कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक परिचालक आन्दोलित : मूल गेटमै धर्ना

जनकपुर — जागिर पुनर्बहालीको माग गर्दै आठ दिनदेखि आन्दोलनरत प्रदेश २ का सामाजिक परिचालकले सोमबार प्रदेश सरकारको कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरूले आफूहरूको समस्या छिट्टो टुंग्याउन दबाब दिएका हुन् ।

सामाजिक परिचालक आन्दोलित : मूल गेटमै धर्ना

मुख्य गेटकै भुइँमा पलेटी कसेर बसेका सामाजिक परिचालकहरूले आफूहरूको समस्या समाधानका लागि प्रदेश सरकारलाई आँखा खोल्न आग्रह गरे । नाराबाजी गर्दै धर्नामा बसेका उनीहरूले पुनर्बहालीको माग गरे ।

असार मसान्तबाट जागिर खोसिएपछि उनीहरूले स्थानीय निकायमा भर्ती गर्नुपर्ने मागसहित जनकपुरमा ८ दिनदेखि सडक आन्दोलन गरिरहेका छन् । सामाजिक परिचालक शम्भु शर्माले जागिरमा पुनर्बहाली नभएसम्म आन्दोलन जारी रहने बताए । उनले प्रदेश सरकारले पनि आफूहरूको माग सम्बोधन गर्ने छाँट नदेखाएकोमा दु:ख व्यक्त गरे ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असारदेखि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) बन्द गरेपछि सामाजिक परिचालक जागिरविहीन भएका हुन् । उनीहरू पुन:स्थापनाको माग गर्दै आन्दोलित भएका छन् । स्थानीय तहमा जनप्रतिनिधि आइसकेका कारण २०७४ पुस १३ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयअनुसार पुस १७ गतेबाट कार्यक्रम बन्द गरिएको थियो ।

तर, सामाजिक परिचालकहरूले मन्त्रालयको निर्णयको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले पुन: २०७४ चैत १६ गतेदेखि स्थानीय तहको वडा कार्यालयमा कार्यालय सहायकको काम गर्ने गराउने गरी २०७५ असारसम्म नियुक्ति दिएको थियो । असार मसान्तमा सामाजिक परिचालकहरूको जागिर सकिएपछि उनीहरूले पुन: आन्दोलनमा उत्रिएका हुन् ।

एलजीसीडीपी फेजआउट भएपछि रोजिरोटी नै खोसिएको भन्दै सामाजिक परिचालकहरूले आन्दोलन थालेका हुन् । उनीहरूले योग्यताका आधारमा स्थानीय तहमा रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग समेत गरेका छन् । त्यसमा पनि उमेर हद नलाग्ने गरी समायोजन गरिनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?