कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो अपराध

८ जिल्लामा चोरी, लुटपाट, हत्या, अपहरण र साना हतियारको चलखेल बढेको छ
सन्तोष सिंह

जनकपुर — सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ महारानी बजारस्थित प्रहारी चौकी सँगै रहेको अनुपम आयल स्टोर्समा मंगलबार राति ३ लाख ६६ हजार ५ सय ८४ रुपैया नगद, एक थान कम्प्युटर मोबाइलसहित १० लाख मूल्य बराबरको चोरी भएको छ ।

बढ्यो अपराध

सर्लाही सदरमुकाम मलंगवामा नगरपालिका–७ मुसैलीस्थित धान खेतको आलीमा आइतबार साँझ ४२ वर्षीया महिलाको शव फेला परेको हो । घाँस काटेर फर्किंदै गरेका स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट हेर्दा कतैबाट मारेर घिसारेर धान खेतको आलीमा फालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरषोत्तमप्रसाद पाण्डेले बताए ।


सर्लाहीको सीमावर्ती क्षेत्र बलरा नगरपालिका ३ का ६० वर्षीय जुगल प्रसादको साउन १७ गते हत्या भएको थियो । सर्लाहीमा दिनदिनै हत्या, चोरीका घटना बढ्दा स्थानीय त्रसित छन् । खुला सिमानाका कारण लुटपाट र चोरी घटना मौलाएको प्रहरी उपरीक्षक पोषराज पोखरेल स्विकार्छन् । व्यवसायी हत्याको अनुसन्धान भइरहेको उनले बताए ।


महोत्तरी, औरहीकी ९ महिने सोनाली चौधरीको भदौ १० गते अपहण गरेर हत्या भएको घटना सेलाउन नपाउँदै भंगहा नगरपालिका–६ भंगहा जमुनियामा भदौ २२ गते विस्फोट र गोली फायर गर्दै लाखौंको डकैती भयो । औरहीमा बालिका हत्या र भंगहामा लुटपाटको घटना अघि महोत्तरीको जाउखमा कन्चटमा पेस्तोल तेस्र्याएर असार ११ गते १६ लाख ५२ हजार नगद लुटिएको थियो ।


त्यसअघि गौशालाबाट बर्दिबास आउँदै गर्दा पेस्तोल देखाएर करिब ११ लाख लुटिएको थियो । बालिका हत्याको घटना सेलाउन नपाउँदै भंगहा नगरपालिका बम विस्फोट, गोली फायर गर्दै लुटपाट र हतियार देखाएर गौशाला र रजाउखमा भएको लुटपाटको घटनाले महोत्तरीमा त्रास छ ।


धनुषा, लक्ष्मिनिया बजारमा दुई साताअघि ३५ वर्षीय सञ्जय शर्मामाथि गोली प्रहार भयो । पेटमा गोली लागेका शर्मा काठमाडौंमा उपचार गराएर घर फर्केका छन् । जनकपुरबाट घरतर्फ जाँदै गर्दा शर्मामाथि गोली प्रहर भएको दुई दिनमा धनुषा प्रहरीले २ जनालाई हतियारसहित पक्राउ गरे ।


मिथिला नगरपालिका–१ बाट कटुवा पेस्तोलसहित गणेशमान चारनाथ नगरपालिका–२ का ३१ वर्षीय सन्तोष पासवान र जनकपुरको भानुचौकबाट महोत्तरीका सुनिल सहनिलाई हतियारसहित पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । यसअघि एक महिनायता धनुषाको बटेश्वरमा गोली फायर गर्दै डकैती र मिथिला नगरपालिकामा पटक–पटक भएको चोरी घटनाले स्थानीय त्रसित छन् ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र साही आपराधिक घटनामा हतियारसहित पक्राउ गर्न सफल भएको दाबी गर्छन् । अपराधविहीन समाज त हुँदै हुँदैन, प्रहरी नायब उपरीक्षक साहीले भने, ‘हतियारसहित अपराधी पक्राउ गर्नु प्रहरीको सफलता हो ।’ दुई चार घटनालाई उनले समान्य रूपमा लिए ।


प्रदेश २ का ८ जिल्लामा चोरी, लुटपाट, हत्या, अपहरण र साना हतियारको चलखेल बढेको छ । चाडबाड नजिकिँदै जाँदा दिनहुँ हुने लुटपाटले स्थानीय त्रसित भएका छन् । प्रदेश २ को मुख्यालय जनकपुरमा नेपाल प्रहरीका डीआईजीकै नेतृत्वमा कमान्ड छ तर आसपासका जिल्लामा सुरक्षा अवस्था फितलो छ ।


दिनहुँ लुटपाट र हत्याका घटना बढे पनि प्रहरी अपराध नियन्त्रण गर्न असफल भएको छ । घरपरिवारका पुरुष वैदेशिक रोजगारमा भएका बेला गाउँटोलमा लुटपाट, चोरीडकैती बढेको छ ।

प्रकाशित : भाद्र २८, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?