कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको सम्बोधनमा घोचपेच

जनकपुर — प्रधानमन्त्री केपी ओलीले भदौ २ गते प्रदेशसभामा गरेको सम्बोधनलाई लिएर सत्तापक्ष र विपक्षी सांसदबीच घोचपेच भएको छ ।

प्रधानमन्त्रीको सम्बोधनमा घोचपेच

प्रदेशसभाको बैठकमा सत्तापक्ष राष्ट्रिय जनता पार्टीका सांसदहरूले प्रधानमन्त्री ओलीको सम्बोधनको विपक्षमा उभिए भने विपक्षी नेकपाका सांसदले उनको सम्बोधनको बचाउ गरे ।

प्रदेश २ को प्रदेशसभाको शनिबार बसेको बैठकको प्रारम्भमै राजपाका सांसद उपेन्द्र महतोले बोल्ने समय मागेका थिए । सभामुख सरोजकुमार यादवले सहमति दिएपछि सांसद महतोले प्रधानमन्त्री ओली मधेसको समस्या समाधान नगरेर प्रदेशसभामा सम्बोधन गर्न आएकाले आफूले बहिष्कार गरेको बताए ।

‘प्रधानमन्त्रीजीले मधेसको समस्या थाँती राखेर प्रदेशसभामा बोल्न आउनुभयो, सांसद महतोले भने, ‘संविधान संशोधन, मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, घाइतेलाई उपचार र झूटो मुद्दा फिर्ता नलिएर ओलीजी मधेसलाई फकाउन सक्नुहुन्न ।’
प्रदेशसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद मञ्जुकुमारी यादवले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने सांसदलाई कार्वाहीको माग गरेकी थिइन् ।

भदौ २ गते प्रदेशसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दा राजपाका ३ सांसदले बैठक बहिष्कार गरेको थियो । ‘मधेसलाई सधैं नराम्रो भाषा प्रयोग गर्ने, आन्दोलनका क्रममा मान्छे मर्दा २–३ वटा आँप झर्दैमा केही हुन्न भन्ने, मानवसाङ्लोलाई माखोसाङलो भन्नेलाई हामीले सम्मान गर्न सक्दैनौं,’ सांसद महतोले भने ।

प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार गरेका राजपाकै अर्का सांसद बिक्की यादवले मधेस आन्दोलन र मधेसी समुदायप्रति ओली असहिष्णु रहेकाले प्रदेशसभामा उनको सम्बोधन बहिष्कार गरेको दाबी गरे । ‘प्रधानमन्त्री ओलीले मधेसको कहिल्यै पनि सम्मान गर्नु भएन, त्यसैले हामीले पनि उहाँलाई प्रदेशसभामा सम्मान गर्न चाहेनौं,’ सांसद यादवले भने, ‘मधेस आन्दोलनका क्रममा भएको नरसंहारको छानबिन हुनुपर्छ ।’

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निमन्त्रणामा र प्रदेशसभा सचिवालयको व्यवस्थापनमा प्रधानमन्त्री ओली यहाँ सम्बोधन गर्न आएकाले उनको विरोधमा बोलिएको आवाज रेकर्डबाट हटाउन नेकपाका सांसदहरूले माग गरे । नेकपाका प्रदेशसभा सदस्य गोबिन्दबहादुर न्यौपानेले संसदीय परम्पराअनुसार नै प्रधानमन्त्री ओलीले प्रदेशसभामा सम्बोधन गरेकाले उनको विरोधमा बोलिएको भ्वाइस रेकर्डबाट हटाउन सभामुखसँग माग गरे ।


‘प्रदेशसभाको गरिमा र सभामुखलाई चुनौती दिनेगरी राजपाका सांसदले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ,’ उनले भने, ‘प्रदेशसभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्नु सबैका लागि खुसीको कुरा हो ।’ उनले अरू नै प्रसंगमा ओलीले बोलेको कुरालाई मधेस आन्दोलनसँग जोडेर प्रचार गरिएकोमा आपत्ति जनाए । ‘माखेसाङलो भनेको नेपालीमा गाँठो पर्दै जानुलाई भनिन्छ,’ सांसद न्यौपानेले भने, ‘ओलीले राजनीति विषयमा धेरै गाँठो पार्नु हुन्न, बरु गाँठो फुकाउनुपर्छ सन्दर्भमा माखेसाङलो भन्नुभएको हो । मानवसाड्लोलाई भनेको होइन ।’

मधेस आन्दोलनको क्रममा हुलाकी राजमार्गमा निकालिएको मानवसाङ्लोलाई माखेसाङलो र आन्दोलनका क्रममा मानिस मर्दा २–४ वटा आँप झर्दैमा केही हुन्न भन्ने ओलीको भनाइप्रति मधेसवादी दलका सांसदले आपत्ति जनाएका थिए ।

‘मधेस आन्दोलनका क्रममा मानिस मर्दा २–४ वटा आँप झर्दैमा केही हुन्न भनेर ओलीले भन्नुभएको छैन,’ न्यौपानले भने, ‘त्यो शब्द उहाँले पार्टीको बैठकका क्रममा बोलेको हो । मधेस आन्दोलनको सन्दर्भमा होइन ।’

पार्टीका उपाध्यक्ष अशोक राईले नेकपा एमाले परित्याग गर्दा ओलीले आँप झर्दैमा केही हुन्न भन्ने प्रसंग झिकेको प्याकुरेलले दाबी गरे । नेकपाका अर्का सांसद रामचन्द्र मण्डलले प्रदेश २ मा रहेको संघीय समाजवादी फोरम र राजपाका सरकारले प्रधानमन्त्रीलाई आमन्त्रण गरेर आफ्नै सांसदबाट अपमान गराउनु राम्रो नभएको बताए ।

प्रकाशित : भाद्र १७, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?