कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिथिलाञ्चलमा रक्षाबन्धनको रौनक

सन्तोष सिंह

जनकपुर — जनकपुरको जानकी मन्दिर परिसर रक्षबन्धनका गीतले शनिबार बिहानैदेखि गुन्जायमान बनेको छ । भाइ–बहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने रक्षाबन्धन यस वर्ष आइतबार परेकाले मिथिला क्षेत्रमा रौनक छाएको हो ।

मिथिलाञ्चलमा रक्षाबन्धनको रौनक

श्रावण शुक्लपक्ष सुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँ घरमा भाइ बहिनी बीचको गाढा प्रेम दर्शाउने रक्षाबन्धनका गीत गुञ्जिन थालेका थिए । मिथिला क्षेत्रमा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । भाइ–बहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व मिथिलाञ्चल क्षेत्रको सांस्कृतिक पर्व हो ।

ग्राहकको रोजाइमा परेका राखीको डिजाइनको माग र त्यसको आपूर्ति बजारमा व्यापारीलाई भ्याइ नभ्याइ भएको छ । पर्वको पूर्वसन्ध्यामा रक्षाबन्धनका जनकपुरको बजार राखीले ढाकिएको छ ।

रक्षा बन्धनमा दिदी–बहिनीले राखी बाँधेर दाजु–भाइलाई मिष्ठान भोजन खुवाउने चलन छ । दाजु–भाइले दिदी–बहिनीलाई उपहार दिने परम्परा छ । राखीका लागि दाजुभाइ कार्यरत क्षेत्रबाट घर फर्किने गर्छन । दाजुभाइ राखी बाँध्न पुग्ने गर्नाले चेली र माइती पक्षबीच रक्षाबन्धनले सम्बन्ध सुधारमा समेत विशिष्ट भूमिका निर्वाह गर्छ ।

सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा राखी बाँधिदिएको र युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन रक्षबन्धन बना बनाइन्छ । दिदी–बहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।

श्रावण शुक्लपक्ष पूर्णिमाका दिन ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधीदिने परम्परा पनि छ । तर, मिथिलाञ्चलमा भने मुख्य आकर्षण चाहि दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ ।

यता, प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले रक्षाबन्धनको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै आइतबार सार्वजनिक बिदा दिएको घोषणा गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको विज्ञप्तिमा रक्षाबन्धनको दिन आइतबार प्रदेश २ मा सार्वजनिक बिदा रहेको उल्लेख छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?