कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई बालिका बलात्कृत

शिव पुरी

राैतहट — झारफुक गर्ने बहानामा यहाँको बौधिमाई नगरपालिकामा एक बालिका बलात्कार भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । त्यस्तै चन्द्रपुर नगरपालिकामा पनि एक बालिका बलात्कार भएकी छन् ।

दुई बालिका बलात्कृत

बौधिमाई–३ की १३ वर्षीया बालिकालाई माधवनारायण–४ वस्ने वर्ष ४२ को सुरेश गिरीले झारफुक गर्ने बहानामा बुधबार एकान्तमा लगी बलात्कार गरेका हुन् । घटनालगत्तै गिरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो । गिरी शरीरमा सानासाना खुट्टा भएको गोरु गाउँमा घुमाएर माग्दै हिँड्थे । त्यसै क्रममा उनी बौधीमाई पुगेका थिए ।

बालिकाको दाहिने हातमा सामान्य खटिरा आएको थियो । उनले झारफुकबाट निको पारिदिने भनेपछि बालिकालाई घरभन्दा केही पर लगेका थिए । नजिक रहेको बाँसको झ्यांमा भूत भगाउनुपर्छ भन्दै बालिकाकी काकीलाई पर राखेर गिरीले बालिका बलात्कार गरेको प्रहरीले जनायो । गिरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक संजिव सिंहले बताए ।

यता चन्द्रपुर नगरपालिका १ स्थित नुनथर जंगलमा मंगलबार बागमती नगरपालिकाकी १६ वर्षीय बालिकालाई बलात्कार गरेका छन् । बलात्कारको आरोपमा प्रहरीले स्थानीय रामकृष्ण सहनीलाई पक्राउ गरेको छ ।

बालिकालाई फकाएर लैजाने सबिता पहरीलाई समेत पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले बताए । ‘बागमती पारिबाट फकाएर सबिताले नुनथरसम्म लगेको पाइयो,’ उनले भने, ‘त्यहाँ पुगेपछि सबिता फर्किन् र बालिकालाई सहनीले बलात्कार गरे ।’ नुनथर क्षेत्र लगेपछि बालिकालाई मादक पदार्थ सेवन गराएको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनायो । दुबैलाई अनुसन्धानका लागि अदालतबाट ७ दिनका लागि म्याद थपिएको छ ।

बलात्कार १८ मुद्दा
जिल्ला प्रहरीका अनुसार गत आर्थिक वर्षमा जबरजस्ती करणीका १८ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै, जबरजस्ती करणी उद्योगमा ९ वटा मुद्दा दर्ता छन् । चालु आर्थिक वर्षको साउनयता २ महिनाको अवधिमा ६ वटा बलात्कारका घटना भएका छन् ।

यस्तै जबरजस्ती करणीका ५ वटा घटना दर्ता छन् । अपहरण तथा शारीरिक बन्धक बनाई जबरजस्ती करणीका एउटा घटना दर्ता रहेको प्रहरीले जनायो । जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले चेतनाको कमीले समाजमा बलात्कारको घटना भएको बताउँछन् ।

‘बालबालिकामाथिको दुव्र्यवहारका घटना न्यूनीकरण गर्नेतर्फ लागि परेका छौं,’ उनले भने, ‘यो एक्लैले सम्भव पनि छैन । समाजका हरेक वर्गका मानिसको हिंसा रोक्न साथ र सहयोग जरुरी छ ।’ दक्षिण भेगका अधिकांश बलात्कारका घटना गाउँमै मिलाउने प्रयास भएको छ ।

पीडितलाई विभिन्न किसिमको डर,त्रास र आर्थिक लोभ देखाएर पीडकलाई उन्मुक्ति दिन गाउँमा पञ्चायती शैलीमा मिलाउने क्रम जारी छ । अधिकारकर्मी बिपिन गौतमले बलात्कारको घटना गाउँमै मिलापत्र गराउनु दुर्भाग्य भएको बताउँछन् ।

प्रकाशित : आश्विन ५, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?