कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमलेखगन्ज–मोतिहारी पाइपलाइन: पाँच हजार रूख काटिने

शंकर आचार्य

पर्सा — अमलेखगन्ज– रक्सौल–मोतिहारी निर्माणाधीन तेल पाइपलाइन परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका करिब ५ हजार रूख काट्नुपर्ने भएको छ । पथलैयादेखि आधाभार हुँदै अमलेगन्ज नेपाल आयल निगम डिपोसम्मै निकुञ्जको वन क्षेत्र रहेको छ ।

अमलेखगन्ज–मोतिहारी पाइपलाइन: पाँच हजार रूख काटिने

राजपथको पश्चिमतर्फ घना जंगल छ । निकुञ्जको यो वन क्षेत्रमा सालका रूखको प्रचुरता छ । वन्यजन्तुका दृष्टिले पनि संवेदनशील यो क्षेत्र निकुञ्जको रैथाने जंगली हात्तीको बासस्थान हो । हात्ती लगायत अन्य वन्यजन्तु यस क्षेत्रमा ओहोरदोहोर गरिरहन्छन् ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार विगतमा २३ हजार वटासम्म निकुञ्जको रूख काट्नुपर्ने प्रारम्भिक सर्भेले देखाएको थियो । त्यसलाई न्यूनीकरण गरी सक्दो कम काट्ने तयारी गरिएको छ । हाल रूख काटने अनुमतिको प्रक्रिया मन्त्रालय स्तरमा रहेको र आफूले पाएको जानकारीअनुसार त्यो प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए ।

वर्षाकै बीच पनि परियोजनाको काम भने जारी रहेको पौड्यालले बताए । नेपालतर्फ १७ किमिभन्दा केही बढी पाइप ओछ्याइसकिएको उनले जानकारी दिए । भारततर्फ नेपालभन्दा दु्रत गतिमा काम हँुदै गरेकाले त्यहाँ करिब २५ किमि पाइप ओछ्याइसकिएको छ ।

नेपालतर्फ वीरगन्जस्थित नेपाल–भारत सीमादेखि अमलेखगन्जस्थित आयल निगमको डिपोसम्म गरी ३६ किमि पाइप ओछ्याउनुपर्नेछ । हालसम्म पथलैया काँटादेखि सिमरा हुँदै जीतपुरसम्म, वीरगन्जको बाइपास क्षेत्रमा बढी काम भएको छ ।

वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा १ किमि, जीतपुर बजार, परवानीपुर बजार र पथलैया काँटादेखि उत्तर राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र हुँदै अमलेगन्जसम्म पाइप लाइनको काम पूर्णरूपले बाँकी छ । वर्षाले गर्दा काम सुस्त गतिमा भए पनि सन्तोषजनक रूपमै काम भएको उनले बताए । यो परियोजनाअन्तर्गत भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ सय किमि पाइप ओछ्याइँदै छ । यता रक्सौलदेखि अमलेखगन्जसम्म २६ दशमलव २ सय मिटर लामो पाइप लाइन ओछ्याइँदै छ । परियोजनाको लागत प्रति किमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले कुल लागत झन्डै ३ सय ५० करोड भारु हुनेछ ।

इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान उपलब्ध गराउने र वीरगन्जका केही स्थानमा मुआब्जा वितरणको काममा मात्रै खर्च गर्नेछ । यो परियोजनाअन्तर्गत फागुन २५ देखि पाइपलाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइपलाइन ओछ्याउने र वेल्डिङ गर्ने कामको ठेक्का भारत महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ । परियोजनामा भारत महाराष्ट्रको सिमलेश लिमिटेडले उत्पादन गरेको स्टिल पाइप प्रयोग गरिँदैछ । अमलेखगन्जस्थित आयल निगम डिपोमा ४ वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ ।

भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले यो काम गरिरहेको छ । पाइपबाट भारतबाट आउने इन्धन ती ओवरहेड ट्यांकीमा भण्डारण गरिनेछ । ३ हजार ९ सय किलोलिटर क्षमताको २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १/१ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदै छ, जसमा कुल १३ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?