाँ खाने पानीको समस्या छ । मेलाको दिन करिब ३० हजार लिटर पानी खपत हुने जनाइएको छ । पिउने पानीको स्रोत व्यवस्थापन गर्न नसक्दा दर्शनार्थी खोलाको धमिलो पानी पिउन बाध्य छन् । दर्शनका लागि एक दिनअघि नै श्रद्धालु आउने हुँदा पानीको खपत दोब्बर हुने गरेको छ । जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले टुटेश्वरमा खानेपानीको नयाँ योजना सुरु गरे पनि योजना अधुरै रहेको छ ।

मेला सुरक्षार्थ सशस्त्र तथा नेपाल प्रहरीले विशेष व्यवस्था मिलाएको जनाएको छ । नेपाल प्रहरीले मन्दिर परिसरमा अस्थायी पोस्ट खडा गरेको छ । बर्दिवासस्थित नेपाल प्रहरीका डीएसपी नकुल पोखरेलले मन्दिर, दर्शनार्थी र धार्मिक मेलाको सुरक्षा व्यवस्थामा कुनै कमी हुन न पाओस् भनेर मेला अवधिभरका लागि असईको कमान्डमा १५ जना प्रहरी परिचालन गरिएको जनाए ।

प्रकाशित : श्रावण २२, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?