कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले जान्छ मुसहरका ‘दशा’ ?

‘घरमा पानी जमेको थियो, गाउँबाट निस्कने बाटो पनि पानी नै पानीले भरिएको थियो, एक्लै छोरालाई अस्पतालसम्म पुर्‍याउन सकिनँ, हातमा पैसा पनि नहुँदा छोराले समयमा उपचार पाउन नसकेर ज्यान गुमाउनुपर्‍यो’
अबधेशकुमार झा

राजविराज — बस्तीमा चारैतिर बाढीको पानी । त्यही बेला खर्च अभावमा समयमै उपचार नपाउँदा तिलाठी कोइलाडी गाउँपालिका ४ का ५ वर्षीय कमलु सदाको मृत्यु भयो । कमलुलाई पानीमै सद्गत गरिएको फोटो भाइरल बन्यो त्यतिबेला ।

कहिले जान्छ मुसहरका ‘दशा’ ?

दुई छाक हातमुख जोड्न बुबा फुदन सदा धरानमा मजदुरी गरिरहेका बेला कमलुको मृत्यु भयो ।

‘घरमा पानी जमेको थियो, गाउँबाट निस्कने बाटो पनि पानी नै पानीले भरिएको थियो, एक्लै छोरालाई अस्पतालसम्म पुर्‍याउन सकिनँ,’ फुदनकी पत्नी बिमलीले त्यो दिन सम्झँदै भनिन्, ‘हातमा पैसा पनि नहुँदा छोराले समयमा उपचार पाउन नसकेर ज्यान गुमाउनुपर्‍यो ।’

पानीमा कमलुको सद्गत गरेको तस्बिर सार्वजनिक भएपछि बिमली र फुदनले धेरै ठाउँबाट आर्थिक सहयोग पाए । ‘छोरो मरेपछि सहयोग आयो, के गर्ने ?’ फुदनले निराशा पोखे, ‘आर्थिक सहयोग परिवार पाल्नलाई होला, तर मेरो छोरा त फर्किआउँदैनन् नि ।’

तिलाठी कोइलाडी ८ का सकुन्ता सदाको पनि दु:खकै कथा छ । सुरुका दिन उनले परिवारसित हाँसीखुसी जीवन बिताइरहेका थिए । तर छोराछोरी हुर्कंदै गएपछि उनलाई परिवार पाल्न आर्थिक समस्या पर्‍यो । गाउँमै मजदुरी गरेर परिवार पाल्न सकिने अवस्था उनले देखेनन् । सकुन्ता मजदुरी खोज्दै भारतको पञ्जाब पुगे । केही पैसा घर पठाए पनि । तर काम गरिरहेको कम्पनीमा मेसिनमा परेर हात गयो । सोही कारण उनको मृत्यु भयो । अहिले उनको परिवारलाई दुई छाक टार्न धौधौ छ ।

तिलाठी कोइलाडी ८ तोपाका बमभोली सदा ५० वर्षका भए । उनका बुबा बेचन सदाको जवानी र बूढेसकाल गाउँकै हुनेखाने व्यक्तिको घरमा नोकरी गर्दै बित्यो । पाँच वर्षअघि काम गर्दागर्दै उनी बिते । उनको जीवनमा दु:खबाहेक केही आएन ।

बेचनका पाँच छोराहरू बमभोली, सकुन्ता, हरि, जिलेबी र महेन्द्र सदा सबै मजदुरी र साहुको घरमा काम गर्दै आएका छन् । बमभोलीका छोरा पनि ट्रयाक्टरमा मजदुरी गरिरहेका छन् । सदा परिवारमा पढेलेखेका कोही पनि छैनन् । ‘हामी त पुस्तौंदेखि अरूको घरमा नोकरी गर्दै आएका छौं, जसोतसो खान पुगेको छ,’ बमभोलीले भने, ‘गरिबका गरिब नै रह्यौं ।’

तोपाका ८० वर्षे दुलार सदा जीवनकै उतराद्र्धमा छन् । उनका बुबा पाचु र हजुरबुबा फागु सदा पनि गाउँमै नोकरको काम गर्थे । दुलारले पनि वृद्ध अवस्थामा पुग्नुअघि त्यही कार्यसँगै माटो काट्ने काम गरे ।

‘हाम्रो परिवारको अवस्थामा मेरो हजुरबुबाको पालादेखि अहिले मेरो नातिको पालासम्म कुनै भिन्नता छैन्, दिनभरि कमायो, राति खायो फेरि बिहान उस्तै ।’

कोही नोकरको काम गरिरहेका छन् त कोही रिक्सा चलाउँछन्, कोही ट्रयाक्टरमा काम गर्छन्, कोही मजदुरी । यी परिवार अधिकांश सुकुम्बासी छन् । केही अरूको जग्गामा घर बनाएर या कोही ऐलानीमा बसेका छन् । कोसी नहरको डिलमा बसोबास गरिरहेका पनि छन् ।

तराई मधेसमा बसोबास गर्दै आएका भूमि र प्रकृति पूजक मुसहर समुदायको अवस्था सधैं एकैनासको छ । केही परिवारबाहेक अधिकांश परिवारमा बिहान खाँदा बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या अझै छ । मजदुरी गर्ने परिवारमा केही भएर एक दिन काममा नगए वा काम नलागे परिवार भोकै बस्नुपर्ने पीडा रहेको बमभोली सदा बताउँछन् ।

यी समुदायका बालबालिका अझै विद्यालय जाँदैनन् । आर्थिक अभावमा माथिल्लो स्तरसम्म पढाउन नसक्दा तल्लो कक्षाबाटै पढाइ छोड्न बाध्य हुने गरेका छन् ।

पछिल्लो समय विद्यालय पठाउने दरमा वृद्धि भए पनि अझै यो समुदायका धेरै बालबालिका विद्यालय बाहिर छन् । जनता माध्यमिक विद्यालय तोपाको व्यवस्थापन समिति सदस्यसमेत रहेकी दसनीदेवी सदाले शिक्षामा पछि परेकाले मुसहर समुदायले दु:ख पाएको बताइन् । उनका अनुसार बाबुआमाले छोराछोरीलाई घरमै राख्ने, विद्यालय नपठाइदिने गरेका कारण समुदायको शैक्षिक उन्नति हुन नसकेको हो । टोलटोल र घरघर गएर आग्रह गर्ने गरिए पनि धेरै अभिभावकले सानैमा काममा लगाउने गरेकाले विद्यालय नपठाइदिने गरेको उनले बताइन् ।

समस्यै–समस्या
मुसहर समुदायको माटोसँगको सम्बन्ध अटुट छ । पहिले यो समुदायले माटो काट्ने काम गथ्र्यो । शिक्षा र चेतना अभाव, राजनीतिक तहसम्मको पहुँचशून्यताका कारण समुदायले वर्षौंसम्म त्यही कामलाई नै अँगालिरह्यो । तर उनीहरूका समस्या र पीडा समाधान गर्न कसैले चासो दिएको छैन ।

‘चुनावका बेला त भोट माग्न आउने नेताले धेरै लम्बाचौडा भाषण गरेर जान्छन् तर हाम्रो समुदायको अवस्था उकास्नेतर्फ फर्केर कोही आउँदैनन्,’ तोपा मुसहर टोलका अगुवा देवन सदाले भने । समुदायको मूल समस्याकै रूपमा भूमि रहेको छ । आफ्नो जग्गा नहुँदा राज्यबाट प्रदान गरिने धेरै सेवा सुविधाबाट वञ्चित हुनुपरेको स्थानीय बुलन सदाको भनाइ छ ।

बेरोजगारी समस्याले पनि नराम्ररी गाँजेको छ यो समुदायलाई । शिक्षाको कमीका कारण मजदुरी नै एक मात्र सहारा रहे पनि परिवार पाल्न मुस्किल हुने र सोचेजस्तो रोजगारी पनि नपाइने भएकाले बेरोजगारी समस्या बढदै गएको स्थानीय नथुनी सदाले बताए । सीमित संख्यामा वैदेशिक रोजगारीमा पनि गएका छन् ।

तर कमाएर ल्याएको पैसा पनि उत्पादनमूलक क्षेत्रभन्दा विलासिताको सामान खरिदमै लगाउने गरेका कारण आर्थिक अवस्था उस्तै रहने गरेको छ । मुसहर बस्तीका अधिकांश बालबालिकाको जीउमा लुगा कमै देखिन्छ । आर्थिक विपन्नताले बालबालिकालाई शरीर ढाक्ने कपडासमेत पर्याप्त रूपमा दिन सक्ने अवस्थामा छैनन् अधिकांश मुसहरहरू ।

तिलाठी कोइलाडी ८ की निर्वाचित दलित महिला सदस्य मानतीदेवी सदाका अनुसार मुसहर समुदायलाई दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्ने र चुनाव सकिएपछि बिर्सिदिने गरेका छन् । समुदायबाट राजनीतिमा सबभन्दा उचाइको पदमा पुगेका छन् सप्तरीका असर्फी सदा । जनमोर्चा नेपाल हुँदै तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका असर्फी अन्तरिम कालमा माओवादीबाट समानुपातिक सभासद बनेका थिए । उनी अहिले नेकपाका नेता हुन् । असर्फीबाहेक राजनीतिमा यो समुदायका कोही पनि व्यक्ति अगाडि बढ्न सकेका छैनन् ।

कुपोषण र मृत्युदर पनि उच्च छ मुसहर समुदायमा । पूर्वसभासद असर्फी सदाका अनुसार आर्थिक विपन्नताका कारण पोषणयुक्त खाना खान नसक्दा यो समुदायका बालबालिका कुपोषित हुने क्रम बढिरहेको छ ।

‘अपवादका रूपमा कोहीकोही सेना प्रहरीमा छन्,’ पूर्वसभासद सदाले भने, ‘अवसर पनि पाएका छैनन्, पहुँच पनि सहज छैन ।’ उनले दलितका लागि छुट्याइने कोटामा पनि टाठाबाठा दलितकै दबदबा रहने गरेका कारण पहुँच र पैरवीे अभावमा मुसहर समुदाय सेना प्रहरीसहितका सरकारी नोकरीमा जानबाट वञ्चित हुने गरेको बताए ।

‘राज्यले हेरेन’
‘राज्यले अहिलेसम्म मुसहर समुदायको उत्थानका लागि कुनै कार्यक्रम ल्याएको मेरो जानकारीमा छैन,’ पूर्वसभासद अर्सफीले भने, ‘राज्यले मुसहर समुदायको जीवनशैलीसित मेल खाने स्पष्ट नीति र कार्यक्रम ल्याउन सके मात्र यो समुदायको उत्थान सम्भव छ ।’ मुसहर समुदाय कृषि कर्ममा दक्ष रहेकाले कृषिसित जोडिएका विषयवस्तुको सीपमूलक तालिम दिई अनुदानको व्यवस्था गरी कृषि कर्ममा लगाउन सके धेरै हदसम्म जीवनस्तर माथि उठ्ने सम्भावना रहेको उनले सुनाए । ‘कृषि कर्म, दूध उत्पादन र पशुपालनजस्ता मुसहरको जीवनशैलीसित मेल खाने व्यवसायमा दक्ष बनाई लगाउन सकिए परिवर्तन सम्भव छ,’ सदाले भने ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको विचारमा मुसहर समुदायमा शैक्षिक चेतनास्तर वृद्धि गर्न सकिए मात्र उनीहरूको जीवनशैलीमा सुधार ल्याउन सकिन्छ । ‘मिहिनेती जात हुन्, कमाउनमा पनि पछि पर्दैनन् तर शैक्षिक चेतना अभावमा जीवनशैली फेरिन सकेको छैन,’ अध्यक्ष सिंहले भने । उनले तिलाठी कोइलाडीमा केही दिनअघि मात्र शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना भएको घोषणा भइसकेको अवस्थामा मुसहर बालबालिकालाई कसरी टिकाउने भन्ने कार्यक्रम ल्याउने बताए ।

अध्यक्ष सिंहले मुसहरको जीवनशैली र उनीहरूको जाति संस्कारअनुसारको पेसा व्यवसायका लागि आफ्नो गाउँपालिकाले आवश्यक सीप दिने तयारी गरेको सुनाए । मजदुरी गर्नेबाहेक माछा मार्ने, मंसिर महिनामा मुसाको दुलो खोज्दै मुसा मारेर मासुको स्वाद चाख्ने कार्यमा लाग्न अझै पनि यो समुदाय बाध्य छ ।

‘अन्यत्र रोजगार पाउन मुस्किल भएपछि यस्ता पुरानो परम्परा अंगीकार गर्न मुसहर समुदाय बाध्य छन्,’ स्थानीय भुलन सदाले भने, ‘छोराछोरीले पढ्न सकेनन् अहिले मजदुरीबाहेक माछा मार्ने र मुसा खोज्नुबाहेकको विकल्प नै छैनन् ।’ मुसहर समुदायका महिलाहरू पनि अर्काको खेतमा बनिबुतो गर्दै आएका छन् ।

सप्तरी, सिरहा, धनुषा र मोरङमा मुख्य बसोबास रहेको यो समुदायको कुल जनसंख्या ०६८ सालको राष्ट्रिय जनगणनाअनुसार २ लाख ३४ हजार ४ सय ९० छ । जसमध्ये सहरी क्षेत्रमा ११ हजार ६५ र ग्रामीण क्षेत्रमा २ लाख २३ हजार ४ सय २५ मुसहरको बसोबास छ ।

राष्ट्रिय मुसहर उथ्थान समाजका मोरङ अध्यक्ष जितेन्द्र ऋषिदेवका अनुसार मुसहर समुदायको जनसंख्या १२ लाख ५० लाखको हाराहारीमा रहे पनि जनगणनाका बेला तथ्यांक कम देखिएको छ । उनले सदा र ऋषिदेवलाई मात्र मुसहर समुदायमा गणना गरेकाले आफूहरूको जनसंख्याको पूर्ण तथ्यांक नआएको बताउँछन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?