कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दीका खेलौनाले बजार पाएन

शंकर आचार्य

पर्सा — वीरगन्ज कारागारका महिला कैदीबन्दीले बनाएका खेलौनालाई बजारको समस्या भएको छ । २ महिनायता कारागारमै बसेर आकर्षक खेलौना बनाइरहे पनि खेलौना बिक्री नहँुदा उनीहरूको उत्साह घटेको छ ।

बन्दीका खेलौनाले बजार पाएन

५ महिनादेखि पुर्पक्षका लागि वीरगन्ज कारागारमा बस्दै आएकी २५ वर्षीया प्रियंका चौरसिया फुर्सदिली थिइन् । उनलाई समय काटन गाह्रो हुन्थ्यो । तर कारागारमै खेलौना बनाउने सीप सिक्न पाएपछि उनलाई समय काटन सजिलो भएको थियो ।

कारागार प्रशासनले जिल्ला घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय गरेर कारागारका २६ महिला कैदीबन्दीलाई विभिन्नखाले खेलौना बनाउने तालिम दिएको थियो । २ महिनायता उनीहरू विभिन्न जनावरका आकर्षक खेलौना बनाउन सक्ने भएका छन् ।

‘कारागारमै बसेर पनि एउटा आयमूलक सीप जान्ने अवसर मिल्यो,’ प्रियंकाले भनिन्, ‘यो सीप जीवनभरि काम लाग्छ ।’ हाल भने आफूहरूले बनाएको खेलौनाले सोचे जस्तो बजार पाउन समस्या भएकाले आफूहरू हतोत्साही हुन थालेको उनले बताइन् ।

४२ वर्षीया अर्की कैदी सुगान्धी देवी पनि नयाँ सीपसँगै आएको स्वरोजगारीको अवसरले हौसिएकी थिइन् । उनीहरूले बनाएका खेलौनाको मूल्य २ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म छ । तर आफूहरूले बनाएको खेलौना बेच्न गाह्रो भएको उनले बताइन् । सुरुमा आफूहरूले बनाएको २ दर्जनभन्दा बढी खेलौना पुरुष कैदीबन्दी र कारागारकै कर्मचारीले मनपराएर खरिद गरे । त्यसपछि बिक्री गर्न धौधौ भएको उनले बताइन् ।

कारागार कार्यालयका सूचना अधिकृत गणेश भण्डारीले फुर्सदिला हुने महिला कैदीबन्दीलाई समय काटन सहज होस् र कारागारमै बसेर उनीहरूले केही अर्थोपार्जन गर्न सकून् भन्ने सोचले यो प्रयास गरिए पनि बजारको समस्या रहेको भने उनले पनि स्वीकारे । ‘महिला कैदीबन्दीले बनाएको खेलौना गुणस्तरीय मात्र नभई सस्तो पनि छ, यसले बजारमा हाल बिक्री हुने अन्य खेलौनालाई प्रतिस्पर्धा दिने निश्चित छ,’ उनले भने, ‘तर उत्पादित खेलौनालाई कसरी बजारसम्म लग्ने भनी समस्या भएको छ ।’

आफूहरूले कार्यालय स्तरबाट बजारीकरण गर्न नमिल्ने भएकाले महिलाको सीप विकास तथा उत्थानको क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरूले महिला कैदीबन्दीहरूको मर्का बुझेर यसमा सहजीकरण गरिदिए ठूलो सहयोग हुने उनले बताए ।

प्रकाशित : भाद्र ७, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?