कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोही किसानद्वारा धर्ना

महोत्तरी — भूमि अधिकार मञ्च बर्दिवासले मोही कृषकको समस्याप्रति सरकार उदासीन भएको भन्दै मंगलबार जलेश्वरस्थित भूमिसुधार कार्यालयमा धर्ना दियो ।

मोही किसानद्वारा धर्ना

जिल्लाका ५ सयभन्दा बढी मोही किसानले मूल गेट घेरेर २ घण्टा धर्ना दिएकाले आन्दोलन अवधिभर कार्यालयको कामकाज ठप्प भएको थियो ।

धर्नाका क्रममा उनीहरूले सुकुम्बासी र मोही समस्या सम्बोधनका लागि नारासमेत लगाए । भूमि अधिकार मञ्च केन्द्रीय सदस्य तथा प्रदेश २ का अध्यक्ष फौदसिंह स्याङ्बाको नेतृत्वमा भूमिसुधार कार्यालय पुगेका आन्दोलनकारीले धर्नाअघि ५ सूत्रीय मागसहित ज्ञापनपत्र बुभाएका थिए ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सम्बोधन गरिएको ज्ञापनमा आगामी ०७६ भदौ ४ गतेसम्म मोहीलाई जग्गा बाँडफाँटको फैसला गरिसक्नुपर्ने, जग्गा बाँडफाँटका लागि प्रमाणसहित निवेदन पेस गरेका मोहीलाई कानुनी दाउपेच लगाएर सताउने काम बन्द गर्नुपर्ने, मोही जग्गा बाँडफाँटका लागि निवेदन दिने अवधि पुन: एक वर्ष थप गर्नुपर्ने लगायत माग छन् ।

कानुनले ०५२ सालसम्मका मोहीलाई आधा जग्गाको मालिक बनाउने व्यवस्था गरे पनि कानुनी दाउपेच तेस्र्याएर थकाउने, मोहीलाई पटकपटक साधारण तारेख दिएर कानुनले दिएको अधिकारबाट वञ्चित गर्नेजस्ता नियोजित घटना बढेकाले राज्यको ध्यानाकर्षण गराउन भूमिसुधार कार्यालय पुगेको स्याङ्बाले बताए । उनले मोही र सुकुम्बासी समस्या समाधान नगरेसम्म सन् २०३० सम्म मुलुकमा गरिबी र भोक अन्त्य गरी दिगो विकास र समृद्ध नेपाल बनाउने सरकारको लक्ष्य पूरा हुन नसक्ने धारणा राख्दै मागप्रति गम्भीर हुन आग्रह गरे ।

‘आफ्नो हकका लागि मोहीले ३० वर्षसम्म तारेख खेप्नुपर्ने घटना बढ्दै गएका छन्,’ धर्नालाई सम्बोधन गर्दै स्याङ्बाले भने, ‘यसबाट आजित भएका मोहीलाई जग्गाको साटो धेरथोर रकम दिएर मोही कट्टा गर्न बाध्य पारिएको छ अनि कसरी बन्छ समृद्ध नेपाल ?’

भूमि अधिकार मञ्चका अनुसार प्रदेश २ मा मोही जोताहाको संख्या १ लाख ४४ हजार ६ सय ९२ छ । यसमध्ये महोत्तरीमा ९ हजार ६ सय ९२, सर्लाहीमा ३० हजार, रौतहटमा ३५ हजार, धनुषामा २० हजार, सिरहामा १७ हजार, सप्तरीमा २२ हाजर, पर्सामा ७ हजार र बारामा ४ हजार मोही जोताहा छन् ।

यी जोताहा हालसम्म अधिकारबाट वञ्चित रहेकाले पटकपटक आन्दोलनमा उत्रनुपरेको स्याङ्बाले जनाए ।

प्रकाशित : भाद्र ७, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?