कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगर खुला दिसा मुक्त भएन

शंकर आचार्य

पर्सा — अभियान चलाएको ४ वर्ष पुग्न लाग्दा पनि वीरगन्ज महानगर खुला दिसा मुक्त हुन सकेको छैन ।

महानगर खुला दिसा मुक्त भएन

यसअघि यसै वर्षको असार मसान्तसम्म यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यस अवधिमा पनि लक्ष्य भेट्टाउन नसकेपछि महानगरपालिका कार्यालयले यस वर्षको डिसेम्बर अन्त्यसम्मको नयाँ लक्ष्य लिएको छ ।


अझै पनि महानगरका ९ वटा वडा खुला दिसा मुक्त घोषणा हुन सकेका छैनन् । वडा नं १, १५, १९, २३, २४, २५, २७, ३० र ३१ खुला दिसा मुक्त घोषणा हुन बाँकी छन् । जनप्रतिनिधि आएपछि यो अभियानले तीव्रता लिने आशा गरिए पनि अभियान कछुवा गतिमै चलेको छ ।


वीरगन्ज महानगरपालिकाको कार्यालय खानेपानी शाखा प्रमुख सुनिलकुमार कर्णले ९ मध्ये १, १५, ३० र ३१ नम्बर वडामा घोषणाको औपचारिकता मात्र बाँकी रहेको बताए । १९, २३, २४, २५ र २७ नम्बर वडामा अभियानको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको उनले दाबी गरे । हालकै गतिमा काम गरे पनि डिसेम्बर अन्त्यसम्मका अभियान सम्पन्न हुने उनले बताए ।


जनप्रतिनिधि तथा सम्बन्धित वडाका अगुवा एवम् युवाहरूले तदारुकता देखाए त्यसअघि पनि यो अभियान सम्पन्न हुने बलियो सम्भावना रहेको कर्ण बताउँछन् । ‘यो जनप्रतिनिधिकै तदारुकता र इच्छाशक्तिमा निर्भर हुन्छ,’ उनले भने, ‘जनप्रतिनिधि जिम्मेवार बन्नुपर्‍यो, हामी उहाँहरूलाई झकझक्याउने काममा लागिपरेका छौं ।’


२०७१ मंसिरबाट कार्यालयले महानगरमा यो अभियान सञ्चालन गरेकोमा त्यति बेला रहेका कुल १९ वडामा ८६ प्रतिशत घरमा शौचालय रहेकाले कुल १४ प्रतिशत घरमा मात्र शौचालय बनाउने चुनौती थियो । तर त्यसै बीचमा ११ वटा गाविसलाई उमनपामा गाभिएपछि ७३ प्रतिशत घरधुरीमा मात्र शौचालय भएपछि चुनौती थपिएको हो ।


महानगरमा हाल कुल ३९ हजार १ सय ३० घरधुरीमा स्थायी बसोबास भएको जनसंख्या २ लाख ४० हजार ९ सय २२ रहेको छ । अस्थायी बसोबासको समेत गरी हाल महानगरको जनसंख्या करिब ५ लाख रहेको कर्ण बताउँछन् । अझै ४ हजार ५ सय ४६ घरधुरीमा शौचालय बनाउन बाँकी रहेको छ । यसका लागि बाँकी रहेका वडामा घरदैलो अभियान, सरसफाइ कार्ड वितरण गर्दा कडाइ गर्नु पनि आवश्यक रहेको कर्ण बताउँछन् ।


सामान्यतया ८० प्रतिशत घर धुरीमा शौचालय भए खुला दिसा मुक्त घोषणा गर्न सकिने भए पनि ९९ प्रतिशत घरधुरीमा शौचालय नबनेसम्म यस्तो घोषणा नगर्ने लक्ष्य लिएर काम भइरहेको उनले बताए । ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेपछि सबै वडामा आचारसंहिता बनाएर घोषणा गरिनेछ । बाँकी ५ प्रतिशत पूर्ण सरसफाइ क्षेत्र घोषणाका लागि राख्ने गरिएको छ ।


पूर्ण सरसफाइ हुन शौचालय प्रयोग गरेको मात्र नभई सबै घरका छोराछोरी विद्यालय जाने, खाना खानुअघि तथा शौचालयबाट आएपछि साबुन पानीले हात धुने, नाकबाट सिंगान आएको हुन नहुने, नियमित कपाल, नङ काटने गरेको हुनुपर्छ । यसका साथै घर वरिपरिको सडक, नाला आदि पनि सफा हुनुपर्छ । यसपछि मात्र पूर्ण सरसफाइ क्षेत्र घोषणा गरिन्छ ।

महानगरवासीलाई शौचालय निर्माणका लागि दबाब दिन सबै घरधुरीलाई शौचालय नबनाएसम्म सरसफाइ परिचयपत्र नदिने नियम कार्यालयले बसालेको छ । यस्तो परिचयपत्र नभएका घरधुरीलाई कार्यालयबाट दिइने कुनै पनि खाले सिफारिस नदिने नीति कार्यालयले बनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?