कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिखले मनाए प्रकाश दिवस

पर्सा — वीरगन्जका शिख समुदायले सोमबार गुरुग्रन्थ साहेवजीको प्रथम प्रकाश दिवस हर्षोल्लासका साथ मनाएका छन् ।

शिखले मनाए प्रकाश दिवस

यहाँस्थित गुरुद्वारामा सोमबार बिहानै पूजापाठ शबदकीर्तन आयोजना गरी लंगर प्रसाद वितरण गरिएको थियो । यसका लागि भारतको झारखन्डस्थित धनवादबाट शबदकीर्तन गाउन एक टोली आएको छ ।

विश्वभरका शिख समुदायले सोमबारकै दिन यो पर्व एक साथ हर्षोल्लासका साथ मनाउने गर्दछन् । भारत पन्जाबको अमृतसरस्थित स्वर्ण मन्दिरमा यस दिन विशेष र भव्य कार्यक्रम हुने गरेको वीरगन्जका शिख समुदायका अगुवा जसपाल सिंह बताउँछन् ।

सन् १६०४ मा आजकै दिन स्वर्ण मन्दिर परिसरमा शिख धर्मका पञ्चम गुरु अर्जनदेवजी महाराजले गुरुग्रन्थ साहेवलाई विशेष धर्मग्रन्थका रूपमा पूजा गर्ने रीतिथिति बसालेका थिए । यस दिन गुरुग्रन्थ साहेवको जन्मदिन सरह मानिन्छ । त्यसअघिका शिख धर्मका गुरुहरूको गुरुवाणी तथा अन्य सन्तहरूको महत्त्वपूर्ण वाणीलाई पनि यस ग्रन्थमा संकलन गरी अर्जनदेवजी महाराजले ग्रन्थलाई विशेष रूप दिएका थिए ।

पछि १७ औं शताब्दीमा शिख धर्मका दशमगुरु गोबिन्द सिंहजी महाराजले गुरुग्रन्थ साहेवलाई थप व्यवस्थित बनाई आफूउपरान्त कोही व्यक्ति विशेषलाई नभई गुरुग्रन्थ साहेवलाई नै पूजाअर्चना गर्नु, त्यसबाटै गुरुकृपा प्राप्त हुन्छ भनी आफ्ना अनुयायीहरूलाई निर्देशन दिएका थिए । त्यति बेला उनले ५ पैसा र नरिवल हातमा लिएर गुरुग्रन्थ साहेवको ३ पटक परिक्रमा गरेका थिए ।

गुरु गोबिन्द सिंहजी महाराजको देहान्तपछि उनकै निर्देशनअनुरूप जीवित धर्मगुरुका रूपमा शिख समुदायले गुरुग्रन्थ साहेवलाई नै मानेर पूजाअर्चना गर्दै आएका छन् । यो समुदायले जन्म, विवाहदेखि महत्त्वपूर्ण संस्कारहरूमा गुरुग्रन्थ साहेवलाई विशेष पूजाअर्चना गरी आशिर्वाद लिने गरेका छन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?