कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीले बरामद गरेको सामान हरायो

१ हजार ३ सय ५४ मिटर सुरुवाल बनाउने कपडा लोड गरिएकोमा १ हजार १ ७४ मिटरमात्र फेला परेको छ । १८० मिटर कपडा हरायो
भूषण यादव

वीरगन्ज — चितवन प्रहरीले भन्सार राजस्व छली आशंकामा नियन्त्रणमा लिएको मालवाहक ट्रकबाट विभिन्न सामान हराएको छ ।

प्रहरीले बरामद गरेको सामान हरायो

वीरगन्जको साझा ट्रान्सपोर्टबाट गत भदौ १६ गते साँझ जिरा, बेसार, ब्यान्डेज, कुर्ता सुरुवाल लगायत १६ वटा व्यापारिक फर्मका सामान लोड गरी ना३ख ४३५९ नम्बरको ट्रक काठमाडौँ हिँडेको थियो ।

काठमाडौँ जाने क्रममा चितवन प्रहरीले भदौ १७ गते बिहान चितवनको गोन्द्राङबाट उक्त ट्रक नियन्त्रणमा लिएको थियो । भन्सार राजस्व छली आशंकामा चितवन प्रहरीले नियन्त्रणमा लिएको ट्रक जाँचपछि थप अनुसन्धानका लागि भदौ १८ गते वीरगन्ज भन्सार कार्यालय पठाएको थियो ।

भन्सार मुद्दा शाखाले सामान बुझ्ने क्रममा बिलविजक बमोजिम मिलान गर्दा सामान गायब भएको पाइएको ट्रान्सपोर्ट प्रतिनिधि मुकेश साहले बताए । साहका अनुसार आरुषी इन्टरप्राइजेजको एक हजार तीन सय ५४ थान सुरुवाल बनाउने कपडा लोड गरिएको थियो । ‘जसमध्ये एक हजार एक सय ७४ मिटर कपडा मात्र फेला परेको छ,’ साहले भने, ‘एक सय ८० मिटर सुरुवाल बनाउने कपडा ट्रकमा छैन् ।’


त्यसैगरी स्नेहा ट्रेड कन्सर्नको १४ थान सुटपिस, २१ थन टप सेट, १७ थान लेगिंज टप र १४ थान चुन्नी गायव पारिएको छ । ‘सरिया इन्टरप्राइजेजको साढे १४ दर्जन ब्रा समेत ट्रकमा फेला परेन,’ बिलविजक देखाउँदै उनले भने, ‘लोड गर्ने क्रममा बिलविजक अनुसार नै सामान गनेर पठाएका थियौँ ।’ भन्सार प्रज्ञापनपत्रमा एक दिन अगाडि मात्र पास भएको समर ट्ेरडर्सको ४ पोका कपडा पनि ट्रकमा फेला परेको छैन ।

चितवन पुग्नु अगाडि बाराको पथलैयास्थित राजस्व कार्यालयमा पनि बिलविजकको फोटोकपी ट्रक चालकले बुझाएका थिए । राजस्वमा उपलब्ध गराएको बिलविजको फोटोकपी र ट्रकभित्र रहेको बिलविजक एउटै भए पनि चितवन प्रहरीले पठाएको ट्रकमा भन्सारले बिलविजक बमोजिम सामान मिलान गर्दा ट्रकको सामान गायव भएको पाइएको हो ।


त्रिभुवन राजमार्ग छेउमै रहेको राजस्व कार्यालयमा मालवाहक ट्रकले बिलविजको प्रतिलिपि नबुझाएसम्म ट्रक अगाडि बढ्न पाइँदैन । ट्रक चालक रहमत आलमका अनुसार प्रहरीले ट्रक नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय अगाडि नै आइतबार बिहान करिब १० बजेतिर चेकजाँच गरेको थियो ।


‘बिलविजक बमोजिम सामान ठीक रहेको पाएपछि ट्रकमा लोड गर्ने बेलामा एक तले भवनमाथि मन परेको सामान फ्याकेका थिए,’ चालक आलमले भने, ‘प्रहरीको नियत खराब देखेपछि मैले तत्कालै केही पर रहेका एक इन्सपेक्टरलाई जानकारी गराएका थिए, उनले सामान नचोर्न निर्देशन दिए पनि प्रहरीले मानेन, उल्टै मलाई धम्काए ।’


बिलविजक पनि गायव
ट्रक नियन्त्रणमा लिएर बिलविजक अनुसार प्रहरीले सामान चेकजाँच गरे पनि थप अनुसन्धानका लागि वीरगन्ज भन्सार पठाउँदा प्रतिवेदनमा ट्रक बेवारिसे फेला परेको उल्लेख गरेको छ । चितवनका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बिलविजक बमोजिम अदत भेटिएपछि न्यून बिजकीकरणको आशंकामा उक्त ट्रक थप अनुसन्धानका लागि भन्सार कार्यालय पठाएको बताउँदै आएका छन् ।

भन्सार कार्यालयलाई बुझाउन आएको उक्त ट्रकको प्रतिवेदनमा बिलविजक लगायतका कागजातबारे उल्लेख नभएको प्रश्नमा चितवनका एसपी राठौरले कान्तिपुरसँग फोनमा भने, ‘उक्त ट्रक चेकजाँच गर्दा बिलविजक थियो, कता गएछ बुझैछु ।’ यता व्यापारी भने बिलविजक पेस नहुँदा भन्सारले धरौटी पो माग्ने हो कि भन्ने चिन्तामा छन् ।


‘चाडपर्वका बेलामा केही पेसा कमाउने आशामा व्यापार गरेका थियौँ,’ एक व्यापारी भन्छन्, ‘दशा पो लाग्यो ।’


गत भदौ १८ गते चितवनका प्रहरी नायव उपरीक्षक शिव आचार्यलाई उद्धृत गर्दै विभिन्न अनलाइन र एफएमहरूमा ना३ख ४३५९ नम्बरको ट्रकमा काठमाडौँका विभिन्न व्यापारीका नाममा बिलविजक काटिएको कपडा बरामद गरिएको समाचार समेत प्रसारण भएको थियो । दुईदिन अगडि प्रहरीले नै बिलविजकका आधारमा ट्रकको सामान अनलोड गरी चेकजाँच गरेकोमा भन्सार बुझाउँदा बिलबिजकबारे प्रतिवेदनमा उल्लेख नगरेकोमा व्यापारिले आक्रोश पोखेका छन् ।

‘१६ थान बिलविजकको जिरा, मेथी, बेसार, औषधि र भन्सार प्रज्ञापनमा पास भएको कपडा उक्त ट्रकमा लोड थियो,’ ट्रान्सपोर्टका प्रतिनिधि साहले भने, ‘शनिबार वीगन्जबाट जाने क्रममा बाराको पथलैयास्थित राजस्व कार्यालयमा समेत सबै बिलविजकको फोटोकपी दिएका छौँ, अहिले सामान कसरी बेवारिसे भयो ।’ राजस्वका अनुसन्धान अधिकृत युवराज दाहालले पनि ना३ख ४३५९ नम्बरको ट्रकले भदौ १६ मा बिलविजको प्रतिलिपि बुझाएको बताएका छन् ।

राजस्वका कर्मचारीले प्रहरीले क्षेत्राधिकार मिचेर मालवाहक ट्रक चेकजाँच गरेको आरोप लगाएका छन् । ‘चोरी पैठारी, न्यून बिजकीकरण लगायतका भन्सार छलीको अनुसन्धान गर्ने निकाय भनेको राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालय हो,’ राजस्व विभागका ती अधिकृत भन्छन्, ‘पछिल्लो समय प्रहरीको मनोमानी बढेको छ, एक त क्षेत्राधिकार मिचे त्यसमाथि बिलबिजक गायव पारे ।’

स्रोतका अनुसार प्रदेश ३ प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक बुद्धि चौधरीलाई आएको सूचनाका आधारमा चितवन प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको थियो । सई चौधरीले पनि सामान चेकजाँच गर्दा बिलबिजक रहेको स्वीकार्छन् । ‘चेकजाँच गर्दा बिलबिजक बमोजिम अदत घटबढ नपाएपछि लोड गराएर म फर्किए,’ फोनमा सई चौधरीले भने, ‘प्रतिवेदन त मुद्दा फाँटले तयार पार्ने हो ।’

ट्रान्सपोर्ट व्यवसायीले प्रतिवेदनमा बिलबिजक नबुझाएर प्रहरीले मनोमानी गरेको गुनासो गरेका छन् । न्यून बिजकीकरणको अनुसन्धान आफ्नो क्षेत्राधिकार बाहिर रहेको भन्दै चितवन प्रहरीले बुझाएको प्रतिवेदन वीरगन्ज भन्सारले बुझ्न इन्कार गरेपछि प्रहरीले प्रतिवेदन परिवर्तन समेत गरेको थियो । त्यही दिन (भदौ १९) दिउँसो करिब ४ बजे उक्त ट्रकमा चोरी पैठारीको सामान रहेको प्रतिवेदन तयार पारि भन्सार मुद्दा शाखामा पेस भएको थियो ।

चितवनका एसपी र सिडिओले भन्सार प्रमुखलाई बारम्बार फोनमार्फत आग्रह गरेपछि प्रतिवेदन मुद्दा शाखाले लिएको स्रोतको दाबी छ । उक्त ट्रकबारे भन्सार मुद्दा शाखाले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?