कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता आवासका भवन अधुरा

गुणस्तरहीन सामग्रीको प्रयोगले पर्खाल चर्किसकेका छन्

सर्लाही — जनता आवास कार्यक्रमअन्तर्गत बनाइनु पर्ने घर निर्माण सुरु भएको १४ महिना बितिसक्दा समेत अधुरै छ ।

जनता आवासका भवन अधुरा

दलित एवं अति विपन्न समुदायका लागि सरकारले निर्माण गर्नुपर्ने अधिकांश घरमा छाना हालिएको छैन । निर्माणाधीन अवस्थाका घरमा गुणस्तरहीन सामग्रीको प्रयोगले पर्खाल चर्किसकेका छन् ।


सहरी विकास मन्त्रालयअन्तर्गत जनता आवास कार्यक्रमले ०७४ असारमा दलित एवं विपन्न समुदायका लागि घर बनाउन सुरु गरेको थियो । तर १४ महिना बित्न लाग्दाप नि दुईकोठे घर निर्माण हुन सकेको छैन । आर्थिक वर्ष ०७३/०७४ मा सर्लाहीका दलित एवं विपन्न समुदायका लागि जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण गर्नेगरी बजेट आएको थियो । प्रतिघर २ लाख ५० हजार रुपैयाँका दरले रकम आए पनि निर्माणको काम अधुरै छ । घर निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । पर्खाल मात्र लगाइएको घरभित्र केहीले पाल टाँगेर बसेका छन् ।


केहीले फुसको सानो छाप्रो बनाएका छन् । शीतलहर, चर्को घाम र वर्षायाम दलित एवं विपन्न समुदायका लागि पीडादायी बनेको छ । पक्की घरको सपना देखाएर भएको छाप्रो भत्काइ अलपत्र छाडेपछि स्थानीय आक्रोसित छन् । ‘भएको घर भत्काउन लगाएर पक्की घरको सपना मात्र देखाए,’ बरहथवा–१५ पिप्राभित्ताकी बासमती देवी पासवानले भनिन्, ‘कष्टकर जीवन कहिलेसम्म विताउने, निर्माण सम्पन्न गर्न नसक्ने भए किन भत्कायो ?’ जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाको कर्मैया, सुन्दरपुर चुहोर्वा, बरहथवा, हजरिया लगायतका स्थानमा घर निर्माण भएका छन् ।


नियमित अनुगमन हुन नसक्दा अधुरो र गुणस्तरहीन काम भएको लाभग्राहीको गुनासो छ । ‘अधुरो काम छोडेर गएको १४ महिना भइसक्यो, एक साताअघि दुई दिन काम गरेर फेरि अलपत्र छोडेको छ,’ स्थानीय संजा देवी रामले भनिन्, ‘पर्खाल मात्र ठडिएको घरको भित्ता कोट्याउँदा सिमेन्ट र बालुवा फुसफुस झर्न थालेका छन् ।’ भूकम्परहित घर बन्नुपर्ने ठाउँमा एउटा छड प्रयोग गरेको पिल्लर हालेर पर्खाल निर्माण गरिएको छ ।


जनता आवास कार्यक्रमअन्तर्गत सर्लाहीमा घर निर्माण गर्न तोकिएको फोकल पर्सन सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाका इन्जिनियर श्यामकृष्ण झाले ९० प्रतिशत काम पूरा भइसकेको दाबी गरे । ‘प्रत्येक घर दुई कोठाको बनिरहेका छन्,’ इन्जिनियर झाले भने, ‘घर बनाउन २ लाख ५० हजार रुपैया बजेट थियो, त्यो बजेट भित्रमा काम भइरहेको छ ।’

प्रकाशित : भाद्र २७, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?