कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वाइन र हङकङ फलुको प्रकोप: प्रभावित इलाका विपद् क्षेत्र घोषणा

अवधेशकुमार झा

राजविराज — स्वाइन फलु र हङकङ फलुको प्रकोप फैलिएपछि सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका क्षेत्रलाई शुक्रबारदेखि विपद् क्षेत्र घोषणा गरिएको छ ।

स्वाइन र हङकङ फलुको प्रकोप: प्रभावित इलाका विपद् क्षेत्र घोषणा

नगर कार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गर्ने निर्णय गरेको नगर प्रमुख वसन्त मिश्रले बताए ।


पछिल्लो तीन सातादेखि कञ्चनरूप नगरपालिका क्षेत्रमा फैलिएको स्वाइन फलु र हङकङ फलुका कारण तीन बालकसहित चार जनाको मृत्यु भएको छ भने १ हजार ७ सयभन्दा बढी बिरामी छन् । भारतको झारखण्डस्थित देवघर जिल्लामा रहेको प्रसिद्ध बाबाधामबाट तीर्थयात्रा गरेर फर्केकाहरूबाट फलु सरेर आएको विज्ञहरूले बताएका छन् ।


ज्वरो आउने, खोकी लागेर सुरुमा तीन बालबालिकाको मृत्यु भएको र पछि एक वृद्ध महिलाको समेत सोही लक्षणले मृत्यु भएपछि स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीमध्ये १० जनाको र्‍याल परीक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशालाा काठमाडौं पठाएको थियो । परीक्षणका क्रममा केही नमुनामा स्वाइन फलुको जीवाणु फेला परेपछि कञ्चनरूप नगरपालिका क्षेत्रका उच्च सर्तकता अपनाउँदै विपद् क्षेत्र घोषणा गरिएको हो ।


नगर कार्यपालिकाले आगामी मंगलबारसम्मका लागि नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालय बन्द गर्न समेत निर्देशन दिएको छ । विद्यालयमा एकै स्थानमा बढी विद्यार्थी जम्मा हुने भएको र त्यहाँ फलु सर्न सक्ने सम्भावना रहेकाले मंगलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख मिश्रले जानकारी दिए । उनका अनुसार अहिले हरेक वडामा ‘डोर टु डोर’ स्वास्थ्यकर्मी परिचालन गरी उपचार भइरहेको छ ।

यसैबीच बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले फलु प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक सहितको औषधि सहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने निर्णय गरेको समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

भारतबाट फलु सरेर आएको हुनाले बोर्डर नाकाहरूमा भारतबाट आउने शंकास्पद बिरामीका बारेमा उच्च सतर्कता अपनाउने, कुनौली बोर्डरमा हेल्थ डेस्क स्थापना गर्ने, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासित समन्वय गरी विशेषज्ञ, औषधि र मास्कको व्यवस्थापन गर्ने निर्णय समेत विपद् व्यवस्थापन समितिले गरेको छ ।

ग्रामीण क्षेत्रमा रहेको निजी स्वास्थ्य क्लिनिकहरू र औषधि पसलमा फलुको लक्षण देखिएका बिरामी आए तत्काल सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रेफर गर्न समेत जिल्ला विपद व्यवस्थापन समितीले आग्रह गरेको छ ।

यस्तै सप्तकोसी नदीको बाढीबाट पीडित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा फैलिएको इन्फलुएन्जा नियन्त्रणमा रहेको उक्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सिअहेब रामदेव यादवले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको १२ नम्बर वडाका १ सय ३७ जना बिरामी छन् । त्यहाँका ६ जनाको र्‍याल परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको पाँच जनामा इन्फलुएन्जाका जीवाणु फेला परेको थियो ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?