कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रक्सी र बियरको आयात घट्यो

कान्तिपुर संवाददाता

पर्सा — सबैखाले मदिरा आयात हुने मुलुकको प्रमुख नाका सिर्सिया सुक्खा बन्दरगाहबाट गत आर्थिक वर्षमा तयारी रक्सी र बियरको आयात घटेको छ । वाइनको आयात भने बढेको छ । यता रक्सी बनाउने कच्चा पदार्थको आयात पनि बढेको छ ।

रक्सी र बियरको आयात घट्यो

बन्दरगास्थित भन्सार कार्यालयको तथ्यांकअनुसार गत आवमा यो नाकाबाट ७३ करोड ४३ लाख रुपैयाँ बराबरको ४ लाख ५७ हजार लिटर तयारी रक्सी आयात भएको छ । जसबाट १ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यसै नाकाबाट ८२ करोड २३ लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार लिटर तयारी रक्सी आयात भएको थियो । जसबाट १ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आवमा यो नाकाबाट १ करोड ६२ लाख रुपैयाँ बराबरको १ लाख ५३ हजार लिटर बियर आयात भएको छ । यसबाट ३ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यो नाकाबाट ५ करोड ५ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार लिटर बियर आयात भएको थियो । यसबाट १० करोड ८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आवमा यो नाकाबाट ३१ करोड ५० लाख ४९ हजार रुपैयाँ बराबरको ८ लाख ४८ हजार २ सय २४ लिटर वाइन आयात भएको छ । यसबाट ५४ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवमा यो नाकाबाट २१ करोड २९ लाख रुपैयाँ बराबरको ६ लाख ७३ हजार ७ सय ६७ लिटर वाइन आयात भएको थियो । यसबाट ४२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आवमा ३६ करोड ४८ लाख रुपैयाँ बराबरको १ लाख ६७ हजार लिटर रक्सी बनाउने कच्चा पदार्थ आयात भएको छ । यसबाट २४ करोड ३५ लाख रुपैया राजश्व संकलन भएको छ । अघिल्लो आवमा २ करोड १९ लाख रुपैया बराबरको २० हजार ३ सय लिटर यस्तो बस्तु आयात भएको थियो । यसबाट २ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी तुलनात्मक रूपमा यस्तो वस्तुको आयात झन्डै ८ गुनाले बढेको छ ।

सरकारले अघिल्लो आर्थिक वर्षमा मदिराको आयातमा भन्सार शुल्क वृद्धि गरेको थियो । बियरको अन्तशुल्क प्रतिलिटर १ सय ६ रुपैयाँबाट १ सय १५, इक्स्ट्रा न्युट्र्रल अल्कोहलको ५० रुपैयाँ प्रतिलिटरबाट बढाएर ५८, वाइनको १ सय १५ रुपैया प्रतिलिटरबाट १ सय २८, १५ यूपी शक्तिको हीस्कीको प्रति लिटर ९ सय १२ बाट १ हजार ३, २५ युपिको हीस्कीको अन्तशुल्क प्रतिलिटर ६ सय ८० रुपैयाँबाट बढाएर ७ सय ४८ रुपैयाँ बनाइएको छ ।

अन्य मदिराको अन्तशुल्क पनि बढाइएको छ । तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह सम्म पानीजहाजमा र त्यहाबाट रेलमा मदिरा आयात गरिन्छ । यसरी रेलमार्गबाट आयात गर्दा सस्तो र क्षति पनि कम हुने गर्दा आयातकर्ताले मदिरा आयात गर्न सिर्सिया बन्दरगाह नाका रुचाउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?