अवैध रूपमा भित्रिन्छन् भारतीय गुट्खा

भूषण यादव

वीरगन्ज — वीरगन्ज र आसपासका क्षेत्रमा भारतीय गुटखा अवैध रूपमा भित्रिने गरेको पाइएको छ । गत आव ०७४/७५ मा वीरगन्ज भन्सार नाकाबाट राजस्व दाखिला गरी रजनीगन्धा, पानपराग, राजनिवास, कमलापसन्द लगायतका भारतीय गुटखा भित्रिएको विवरण छैन ।

भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवका अनुसार कुनै पनि भारतीय गुटखा राजस्व तिरेर वीरगन्ज भित्रिएको छैन । तर, वीगन्जको प्रत्येक पान पसल र किराना पसलमा भारतीय गुटखा निर्वाध रूपमा बिक्री भइरहेका छन् ।

नेपाली ग्राहकको पहिलो रोजाइ पनि भारतीय गुटखा नै रहेको बिक्रेता बताउँछन् । १० रुपैयाँदेखि ४० रुपैयाँसम्ममा बिक्री हुने गुटखाको आयातमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करका साथै प्रतिकिलोमा ५ सय ५४ रुपैयाँ अन्तशुल्क लाग्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भन्सार राजस्व छली बजारमा निर्वाध गुटखा बिक्री भइरहे पनि सरोकारवाला निकायले अनुगमनमा चासो देखाएको छैन ।

Yamaha

गुटखा कारोबारीले ग्रामीण नाकाबाट मात्र नभई वीरगन्ज रक्सौल मुख्य नाकाबाटै गुटखा तस्करी गर्छन् । स्रोतका अनुसार पर्साको भिस्वा, जानकीटोला, पिडारी, छपकैया, अमरपट्टी र बाराको मटिअरवा, सिम्रौनगढ लगायतका नाकाबाट साइकल, मोटरसाइकल र पिक अफ जिपमा भारतीय गुटखा भित्र्याउने गरेका छन् । ‘ग्रामीण नाकामा तैनाथ सुरक्षाकर्मीलाई खुद्रा व्यापारीले पटके रूपमा नजराना बुझाउँछन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘ठूला कारोबारीले मासिक रूपमै चौकी इन्चार्जलाई पैसा बुझाउँछन् ।’

गत साउन १२ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सीमावर्ती भारतीय बजारबाट अवैध रूपले ठूलो परिमाणमा गुटखा वीरगन्ज भित्र्याउने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको थियो । विशेष सूचनाका आधारमा प्रहरीले शनिबार साँझ करिब ७ बजेको समयमा वीरगन्ज महानगरपालिका ८ दुर्गा हल अगाडिबाट जेएच०९जे३१११ नम्बरको भारतीय स्कारपियो जाँच गर्दा ४ बोरा गुटखा बरामद गरेको थियो ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै गाडी चालक भारत मोतीहारी निवासी रामरोशन कुमार र वीरगन्ज निवासी गुट्खा व्यापारी गौतम चौरसियालाई सार्वजनिक गरेको थियो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार बोराभित्र बिलबिजन नभएका ८० थान रजनीगन्धाको बट्टा, ६ हजार ४ सय ८० पिस रजनीगन्धाको सानो पुरिया, ५ सय पिस रजनीगन्धाको ठूलो पुरिया, एक सय ९० पिस तुलसी मसला बरामद भएको थियो । थप कारबाहीका लागि बरामद सामानसहित दुई जनालाई वीरगन्ज भन्सार कार्यालय पठाइएको थियो ।

चालक र कारोबारीलाई २२ लाख ५० हजार धरौटी राखेर भन्सारले छाडेको छ । महँगो कर छल्न व्यापारीले भारतीय गुटखा अवैध तरिकाले मुलुक भित्र्याउने गरेका छन् । आन्तरिक कर कार्यालयका प्रमुख अनुसन्धान अधिकृत गोपीकृष्ण कोइरालाका अनुसार हालसम्म भारतीय गटखाको अनुगमन गरिएको छैन । ‘भन्सार राजस्व छली भित्रिन्छन् भन्ने जानकारी नै थिएन,’ उनले फोनमा भने, ‘अनुगमन गरेपछि चोरी पैठारीमार्फत भित्रिएको हो कि हैन भन्ने थाहा हुन्छ ।’

यस नाकाबाट वैध रूपमा नभित्रिए पनि भैरहवा, विराटनगर लगायतका नाकाहरूबाट पनि भित्रिएको हुन सक्ने उनले प्रतिक्रिया दिए । ‘सीमावर्ती रक्सौल बजारमै भारतीय गुटखाका ठूला कारोबारी बस्छन्,’ आदर्शनगरका एक गुटखा व्यापारी भन्छन्, ‘अन्य नाकाबाट ल्याएर वीरगन्जमा बिक्री गर्दा ढुवानी खर्च महँगो हुन जान्छ ।’

Esewa Pasal

प्रकाशित : श्रावण २६, २०७५ ०८:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खर्च भएन विकास बजेट

१ अर्ब ७५ करोड ४९ लाख ३३ हजार १ सय १२ रुपैयाँ ५ पैसा फिर्ता
शंकर आचार्य

पर्सा — गत आर्थिक वर्षमा पनि जिल्लाका सरकारी कार्यालयले विकास निर्माणतर्फको ठूलो बजेट खर्च गर्न नसकी फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जका अनुसार गत आवमा यसरी खर्च हुन नसकेर १ अर्ब ७५ करोड ४९ लाख ३३ हजार १ सय १२ रुपैयाँ ५ पैसा फिर्ता गएको छ । यो जिल्लाको कुल बजेटको १२ दशमलव ३० प्रतिशत हो ।

गत आवमा चालु र पुँजीगततर्फ गरी कुल १४ अर्ब २६ करोड ५७ लाख ९ हजार ९ सय ३७ रुपैयाँ ९५ पैसा जिल्लाको बजेट रहेकोमा १२ अर्ब ५१ करोड ७ लाख ७६ हजार ८ सय २५ रुपैयाँ ९० पैसा मात्र खर्च भएको छ । जुन समग्रमा ८७ दशमलव ६९ प्रतिशत हो ।

कार्यालय प्रमुख बालाकृष्ण अधिकारीका अनुसार गत आवमा जिल्लामा चालुतर्फ ८ अर्ब ४४ करोड ९१ लाख ६६ हजार ९ सय ३७ रुपैयाँ ९५ पैसा बजेट रहेकोमा ७ अर्ब ८५ करोड ३७ लाख ४३ हजार ७ सय १२ रुपैयाँ ९९ पैसा खर्च भएको छ । जुन ९२ दशमलव ९५ प्रतिशत हो । चालु शीर्षकको बजेट विशेष गरी कर्मचारीको तलबमा मात्र खर्च हुन्छ ।

पुँजीगततर्फ गत आवमा ५ अर्ब ८१ करोड ६५ लाख ४३ हजार रुपैयाँ बजेट रहेकोमा ४ अर्ब ६५ करोड ७० लाख ३३ हजार १ सय १२ रुपैयाँ ९१ पैसा खर्च भएको छ । जुन ८० दशमलव ०६ प्रतिशत हो । यो बजेटमा जिल्लाका स्थानीय तहको बजेट समावेश नरहेको अधिकारीले बताए ।

गत आवमा १२ प्रतिशत बजेट खर्च नभए पनि यो अघिल्लो आर्थिक वर्षभन्दा अत्यन्त कम रहेको अधिकारी बताउँछन् । अघिल्लो आवमा चालु खर्चको बजेट ६ अर्ब २६ करोड ३५ लाख ४४ हजार ३ सय ७ रुपैयाँ रहेकोमा ९३ दशमलव ९ प्रतिशत अर्थात् ५ अर्ब ८८ करोड ३० लाख १ हजार ६ सय ९४ रुपैयाँ मात्र खर्च हुन सकेको थियो । त्यसैगरी, पुँजीगत तर्फको बजेट ४ अर्ब ३० करोड ४ लाख २६ हजार ६ सय ५० रुपैयाँ रहेकोमा ५८ दशमलव १ प्रतिशत अर्थात २ अर्ब ५० करोड ३६ लाख १२ हजार ५ सय ९४ रुपैयाँ मात्र खर्च हुन सकेको थियो ।

गत आवमा पुँजीगत बजेट खर्च गरेका जिल्लाका मुख्य कार्यालयहरूमा वीरगन्ज पथलैया व्यापारिक मार्ग आयोजना कार्यालय, सहरी विकास तथा भवन कार्यालय, हुलाकी मार्ग आयोजना कार्यालय, वीरगन्ज महानगरपालिकाको कार्यालय, सिँचाइ डिभिजन कार्यालय, भूमिगत सिँचाइ कार्यालय र नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय रहेका छन् ।

यी मध्ये हुलाकी राजमार्ग आयोजनाले सबैभन्दा बढी बजेट खर्च गरेको छ । उसको ५१ करोड ३५ लाख ५१ हजार रुपैयाँमध्ये ९९ दशमलव ८० प्रतिशत अर्थात् ५१ करोड ४० हजार ५० रुपैयाँ खर्च गरेको छ ।

वीरगन्ज पथलैया व्यापारिक मार्ग आयोजना कार्यालयले ९६ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । उसको कुल बजेट १ अर्ब ५६ करोड २३ लाख ६१ हजार रुपैयाँ रहेकोमा १ अर्ब ५० करोड ५२ लाख ८ सय रुपैयाँ २४ पैसा खर्च गरेको छ ।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले ३२ करोड ३३ लाख ८८ हजार रुपैयाँ बजेटमध्ये ९४ दशमलव ५० प्रतिशत अर्थात् ३० करोड ५६ लाख ११ हजार रुपैयाँ खर्च गरेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले १ अर्ब ४२ करोड रुपैयाँमध्ये ९० दशमलव ११ प्रतिशत अर्थात् १ अर्ब २८ करोड ५१ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी, सहरी विकास तथा भवन कार्यालयले २ अर्ब ५५ करोड १ लाख ५८ हजार ५६ रुपैयाँ बजेटमध्ये ६७ प्रतिशत अर्थात् ८३ करोड ५६ लाख ७८ हजार ७ सय ६३ रुपैयाँ ८६ पैसा खर्च गरेको छ । भूमिगत सिँचाइ कार्यालयले १८ करोड ८७ लाख रुपैयाँमध्ये ६४ दशमलव २४ प्रतिशत अर्थात् १२ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्षमा पुँजीगत बजेट समग्रमा उत्साहजनक रूपमा खर्च भएको अधिकारीले बताए । विशेष गरी वीरगन्ज पथलैया व्यापारिक मार्ग कार्यालय र हुलाकी सडक आयोजना कार्यालयले बढी बजेट खर्च गर्न सफल भएको उनको भनाई थियो । सडक तथा पुलपुलेसा बनाउन विगतको जस्तो कुनै बाधा अवरोध नहुनु, मुआब्जा बितरणको कामले गति लिनु पनि विकास बजेट खर्च हुने मुख्य कारण रहेको उनले बताए ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT