कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

विद्यार्थीले अझै पुस्तक पाएनन्

सर्लाही — अध्यापन सुरु भएको ५ महिना बितिसक्दा समेत सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीस्थित राम लगन माध्यमिक विद्यालयका विद्यार्थीले पाठ्य पुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरू लामो समयदेखी पढाइबाट वञ्चित हुँदै आएका छन् ।

विद्यार्थीले अझै पुस्तक पाएनन्

पाठ्यपुस्तक खरिद गर्न प्रत्येक वर्ष ससर्त अनुदान आएपछि वितरकसँग विद्यालयले शैक्षिक सत्रको सुरुमै किताब खरिद गर्दै आएको थियो । तर यस वर्ष हरिपुर नगरपालिकाले पुस्तक दिने भने पनि पढाइ सुरु भएको ५ महिना भइसक्दा पनि किताब उपलब्ध नगराउँदा विद्यार्थीहरू पढाइबाट वञ्चित भएका हुन् ।

किताब नहुँदा अध्ययन अध्यापन गराउन निकै कठिनाइ भइरहेको विद्यालयका प्रधानाध्यापक जवाहरलाल यादवले बताए । ‘प्रत्येक वर्ष ससर्त अनुदानको रकमबाट हामी सिधै वितरकसँग किताब मगाएर विद्यार्थीलाई दिँदै आएका थियौं तर यस वर्ष नगरपालिकाले किताब उपलब्ध गराउने भनेर वितरकसँग खरिद गर्न रोक लगायो,’ उनले भने, ‘आजभोलि गर्दागर्दै ५ महिना किताब नभई गुज्रियो । विद्यार्थीमाथि अन्याय भयो ।’

५ महिनादेखी विद्यार्थीको हातमा किताब नहुँदा स्तरीय शिक्षा दिन नसकेको शिक्षकहरूको भनाइ छ । ‘शिक्षकले मत्र पढाएर हुँदैन, विद्यार्थीले गृहकार्य पनि गर्नुपर्‍यो,’ विद्यालयमा कार्यरत्त शिक्षिका ललिता साहले भनिन्, ‘किताब नहुँदा विद्यार्थीले गृहकार्य गर्न सकिरहेका छैनन् ।’ कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पढाइ हुने यस सामुदायिक विद्यालयमा कक्षा–१ मा अध्ययनरत ५५ विद्यार्थीले अंग्रेजी र नेपालीबाहेकका किताब पाउन सकेका छैनन् । उनीहरूले गणित, सामाजिक र विज्ञान विषयका किताब देख्नै नपाएको गुनासो गरे । यस्तै कक्षा–२ का १२ जना विद्यार्थीले सामाजिक किताब पाएका छैनन् । कक्षा–५ का ९ जना विद्यार्थीले अंग्रेजी विषयका किताब पाउन सकेका छैनन् ।

अध्यापन सुरु भएको ५ महिना बितिसक्दा समेत कक्षा–९ का २० जना विद्यार्थीले जनसंख्या र १२ जना विद्यार्थीले सामाजिक विषयका किताब पाउन नसकेको दु:खेसो पोखे । एसईई परीक्षा आउन केही महिना मात्र बाँकी रहँदा समेत कक्षा–१० का ५ जना विद्यार्थीले स्वास्थ्य र २ जना विद्यार्थीले अर्थशास्त्र विषयका किताब पाउन सकेका छैनन् । उनीहरूले साथीको किताब हेरेर काम चलाउँदै आएका छन् । किताब नहुँदा अध्ययन गर्न कठिनाइ भइरहेको विद्यार्थीहरूले गुनासो गरेका छन् । कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा ७ सय ७१ विद्यार्थी छन् ।

राम लगन माध्यमिक विद्यालय मात्र हैन यस नगरपालिकाभित्र रहेका १५ वटा सामुदायिक विद्यालयले अहिलेसम्म सबै विषयको पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक नपाउँदा कहिले अभिभावक त कहिले विद्यालय व्यवस्थापनका पदाधिकारीबाट गाली खानुपरेको शिक्षकहरूले बताएका छन् । नगरपालिकामा पटक–पटक ताकेदा गर्दा किताब मगाइदिन्छु भनेर आश्वासन मात्र पाएको प्रधानाध्यापकहरूको गुनासो छ ।

हरिपुर नगरपालिकाका मेयर जमरुदिन मंसुरले कुनै पनि विद्यालयको एउटा पनि किताब बाँकी नरहेको दाबी गरेका छन् । ‘हामीले समिति नै बनाएर विद्यालयमा किताब पठाउन जिम्मा लगाएका थियौं,’ उनले भने, ‘सबै विद्यालयमा किताब पुर्‍याएर बाँकी रहेको किताब फिर्ता पनि गरिसक्यौं ।’ यस वर्ष किताबबाट कमिसन पाउन नसकेपछि प्रधानाध्यापकले विभिन्न किसिमको बहाना बनाएको मंसुरले आरोप लगाए ।

प्रकाशित : आश्विन ४, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?