कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षामा कार्यक्रम, विद्यार्थी बरन्डामा

अवधेशकुमार झा

सप्तरी — हनुमाननगर कंकालिनी नगरपालिकाको लिलजा ठाकुर राष्ट्रिय प्राथमिक विद्यालय कक्षा कोठाको हिसाबले सुविधा सम्पन्न छ । तर बुधबार दिउँसो कक्षा ३ मा अध्ययनरत विद्यार्थी विद्यालयको बरण्डामा भुइँमै बसेर पढिरहेका थिए ।

कक्षामा कार्यक्रम, विद्यार्थी बरन्डामा

कक्षाकोठामा अध्ययन गर्नुपर्ने विद्यार्थीलाई बाहिर बरण्डामा बसाएर कक्षा कोठामा भने विद्यालय कर्मचारी परिषदको अन्तरक्रिया चलिरहेको थियो । कक्षा ६ सम्म अध्यापन हुने उक्त प्राथमिक विद्यालयमा कुल ४ सय ८४ विद्यार्थी छन् । विद्यालयमा कार्यालयबाहेक ९ वटा कक्षा कोठा छन् ।

विद्यार्थीको अनुपातमा कक्षाकोठा पर्याप्त छन् तर पूर्वतर्फको एउटा कोठामा अत्यधिक गर्मी हुने तथा अर्को एउटा बेन्च डेस्क भएको कक्षाकोठामा अन्तरक्रिया चलिरहेकाले कक्षा ३ का विद्यार्थीलाई बाहिरी बरन्डामा राखेर पढाउनुपरेको निमित्त प्रधानाध्यापक योगेन्द्रप्रसाद ठाकुरले बताए ।

उनले विद्यालयमा काम गर्ने कार्यालय सहयोगीको संगठन विद्यालय कर्मचारी परिषद्लाई अन्तरक्रियाका लागि प्रधानाध्यापकले दिइसकेकाले विद्यार्थीलाई बाहिरै पढाएको बताए । प्रधानाध्यापक रामनन्दन तिवारी भने विद्यालयमा देखिएनन् । टेलिफोन सम्पर्कमा तिवारीले आफू बिदामा रहेका बेला निमित्त प्रधानाध्यापकबाट कक्षाकोठा अन्तरक्रियाका लागि दिएर विद्यार्थीलाई बरन्डामा पढाउनु गल्ती भएको बताए । उनले भने, ‘मैले कोठा अन्तरक्रियाका लागि दिएको थिइनँ, गल्ती भयो ।’

निमित्त प्रधानाध्यापक प्रधानाध्यापकको नाम र प्रधानाध्यापकले निमित्तको दोष देखाएर आफू पन्छिन खोजे तर प्रधानाध्यापक तिवारीले आफू अनुपस्थित रहँदा विद्यार्थीलाई बाहिर राखेर कक्षाकोठा अन्तरक्रियाका लागि किन दिएको भन्ने विषयमा निमित्त प्रधानाध्यापकसित बिहीबार स्पष्टीकरण लिने बताए ।

विद्यालयको कक्षाकोठा पढाइको समयमा अन्तरक्रियाका लागि दिएर विद्यार्थीलाई बरन्डामा राख्ने कार्य गलत भएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए । ‘विद्यालयको कक्षाकोठा पढाइको समयमा अन्य प्रयोजनका लागि दिन मिल्दैन,’ मेयर साहले भने, ‘कक्षा समयमा के कारणले विद्यालयको कोठा अन्तरक्रियाका लागि दिइयो, यसबारे विद्यालयका प्रधानाध्यापकसित जानकारी लिनेछौं ।’

प्रकाशित : श्रावण ३१, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?