कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालको बेथिति: बिरामीलाई सास्ती

५० शय्याको अस्पतालमा २ जना मात्रै चिकित्सक
लक्ष्मी साह

बारा — कलैयाको एक मात्र जिल्ला अस्पताल पाँच वर्षअघि १५ शय्याको थियो । तत्कालीन स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले अस्पतालको स्तरोन्नति गरी ५० शय्याको पुर्‍याए । १४ जना विशेषज्ञ चिकित्सको दरबन्दी कायम गरियो ।

अस्पतालको बेथिति: बिरामीलाई सास्ती

स्तरोन्नति भएको अस्पतालमा एक वर्षयता २ जना मात्र विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । बाल रोग र कन्सल्टेन्ट सर्जनबाहेक अरू विशेषज्ञ छैनन् । अरू चिकित्सकहरू अस्पताल विकास समितिको आग्रहमा ज्यालादारी र करार सेवामा जसोतसो सेवा दिइरहेका छन् । ‘प्रसूति विशेषज्ञ नहुँदा चिन्ता थपिएको छ,’ बिहीबार पत्नीलाई अस्पतालमा प्रसूति गराउन आएका सिम्रौनगढ नगरपालिका–८ का प्रदीपप्रसाद यादवले भने, ‘केही असहज भयो भन्ने के हुन्छ, थाहा छैन ।’


प्रसूति, हाडजोर्नीलगायतका विशेषज्ञ छैनन् । ‘अस्पतालमा सेवा छैन । व्यवसाय र व्यापारीकरण हाबी भएको छ,’ अस्पताल विकास समितिका पूर्वअध्यक्ष छठुप्रसाद यादवले भने, ‘सेवामूलक संस्थामा व्यवस्थापन पनि छैन । सुधार गराउन स्थानीयको चासो पनि छैन ।’ सेवा दिने प्राविधिकलाई प्रशासनिक सेवाको जिम्मेवारी दिइएकाले अस्पतालको सेवा वर्षयता बिग्रिन थालेको छ । स्वास्थ्य मन्त्रालयले अस्पताल विकास समिति खारेज गरेपछि अस्पतालको अवस्था झन् लथालिंग भएको चिकित्सकहरू बताउँछन् ।


जनशक्ति अभावले अस्पतालको सेवा नै प्रभावित छ । बिरामीले चाहेअनुसारको सेवा लिन नपाएपछि अन्यत्र सेवा लिन बाध्य छन् । कागजमा ५० शय्याको अस्पताल भएपनि व्यवहारमा छैन । ‘दरबन्दी अनुसारको डाक्टर नहुँदा दैनिक आउने २ सय बिरामीको उपचारमा समस्या भएको छ,’ अस्पतालकी मेडिकल सुपरिटेन्डेड अनुपमाकुमारी यादवले भनिन्, ‘दरबन्दी पूरा भएपछि समस्या हल हुन्छ ।’ बजारको भन्दा १५ प्रतिशत कममा पाइने अस्पतालको फार्मेसीमा जनशक्ति नहुँदा फार्मेसी बन्द प्राय: रहने गरेको उनले बताइन् । अस्पतालमा मेडिकल अधिकृत र टेक्नोलोजिस्टको समेत अभाव रहेको छ । फिजिसियन र सर्जन चिकित्सककोसमेत छैनन् ।


प्रयोगशालामासमेत करारमा भएका थप दुई जना प्राविधिकको म्याद थप नभएपछि जाँचको काम प्रभावित भएको छ । ‘दिउँसो जसोतसो काम चलाइए पनि राति भने जाँचको काम ठप्प रहन्छ,’ उनले भनिन्, ‘आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित आकस्मिक शल्यक्रिया (सीओसी) हुन सक्दैन ।’ यो कार्यक्रमअन्तर्गत रहेका दुई जना चिकित्सकको म्याद थप नभएपछि जटिल अवस्थाको प्रसूति (शल्यक्रियाबाट प्रसूति गर्नुपर्ने) सेवा बन्द छ । भिडियो एक्सरे एक वर्षदेखि नै ठप्प छ । आईसीयू र ब्लड बैंकको सुविधा छैन ।


पञ्चायतकालीन यस अस्पतालमा तीन दशक पुराना रेडक्रस सोसाइटीले ब्लड बैंक स्थापना गर्न सकेको छैन । सरकारले गाउँगाउँको स्वास्थ्य चौकीमा एमबीबीएस राख्ने योजना बनाए पनि त्यो योजनासमेत कागजमै छ । कुनै स्वास्थ्य चौकीमा एमबीबीएस छैन । अस्पतालका एक चिकित्सकका अनुसार रगतको अभावले जटिल अवस्थाका गर्भवती तथा अन्य रोगका बिरामीलाई सेवा दिन अप्ठ्यारो छ । ‘विपन्न वर्गका गर्भवतीहरू जीवनमरणको अवस्थामा हुँदा शल्यक्रियामार्फत प्रसूति गराउन १५ किलोमिटर टाढा वीरगन्जस्थित ‘रिफर’ गरी पठाउनुपर्छ ।’


अस्पतालको सेवाप्रति यहाँका नागरिक समाज, सर्वसाधारण, राजनीतिक दल र अन्य सरोकारवालाहरू चिन्ता जनाएका छन् । अस्पताल दिनानुदिन फोहोर बन्दै गरेको, बिरामीको खाना, उपचार सेवा सन्तोषजनक नभएको, चिकित्सकको अभावलाई पूरा हुनुपर्ने नागरिक समाजका अगुवा हिरालाल साह बताउँछन् । एक वर्षअघि सुधार भएको अस्पताल व्यवस्थापन अभाव, काम गर्ने इच्छा शक्तिको कमी र चिकित्सकको अभावमा फेरि लथालिंग भएको सरोकारवालाहरू बताउँछन् ।


एक वर्षअघि अस्पताल विकास समितिका पूर्वअध्यक्ष छठुप्रसाद यादवको एक्लो प्रयासले अस्पताल फेरिए पनि उनी एक वर्षयता अध्यक्षबाट हटेपछि अस्पतालको अवस्था ज्युँत्युँ भएको नागरिक समाजका अगुवा साहको भनाइ छ ।

प्रकाशित : श्रावण २५, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?