बस्ती पुग्ने छैन बाटो

भरत जर्घामगर

सिरहा — सखुवानानकारकट्टी ५ का चार घर दलित डोम परिवार आवतजावत गर्ने बाटो नहुँदा घेराबन्दीमा परेका छन् । पोखरीको डिल छेउ ऐलानी जग्गामा तीन पुस्तादेखि बसोबास गर्दै आएका डोम बस्तीसम्म पुग्ने बाटो नहुँदा उनीहरू घेराबन्दीमा परेका हुन् ।

आवतजावत गर्ने बाटो नहुँदा घेराबन्दीमा सिरहाको सखुवानानकारकट्टी ५ स्थित दलित डोम बस्ती । तस्बिर : भरत । कान्तिपुर

बस्तीमा ५२ वर्षीया मिश्री मल्लिक डोम, राजेन्द्र, दिलिप र शम्भु सहित चार घरपरिवारको बसोबास छ ।

बस्तीको दक्षिणतर्फ तनुकलाल चौधरीको पोखरी, उत्तरपट्टि जगदीश साफीको धान खेत, पूर्वपट्टि वैजु यादव लगायतको घर र बगैंचा छ । साविक बाटो पूर्वपट्टि रहे पनि वैजु, सत्य, आवतजावत गर्ने बाटो नहुँदा घेराबन्दीमा सिरहाको सखुवानानकारकट्टी ५ स्थित दलित डोम बस्ती ।तस्बिर : भरतइन्दल लगायतले घर बनाएपछि बाटो बन्द भएको ५२ वर्षीया मिश्री मल्लिक डोमले बताए ।

Yamaha

‘पूर्वपट्टिको बाटो बन्द भएपछि हिउँदमा जगदीश साफीको खेतको आलीबाट हिँड्न थाल्यौं,’ उनले भने, ‘तर वर्षामा धान रोपेपछि त्यो आलीको बाटो समेत बन्द भएपछि अघोषित नाकाबन्दीमा परेका छौं ।’ धान खेतको आलीबाट हिँड्न साफीले रोक लगाएपछि डोम बस्ती समस्यामा परेको हो । वरपर अरूको जग्गाले घेरिएको बस्ती पुग्ने बाटो नहुँदा उनीहरूले गाउँपालिका र अधिकारवादी गुहारेका छन् । वर्षौंदेखि उपयोग गर्दै आएको बाटो समेत मिचेपछि नाकाबन्दीमा परेको उनीहरूले दु:खेसो गरे । जगदीश साफीले आफ्नो खेतमा बिजुलीको पोल गाड्न नदिँदा चार घरपरिवारको बस्तीमा सय मिटर परबाट तार तानेर बिजुली बालिएको छ। बाटो अभावमा बस्तीका बालबालिका विद्यालयै जानबाट वञ्चित छन् ।

गतवर्ष मंसिरमा दिलिपको छोरी निशाको बिहे भोजका लागि बनाएको टेन्ट समेत साफीले आफ्नो खेतबाट हटाउन लगाएका थिए । बस्तीसम्म पुग्ने बाटो नभएकै कारण एम्बुलेन्स नजाँदा श्याम मल्लिकको गर्भवती पत्नी बबितालाई बोकेरै अस्पताल पुर्‍याएका थिए ।

बाँसजन्य सामग्रीको बेचबिखन र सुंगुर बंगुर पालन गरी जीविकोपार्जन गर्ने दलित समुदायमा पनि अत्यन्त पिछडिएको डोम मेस्तर समुदाय उनीहरूले बाटो नभएकै कारण ती सामग्री बेचबिखन गर्न पाएका छैनन् । बस्तीमा कक्षा ८ सम्म पढेका सुनिल मल्लिक डोम मात्र छन् ।

सखुवानानकारकट्टी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष बैधनाथ यादवले पोखरी डिल छेउ ऐलानी जग्गामा बसोबास गर्दै आएका डोम दलित बस्तीमा पुग्न बाटोको समस्या भएको औंल्याए । ‘दक्षिणपट्टि पोखरीसहित वरिपरि व्यक्तिको निजी जग्गा रहेकाले पनि बाटोको समस्या छ,’ उनले भने, ‘बाटोका लागि पहल गर्छु ।’

सखुवानानकारकट्टी गाउँपालिकाका प्रमुख केदार यादवले बस्ती पुग्न बाटोको समस्या भएको बताउँदै हिँडडुलका लागि तत्काल बाटोको पहल भइरहेको जानकारी दिए । गत आर्थिक वर्षमा गाउँपालिकाभरि विभिन्न वडामा ५ वटा नयाँ सडक निर्माण गरिएको जानकरी दिँदै उनले डोम बस्तीमा पनि तत्काल बाटो निर्माणको पहल भइरहेको बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र १, २०७५ ०९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘बालविवाह–दाइजोविरुद्ध शून्य सहनशीलता’

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने
छोरीलाई भारका रूपमा लिँदा बालविवाहले प्रश्रय
बालविवाह र दाइजोले भ्रुणहत्यामा वृद्धि
कान्तिपुर संवाददाता

जनकपुर — बालविवाह र दाइजोलाई भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले दन्डकारी बनाएपछि त्यसलाई रोक्न र समाजमा सचेतना फिँजाउन जनप्रतिनीधि तयार भएका छन् ।

बालविवाह र दाइजो रोक्न आयोजित कार्यक्रमका सहभागी । तस्बिर : सन्तोष सिंह । कान्तिपुर

प्रदेशस्तरीय बालिका सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार जनकपुरमा आयोजना गरिएको जनप्रतिनिधिसँगको संवाद र पहल कार्यक्रममा प्रदेश २ का ८ जिल्लाकै स्थानीय जनप्रतिनिधिले बालविवाह र दाइजोविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिले बालविवाह र दाइजोको कुप्रथा रोक्न लिखित प्रतिबद्धता जनाए । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीले विवाहको उमेर कानुनमै २० वर्ष तोकिएपछि त्यो भन्दा कम उमेरमा विवाह गरे दण्डको भागिदार हुनुपर्ने बताए । ‘समाजमा विद्यामान बालविवाह कुप्रथा हो,’ उनले भने, ‘अभिभावकलाई बालविवाहका बारेमा कानुनी प्रावधानको ज्ञान हुनु आवश्यक छ ।’

सामाजिक विकास मन्त्रालयका सचिव भण्डारीेले बालविवाहबाट हुने नकारात्मक असरबारे समेत ज्ञान नहुँदा समाजमा विकृति झाँगिएको बताए । ‘मोबाइल फोनको दुरुपयोग र फेसबुकमा सम्पर्क भएर हुने गुपचुप विवाहले पनि बालविवाहलाई रोक्न सकिएको छैन,’ उनले भने । बालविवाहका कारण पढाइ बिग्रिने, भविष्य अनिश्चित हुने र अभिभावकलाई पीडा थपिने तथा कम उमेरमा गर्भवती हुँदा स्वास्थ्यमा असर पर्छ ।

सचिव भण्डारीले महिला–पुरुषको दाम्पत्य जीवनभन्दा विवाह बन्धनमा बाँध्ने बुझाइले पनि कम उमेरमा विवाह हुने गरेको बताए । छोरीलाई दायित्व र भारका रूपमा लिँदा पनि बालविवाहले प्रश्रय पाएको उनको भनाइ छ । ‘बालविवाहले शारीरिक र मानसिक दुबै असर गर्छ,’ उनले भने, ‘कलिलो उमेरमै बुढ्यौली देखिने र घरेलु हिंसा पनि बालविवाहले बढाउँछ ।’

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा. किरण रूपाखेतीले बालविवाह समाजका लागि घातक रहेकाले यसलाई रोक्न स्थानीय जनप्रतिनिधिको ठूलो भूमिका रहने बताए । उनले कानुनमा कडाइसँगै जनचेतना, गरिबी निवारण र समाजलाई उत्तरदायी बनाउनुपर्ने सुझाव दिए ।

भोरका अध्यक्ष राजकुमार महतोले प्रदेश २ को समाज बालविवाह र दाइजोले जकडिएको बताए । उनले बालविवाह र दाइजोका कारण बालिका शिक्षामा समस्या र भ्रुण हत्याको घटना बढेको बताए । कानुनी व्यवसायी सविन श्रेष्ठले भदौ १ गतेदेखि लागू हुने बालविवाह र दाइजोसम्बन्धी मुलुकी ऐनमा रहेको कानुनी प्रावधानबारे जानकारी दिए । उनले बालविवाह र दाइजो रोक्न स्थानीय जनप्रतिनिधिको भूमिका ठूलो हुने बताए ।

कार्यक्रममा सहभागी प्रदेश २ का ८ जिल्लाकै स्थानीय जनप्रतिनिधिले विवाह गर्नुअघि वडा कार्यालयमा जानकारी दिनुपर्ने प्रावधान राख्नुपर्ने बताए । जनकपुर वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्णले उमेर नपुगी विवाह गर्नेको विवाह दर्ता नगर्ने प्रावधान राख्नुपर्ने माग गरे । दाइजो रोक्नका लागि मालपोत कार्यालयमा श्रीमतीको नाममा जग्गा पास गर्दा दाइजोको पेवा भनेर उल्लेख गर्ने प्रावधान पनि हटाउनुपर्ने उनीहरूले माग गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उप–सचिव शान्ता मरासैनीले मुख्यमन्त्री बेटी बचाउ, बेटी पठाऔं योजनामा पनि बालविवाहलाई निरुस्तसाहित गर्ने कार्यक्रम समेटिएको जानकारी दिइन् । उनले बालिकालाई विद्यालयमै टिकाउन यो योजनाअन्तर्गत साइकल वितरण र छात्रवृत्तिको व्यवस्था गरिएको बताइन् ।

प्रकाशित : भाद्र १, २०७५ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT