कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिदनगरमा सहिदको सम्झना

जनकपुर — लोकतान्त्रिक– गणतान्त्रिक आन्दोलनको क्रममा झन्डै डेढ दर्जन युवा, वृद्ध तथा वृद्धालाई सहादत दिने पूर्वी धनुषाको सहिदनगर यदुकुहामा सोमबार छात्र आन्दोलनका दुई सहिदलाई स्मरण गर्दै प्रतिमाको अनावरण गरिएको छ ।

सहिदनगरमा सहिदको सम्झना

तत्कालीन राजा महेन्द्रले २०२८ सालमा लागू गरेको ‘नयाँ शिक्षा योजना’ को विरोधमा २०२९ साल असोज १ गते भएको छात्र विद्रोहको क्रममा यदुकुहास्थित जनता माध्यमिक विद्यालयका छात्रद्वय कामेश्वर मण्डल र कुशेश्वर यादव प्रहरीको गोली लागी सहिद भएका थिए ।

१९ वर्षमुनिका दुबै छात्र नेतालाई श्रद्धाञ्जली दिन कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेस उपसभापति विमलेन्द्र निधीसहित केन्द्रीय सदस्य, सांसद लगायत सहभागी थिए । कांग्रेस उपसभापति निधीले धनुषा र सिरहाको सीमाका रूपमा रहेको कमला नदीको किनारमा बसेको नगरोन्मुख सहिदनगर यदुकुहालाई लोकतान्त्रिक आन्दोलनका लागि आदर्श गाउँको संज्ञा दिए ।

२०२९ सालको छात्र आन्दोलन कांग्रेस पार्टीको निर्णयबाट भएको उल्लेख गर्दै उनले भने, ‘तत्कालीन पञ्चायती शासकहरू नयाँ शिक्षाको नाममा बालबालिकाहरूलाई पञ्चायत समर्थक बनाउने षडयन्त्र गरेका थिए । हामीले यसको विरोध गरेका थियौं ।’ जिल्ला सदरमुकाम जनकपुर भन्दा १६ किलोमिटरको दूरीमा अवस्थित यस गाउँको बासमती चामल र अमर सहिदहरूको चर्चा मुलुकभरि नै इज्जतका साथ गरिन्छ । लोकतान्त्रिक आन्दोलनको क्रममा सर्वाधिक महिला सहिद जन्माउने गाउँ पनि सम्भवत: यदुकुहा नै होला ।

२००७ सालदेखि मुलुकमा सुरु भएको लोकतान्त्रिक आन्दोलनमा धनुषासँगै यदुकुहाको पनि अहं भूमिका रहदै आएको कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले बताए । २०१८ साल माघ ९ गते सहिद दुर्गानन्द झाले तत्कालीन राजा महेन्द्रमाथि जानकी मन्दिर प्राङ्गणमा वम प्रहार गर्नु भन्दा अघि २००४ सालमा यस गाउँका सियाराम महन्थाले ‘भूमिसुधार’ आन्दोलन सुरु गरेका थिए भने सहिद सरोजप्रसाद कोइराला तथा कम्युनिस्ट नेता सूर्यनाथ महरान आदिको नेतृत्वमा यसै गाउँबाट ‘खडे वटैया’ आन्दोलन पनि सुरु भएको थियो ।

प्रथम जनआन्दोलनका क्रममा २०४६ साल चैत्र ९ गते प्रहरीले लोकतन्त्रवादीहरूको जुलुसमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा तीन महिला र दुई पुरुषसहित पाँच जना आन्दोलनकारीको एकै चिहान भएको थियो । यसक्रममा ३८ वर्षीया सोनावती देवी, ६१ वर्षीया जानकी देवी, ४५ वर्षीया मुनेश्वरी देवी, १४ वर्षीय उदयशंकर मण्डल र ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको थियो भन्ने दुई दर्जन अधिक घाइते भएको सहिद परिवारका शिवधारी यादवले बताए ।

यादवका अनुसार २०४६ सालको जनआन्दोलनमा पनि सिंगै यदुकुहावासी क्रुड पञ्चायती व्यवस्थाविरुद्ध एकजुट भएर लडेका थिए । मुलुकमा कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलनको घोषणा गरेको अवस्था थियो । आन्दोलन सहरमुखीमात्र भएकाले प्रशासनलाई दमन गर्न सजिलो भएको थियो । यस्तो अवस्थामा यदुकुहावासीले आन्दोलनलाई गाउँसम्म विस्तार गर्ने रणनीति बनाएको यादव स्मरण सुनाए ।

स्थानीय लक्ष्मी यादवका अनुसार जनआन्दोलन सुरु भएको तेस्रो दिन अर्थात् चैत्र ९ गते पूर्व सांसद शिवधारी यादवसहितका लोकतन्त्रवादी नेताहरूले यदुकुहा स्थित विद्यालयमा आमजनताको भेला गराए । आन्दोलन दवाउन मध्यान्ह १२ वजे तीनवटा गाडीमा झन्डै ४० जना सशस्त्र प्रहरी थप मद्दतका लागि यदुकुहा पठाइएको थियो ।

अपरान्ह २ बजे स्थानीयवासीले लोकतन्त्रको पक्षमा भव्य जुलुस प्रदर्शन गरे । जसमा प्रहरी हस्तक्षेप भयो तर हजारौंको संख्यामा रहेका आमनागरिकको अगाडि सुरक्षाकर्मीहरू निरीह बने । कांग्रेस नेता शिवधारी यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आन्दोलन उत्तेजक भयो । तर जुलुस गाउँ परिक्रमा गरी फर्किदै गरेका बेला अपरान्ह प्रहरीले पछाडिबाट अन्धाधुन्ध गोली प्रहार गरेको थियो जसमा पाँच जनाको मृत्यो भएको स्थानीय सम्झन्छन् ।

लोकतान्त्रिक आन्दोलनमा मात्र होइन माओवादीको गणतान्त्रिक आन्दोलनमा समेत यदुकुहाको योगदान छ । सहिदहरूको यस गाउँलाई नेपाल सरकारले २०५५ सालमा सहिदनगर घोषणा गरेको थियो ।

प्रकाशित : आश्विन २, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?