युरिया–डीएपीको विकल्प खोजियो

शंकर आचार्य

पर्सा — युरिया र डीएपी मलको माग धान्न गार्‍हो हुन थालेपछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यी मलको विकल्पका रूपमा एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटलाई प्रोत्साहित गरेको छ ।

सर्वाधिक माग रहेका रासायनिक मलहरू युरिया र डीएपीको माग वर्षेनी बढ्दै गएको छ । जति भए पनि पूर्ण रूपले माग धान्न नसक्ने अवस्था आउन थालेपछि कर्पोरेशनले यी मलको विकल्प खोज्न थालेको हो ।

गत वर्षदेखि कर्पोरेशनले देशव्यापी रूपमा एमोनियम सल्फेट र सिंगल सुपर फस्फेटको बिक्री वितरण गरिरहेको छ । कर्पोरेशन अञ्चल कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेका अनुसार गत वर्ष देशभरिमा गरी १० देखि १२ हजार मेट्रिक टन यी मल कर्पोरेशनले बिक्री गरेको छ ।

वीरगन्ज अञ्चल कार्यालयले समेत पर्सादेखि सर्लाहीसम्ममा गरी ५० किलोका ६ हजार ६ सय बोरा एमोनियम सल्फेट र १४ हजार बोरा सिंगल सुपर फस्फेट बिक्री गरेको उनले बताए । गत वर्षदेखि किसानलाई यी मलको उपयोगिता तथा प्रयोग विधिबारे जानकारी दिन किसानको घरदैलोमै पुगेर कर्मचारीले विभिन्न कार्यक्रम गरी रहेको उनले बताए ।

लामिछानेका अनुसार एमोनियम सल्फेट २१ प्रतिशत नाइट्रोजन तथा २४ प्रतिशत सल्फर भएको बहुतत्वयुक्त मल हो । गैरअनुदान (सरकारी अनुदान नभएको) मल बिक्री गर्ने कार्यक्रमअन्तर्गत भारतबाट आयात गरिएको यो मलको प्रयोगबाट नाइट्रोजनका साथै सल्फर पनि प्राप्त हुने हुँदा युरियाको तुलनामा बढी प्रभावकारी हुन्छ ।

नाइट्रोजन तत्त्वका लागि सामान्यतया १ किलोग्राम युरिया बराबर २ दशमलव १९ किलोग्राम एमोनियम सल्फेट उपयोग गर्न सकिन्छ । यसबाट माटोले २४ प्रतिशतका दरले सल्फर प्राप्त गर्छ । यसको प्रयोग गर्ने समय र तरिका समेत युरिया जस्तै हो ।

Yamaha

एमोनियाले माटोमा अम्लियपना बढाउन सक्ने हुँदा यसको प्रयोग गर्दा डीएपीको साटो सिंगल सुपर फस्फेट प्रयोग गर्नु विशेष लाभकारी हुने उनले बताए । सिंगल सुपर फस्फेटमा रहेको क्यालसियमले माटोको अम्लियपना बढ्नबाट रोक्ने र बिरुवाले उचित परिमाणमा मात्र नाइट्रोजन प्रयोग गर्न पाउने हुँदा नाइट्रोजनको नोक्सानी हुनबाट बच्न सकिन्छ ।

त्यसैगरी, सिंगल सुपर फस्फेट बहुतत्वयुक्त रासायनिक मल हो । रासायनिक मलको प्रयोगको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रचलित रहेको यो मलमा क्यालसियम २१ प्रतिशत, फस्फोरस १६ प्रतिशत र सल्फर १२ प्रतिशत हुन्छ ।

अम्लिय माटोमा यसको प्रयोग गरिएमा अम्लियपनामा सुधार आउने हुँदा अपेक्षित फसल सजिलै प्राप्त गर्न सकिने लामिछाने दाबी गर्छन् । तेलहन बालीका लागि यसले अझै प्रभावशाली रूपमा काम गर्ने उनले बताए ।

कर्पोरेशनले गैरअनुदानमा साधारण सिंगल सुपर फस्फेटका अतिरिक्त जिंक तथा बोरोन युक्त मलको छुट्टाछुट्टै बिक्री गरेकाले किसानले अतिरिक्त सूक्ष्म तत्त्व समयसको प्रयोगबाट पाउने उनले दाबी गरे । सिंगल सुपर फस्फेट मलको तत्त्ववाहक पानीमा घुल्न सक्दैन । तर यसमा रहेको खाद्यतत्त्व फस्फोरस भने पानीमा घुलनशिल प्रकृतिको हुने हुँदा बिरुवाले सजिलो रूपमा फस्फोरस प्राप्त गर्न सक्छ ।

यसका साथै यो मलमा सल्फर र क्यालसियम रहेको हुँदा बिरुवाले क्रमिक रूपमा ३ वटा खाद्यतत्त्व एकैसाथ प्राप्त गर्दछ जुन तत्त्वहरू माटो तथा बिरुवाका लागि अपरिहार्य छ ।

दुबैको मलको मूल्य क्रमश: युरिया र डीएपी मलको मूल्यकै हाराहारीमा रहेकाले किसानलाई महँगो पनि नपर्ने उनले बताए । किसानले यी मलको महत्त्व बुझ्दै गएकाले आगामी दिनमा यी मलको माग क्रमश: बढ्दै जाने उनले आशा व्यक्त गरे ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ १०:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

क्लिंकरको आयात घटयो, सिमेन्टको बढयो

शंकर आचार्य

पर्सा — भारतीय रेल्वले पर्सा–बारा औद्योगिक करिडोरका लागि भारतको रक्सौल रेल्वे स्टेसनबाट क्लिंकर लोड अनलोड बन्द गरेपछि भारतीय तयारी सिमेन्टको आयात झन्डै दोब्बरले बढेको छ ।

वीरगन्ज भन्सार नाकाबाट क्लिंकर आयात हुन्छ भने तयारी सिमेन्ट बढीजसो सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट आयात हुन्छ । दुवै भन्सारको तथ्यांकले क्लिंकरको आयात घटेको र तयारी सिमेन्टको आयात बढेको देखाएको छ ।

वीरगन्ज भन्सारको तथ्यांकअनुसार गत आवमा यो नाका हुँदै ९ अर्ब २३ करोड रुपैयाँ बराबरको ८८ करोड २६ लाख किलो क्लिंकर आयात भएको छ । अघिल्लो आवमा यसै नाकाबाट ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको १ अर्ब ७ करोड किलो क्लिंकर आयातभएको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांकअनुसार भारतबाट आयात हुने तयारी पोर्टल्यान्ड सिमेन्टको आयात झन्डै दोब्बरीले बढेको छ । गत वर्ष यो नाका हुँदै भारतबाट ३० करोड ८६ लाख रुपैयाँ बराबरको ३ करोड २२ लाख किलो तयारी सिमेन्ट आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा यसै नाकाबाट १७ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड ७९ लाख किलो तयारी सिमेन्ट आयात भएको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत धनबहादुर बरुवाल यो नाकाबाट आयात हुने तयारी सिमेन्ट बढीजसो नेपालका निर्माणाधीन जलविद्युत् आयोजनाहरूले ल्याउने गरेको बताउँछन् । तयारी सिमेन्टको आयात गर्दा प्रतिटन ४ हजार ५० रुपैयाँ भन्सार शुल्क, प्रतिटन १ सय ८० रुपैयाँ अन्त:शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ ।

रक्सौल रेल्वे स्टेसनले सिमेन्ट उद्योगको मुख्य कच्चा पदार्थ क्लिंकरको लोड अनलोडको काम २०१७ को डिसेम्बर २२ बाट बन्द गरेको थियो । त्यसको असर करिडोरका सिमेन्ट उद्योगहरूमा नराम्रोसँग परेको छ । भारतीय रेल्वेले रक्सौल रेल्वे स्टेसनबाट क्लिंकर लोड अनलोड बन्द गरेपछि पर्सा पर्सा बारा औद्योगिक करिडोरका सिमेन्ट उद्योगले नारायणपुर रेल्वे स्टेसनबाट क्लिंकर ढुवानी गरी ल्याउन थालेका छन् ।

रक्सौलवासीको विरोधपछि भारतीय रेल्वेले अचानक नेपालतर्फको क्लिंकरको ढुवानी र बुकिङसमेत बन्द गरेको थियो । स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै रेल्वेले वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा क्लिंकरलगायत सिमेन्ट उद्योगका अन्य कच्चा पदार्थ ल्याउने तयारी गरेको थियो ।

नेपाल सरकारले सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्न विमति जनाएपछि भारतीय रेल्वेको त्यो योजना तुहिएको थियो । त्यसको असर करिडोरका १३ सिमेन्ट उद्योगलाई पर्‍यो । ३ वर्षअघिको महाभूकम्प पछिको पुनर्निर्माण तथा ठूला जलविद्युत् आयोजनालगायतका विभिन्न आयोजनाहरूको निर्माण कार्य जारी रहँदा मुलुकमै सिमेन्टको माग अत्यधिक रहेको छ ।

हाल रक्सौलबाट करिब १ सय ५० किमिको दूरीमा रहेको नारायणपुर रेल्वे स्टेसनदेखि करिडोरस्थित उद्योगसम्म क्लिंकर ल्याउन सिमेन्ट उद्योगले प्रतिटन २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म अतिरिक्त खर्च गरिरहेका छन् । उत्पादन लागत बढेपछि करिडोरका सिमेन्ट उद्योगले मूल्य बढाएका छन् । जसले गर्दा भारतीय सिमेन्टले नेपालको बजार लिन सहज भएको छ ।

केही उद्योगले क्लिंकर नारायणपुरबाट टिपरमा ल्याई रक्सौलमा अनलोड गरिरहेका छन् । केही उद्योगले भने उद्योगसम्मै क्लिंकर ल्याउँदै छन् । रक्सौलमा क्लिंकर लोड अनलोड बन्द गरिए पनि सिमेन्ट उद्योगका अन्य कच्चा पदार्थ जिप्सम, फ्लाइएस, कोइला आदि भने हाल पनि रक्सौल रेल्वे स्टेसनमै आइरहेको छ । तर, प्रमुख कच्चा पदार्थ क्लिंकरको आयात नै प्रभावित भएपछि सिमेन्ट उद्योगहरू संकटमा परेका हुन् ।

करिडोरका अधिकांश सिमेन्ट उद्योग यसको कच्चा पदार्थहरू क्लिंकर, कोइला, जिप्सम, स्ल्याग, फ्लाइएसलगायतका वस्तुमा भारतमै निर्भर छन् । भारतको उडिसा, मध्यप्रदेश, आसामलगायतका राज्यबाट यी कच्चा पदार्थ नेपाल ल्याइन्छ ।

करिडोरका नेपाल सालिमार सिमेन्टलगायतका केही उद्योगले थोरै परिमाणमा क्लिंकर उत्पादन गरे पनि यसको कच्चा पदार्थ भारतबाटै ल्याउनुपर्ने बाध्यता छ । क्लिंकरकै प्लान्ट राखेर आफूलाई मात्र चाहिने क्लिंकर उत्पादन गर्न सिमेन्ट उद्योगले सकेका छैनन् । यसका लागि लागत अत्यन्त बढी लाग्छ ।

भारतबाट सहज रूपमा कच्चा पदार्थ आयात हुन नसके करिडोरका सिमेन्ट उद्योग केही दिनमै बन्द हुन्छन् । करिडोरका सिमेन्ट उद्योग भारतकै कच्चा पदार्थ लक्षित गरी स्थापना भएकाले भारतबाट कच्चा पदार्थ नआए यहाँका प्राय: सबै सिमेन्ट उद्योग बन्द हुन्छन् ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT