कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीबीएमा आकर्षण

‘तोकिएको कोटाभन्दा बढी आवेदन परेको छ,’ क्याम्पस प्रमुखले भने, ‘अब हामीले यिनै मध्येबाट प्रवेश परीक्षा लिएर ६४ जना छनोट गर्ने छौं ।’
शंकर आचार्य

पर्सा — वीरगन्ज छपकैंयाकी प्रिति सोनी बीबीए अध्ययन गर्नका लागि राजधानी जाने तयारीमा थिइन् । तर गृहनगरकै ठाकुरराम क्याम्पसमा यस वर्षदेखि बीबीएको पढाइ हुने भएपछि उनी हतारमा दौडेर आवेदन फर्म भर्न आइन् ।

बीबीएमा आकर्षण

‘बीबीए पढनकै लागि राजधानी जाने तयारी गरिसकेकी थिएँ,’ उनले भनिन्, ‘तर आफ्नै सहरमा बीबीए पढाइ हुने भएपछि मेरो समस्या समाधान भयो, मलाई अब धेरै सहज भयो ।’


वीरगन्ज भगवती टोलका मनदीप खडाले पनि बीबीए पढ्ने सोंच बनाएका थिए । तर वीरगन्ज मात्र नभई २ नम्बर प्रदेशमै त्रिविले बीबीए पढाईको सम्बन्धन हालसम्म एउटै पनि कलेजलाई नदिएकाले उनले राजधानी वा भारत जाने मनस्थिति बनाएका थिए ।

तर त्रिभुवन विश्वविद्यालयभन्दा जेठो र पुरानो इतिहास रहेको गृह नगरकै विश्वसनिय क्याम्पसमा यस वर्षदेखि बीबीए पढाइ हुने कुरो थाहा पाए लगत्तै उनी पनि फर्म भर्न शैक्षिक प्रमाणपत्रहरू लिएर कुदिहाले । ‘मेरा लागि त घरमै बसेर बीबीए पढने अवसर जुर्‍यो,’ उनले भने, ‘अब घरपरिवारबाट टाढिनु परेन, कम खर्चमै पढन पनि पाइने भयो ।’


प्रिति र मनदीप जस्ता थुपै्र युवाहरूको भीड यहाँस्थित ठाकुरराम क्याम्पसका बुधबार र बिहीबार लागेको थियो । बीबीए कक्षा सुरु गर्न लागेको यो क्याम्पसले हाल २ वटा सेक्सनमा गरी केवल ६४ विद्यार्थीको बीबीए कोटा पाए पनि २ सय बढी आवेदन परेको सहायक क्याम्पस प्रमुख रोशन लामिछाने बताउँछन् । ‘तोकिएको कोटाभन्दा बढी आवेदन परेको छ,’ उनले भने, ‘अब हामीले यिनै मध्येबाट प्रवेश परीक्षा लिएर ६४ जना छनोट गर्ने छौं ।’


६ वर्षको लामो प्रयासपछि क्याम्पसलाई त्रिविले अनुमति दिएको उनले बताए । बीबीए पढेका विद्यार्थीको औद्योगिक तथा बैंकिङ क्षेत्रमा उच्च माग रहेको छ । ‘राम्रा विद्यार्थीलाई उद्योग व्यवस्थापनले कलेजमै आई जागिरको प्रस्ताव गर्छन्,’ उनले भने, ‘सहजै रोजगारी पाइने भएकाले पनि पछिल्लो समय बीबीए पढाइप्रति युवाहरूको आकर्षण बढेको छ ।’ वीरगन्जमा उद्योग व्यवसायसँगै बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति पनि बढी रहेकाले यहा बीबीए पढाइको महत्त्व झनै बढी रहेको उनले बताए ।


पछिल्लो केही वर्षयता शिक्षा माफियाहरूले ठाकुरराम क्याम्पसमा केवल राजनीति र हडताल मात्र हुन्छ भनि बदनाम गर्ने प्रयास गरेकोमा अब त्रिविले दिएको यो अवसरलाई चुनौतीका रूपमा सदुपयोग गर्ने उनले बताए ।

नेपाल विद्यार्थी संघका जिल्ला संयोजक दिलिपराज कार्कीले मुलुककै जेठो तथा तराईको अग्रणी ठाकुरराम क्याम्पसमा बीबीएको पढाइ सुरु गर्न विद्यार्थी संगठनहरूले लामो समयदेखि चर्को दबाब दिँदै आएकोमा बल्ल पढाइ सुरु भएको बताए । तर कोटा कम रहेकाले त्यसलाई वृद्धि गर्न माथिल्लो स्तरमै आफूहरूले प्रयास गरिरहेको उनले बताए ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?