कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमा भेटिँदैनन् चिकित्सक

मध्य मधेसको एकमात्र उपक्षेत्रीय अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीबाट दैनिक करिब १ हजार बिरामी आउँछन्
भुषण यादव

वीरगन्ज — बारा फेटा गाउँपालिका फेटा टोल निवासी खैराती मियाँ सोमबार बिहान करिब १० बजे वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल पुगे ।

अस्पतालमा भेटिँदैनन् चिकित्सक

वीरगन्जभन्दा करिब २० किमिको दूरीमा रहेको आफ्नो गाउँबाट मियाँ १३ वर्षीय छोरो इन्ताज आलमलाई साइकलमा बसाएर उपचार गराउन उपक्षेत्रीय अस्पताल पुगेका हुन् ।

पेट दुख्ने, मुख सुनिने रोगबाट पीडित छोराका उपचारका लागि उनले ओपीडीको टिकट लिएर बालरोग चिकित्सकलाई देखाए । चिकित्सकले पेटको ‘अल्ट्रासाउन्ड’ गराउन सिफारिस गरे । ६ सय रुपैयाँ शुल्क बुझाएर उनले छोराको अल्ट्रासाउन्ड समेत गराए । त्यसबेलासम्म करिब १२ बजेको थियो । अल्ट्रासाउन्ड रिपोर्ट लिएर पुन त्यही चिकित्सकको कोठामा पुग्दा त्यहाँ कोही थिएनन् । चिकित्सक हिँडिसकेका रहेछन् । त्यसपछि उनी एक हातमा अल्ट्रासाउन्ड रिपोर्ट र अर्को हातले छोरालाई डोर्‍याउँदै चिकित्सक खोज्न थाले ।

ड्युटी अफ भएपछि चिकित्सकहरू बस्ने हलमा पुग्दा पनि उनले ती चिकित्सक फेला पारेनन् ।
झन्डै एक बजेको समयमा अस्पतालको प्रशासनिक भवनको दोस्रो तल्लामा रहेको मेडिकल सुपीरटेन्डेन्ट (मेसु) को कार्यकक्षमा उनी असिनपसिन गर्दै प्रवेश गरे । मेसुलाई रिपोर्ट देखाउँदै उनले आफ्नो समस्या सुनाए । ‘छोरो २ दिनदेखि खाएको छैन्, डाक्टर साहेब कहाँ हुनुहुन्छ,’ मियाँले मेसुलाई प्रश्न गर्दै भने, ‘एक घण्टादेखि खोजिरहेको छुँ ।’ मेसु डा. एनामुल हकले तत्काल कार्यालय सहयोगीलाई बोलाएर डाक्टर बस्ने हलमा लिएर जान निर्देशन दिए ।

डाक्टर नभेटिएपछि करिब १५ मिनेटमा मियाँ र कार्यालय सहयोगी मेसुको कार्यकक्षमा फर्किए । त्यही बेला मेसुले ड्युटीमा रहेका चिकित्सकलाई फोन गरे । कम्तीमा पनि २ बजेसम्म त अस्पतालमा बसिदिनुस् भनी आग्रह गरे । तर, उताबाट जवाफ आयो, ‘ममात्र बसेर के हुन्छ, कोही डाक्टर त बस्दैनन्, अरूलाई पनि भन्नुस् ।’ मेसुले फोन गर्दा ती डाक्टर क्लिनिक गइसकेका थिए ।

ती डाक्टर नआएपछि मेसु आफैंले इन्ताजको रिपोर्ट हेरी भर्ना गरे । त्यही क्रममा रौतहट इशनाथ नगरपालिका औरही निवासी हफिज खान आइपुगे । १० दिन अगाडि पशुले पछाडिबाट हिर्काउँदा उनको दाहिने खुट्टा फुलेको रहेछ । हिँडदा दुखिरहन्छ । ‘बिहान ओपीडीका डाक्टरलाई चेक गराउँदा एक्स–रे गर्न भनेका थिए,’ मेसुलाई उनले भने, ‘अहिले एक्सरे वार्डमा जाँदा एक्स–रै नै गर्दैनौं भन्छन् ।’ मेसुले तत्काल त्यहाँका स्टाफलाई फोन गरी हफिजलाई एक्सरे वार्डमा पठाए ।

लामो समयदेखि उपक्षेत्रीय अस्पतालमा सरकारले निर्धारण गरेको समयसम्म चिकित्सक बस्दैनन् । कर्मचारीले काम गर्न अटेर गर्दै आएका छन् । बिहान ९ बजेदेखि २ बजेसम्म अस्पतालको ओपीडी (बहिरङ सेवा) सञ्चालन गर्नुपर्ने भनिए पनि चिकित्सकहरू साढे १० बजेतिर आउँछन् । अनि १२ बजे ओपीडी छाडेर अस्पतालको मिटिङ हलमा गएर बस्छन् । त्यहाँ चिया गफ गरी साढे १२ बजेसम्म अधिकांश चिकित्सक अस्पतालबाट बाहिरिई सकेका हुन्छन् ।

यही भदौ एक गतेदेखि अस्पताल प्रशासनले इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गरेको छ । ‘९ बजे हाजिरी गर्न आएर चिकित्सक फेरि फर्किन्छन्,’ प्रशासन फाँटका एक अधिकृतले भने, ‘अस्पतालमा साढे १० बजेतिर फेरि आउँछन् ।’ मेसु हकले केही दिनमै फर्किने हाजिरीको पनि व्यवस्था गर्न लागिएको जनाए । ‘निर्धारित समयसम्म अस्पतालमा बसिदिन पटकपटक आग्रह गरिएको छ,’ मेसुले भने, ‘केहीले मानेका पनि छन्, अधिकांशले टेर्दैनन् ।’

उपक्षेत्रीय अस्पताल सुधारका लागि लामो समयदेखि सक्रिय रहेका राजपाका नेता नेजामुद्दिन सेमानीले चिकित्सकले आफ्नो जिम्मेवारी नबुझिदिँदा बिरामीले सास्ती पाएको गुनासो गरे । मध्य मधेसको एकमात्र उपक्षेत्रीय अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीबाट दैनिक करिब १ हजार बिरामी आउँछन् ।

अस्पतालमा चिकित्सक नबस्दा बाध्य भएर निजी क्लिनिकमा बिरामी जान बाध्य बनेका छन् । ‘सरकारी नियमअनुसार २ बजेसम्म उपक्षेत्रीय अस्पतालको ओपीडी सञ्चालन हुनुपर्छ,’ वीरगन्ज मुर्ली बगैंचाका रामपुकार कुशवाहाले भने, ‘तर, एक नबज्दै विर्तामा रहेको डाक्टरहरूको क्लिनिकमा बिरामी लाइन लागिसकेका हुन्छन् ।’ अस्पताल प्रशासनले पटकपटक चिकित्सकहरूलाई तोकिएको समय अविधसम्म ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरे पनि सुनुवाइ भएको छैन् ।

चिकित्सकहरूले निर्धारित समयसम्म ओपीडीमा बस्ने लिखित प्रतिबद्धता अस्पताल प्रशासनलाई जनाएका छन् । सेवाभन्दा पनि चिकित्सा क्षेत्रलाई केही डाक्टरले व्यापार बनाएकाले सरकारी संस्था धराशायी बन्दै गएको कुशवाहाले गुनासो गरे ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?