कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ महिनामा १६ को डुबेर मृत्यु

वीगञ्ज — गत भदौ मसान्तमा पर्साको पोखरिया नगरपालिका १० का दिपेन्द्र पटेलका १ वर्षीय छोरा रितिकको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भयो ।

४ महिनामा १६ को डुबेर मृत्यु

भदौ १९ मा वीरगन्ज महानगरपालिका २४, ज्योतिनगरका जामुन राउत कुर्मीको १४ वर्षीय छोरा नितेश र १० वर्षीय सुरेन्द्रको त्यहीं पोखरीमा डुबेर मृत्यु भयो । यही असार १८ मा पर्सागढी नगरपालिका ४ स्थित फन्टी खोलामा आएको बाढीले २विद्यार्थी बगायो । नेपाल राष्ट्रिय मावि बरवाछटौलीबाट परिक्षा दिएर आइरहेका १५ वर्षीय प्रतिमा राम र १४ वर्षीय सुरेन्द्र मण्डललाई खोलाले बगाएको थियो ।

पछिल्लो ४ महिनामा जिल्लामा १६ जनाको डुबेर मृत्यु भएको छ । जसमध्ये १ वर्षमुनिका ३ बालक छन् । अभिभावकको लापरवाहीले कम उमेरका बालबालिकाको डुबेर मृत्यु हुने गरेको पाइएको छ ।

आँगनमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर पोखरिया ९ का सत्नारायण महतोका १ वर्षीय छोरा अभयको गत वैशाख १४ मा मृत्यु भएको थियो । त्यही दिन पोखरिया नगरपालिका १ का खोबारी सहनीको ९ महिने नाति त्रिवेणीको आगनमा खेल्ने क्रममा चापाकलको पानी जम्मा हुने खाल्डोमा डुबेर मृत्यु भएको थियो । गत असार २० मा ७ वर्षीय आलोक यादवको वीरगन्ज महानगरपालिका २४ स्थित डेरा नजिकै पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरियाका सामाजिक परिचालक धर्मेन्द्र चौरसियाका अनुसार गाउँघरमा चापाकलको पानीको निकास नहुँदा घर नजिकै जथाभावी खाल्डो खन्नुपर्ने बाध्यता छ । ‘जनप्रतिनिधिले नाला निर्माण नगर्दा स्थानीयले घरनजिकै खाल्डो खन्नुपर्छ, अरूको जग्गामा पानी बगे झगडा हुने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘अनि बालबालिका खेल्दा खाल्डोमा जम्मा भएको पानीमा डुब्छन् ।’

ग्रामीण क्षेत्रमा अधिकांश पुरुष खेत वा बाहिर कामको जिम्मा लिन्छन् भने महिला घरायसी काममै व्यस्त हुन्छन् । ‘साना बालबालिका पानीमा डुबेर ज्यान गुमाउनु भनेको अभिभावकको पनि कमजोरी हो,’ उनले भने, ‘खाना खुवाइदिएपछि अधिकांशले बच्चाप्रतिको आफ्नो जिम्मेवारी बिर्सिन्छन्, खेल्दा रेखदेख गर्दैनन् ।’ डुबेर मृत्यु हुने १६ मध्ये १ वर्षदेखि १५ वर्ष उमेर समूहका ९ जना रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यही भदौ ६ मा पर्साको कालिकामाई २ का १३ वर्षीय अजदर मियाको आफ्नै घर नजिकको माछा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।

प्रहरी उपरीक्षक रेवती ढकालले कतिपय अवस्थामा अभिभावककै कारण बच्चा डुब्ने गरेको बताए । ‘बच्चालाई रुँगेर घरमै बस्ने अवस्था कतिपय अभिभावकको छैन,’ उनले भने, ‘बाहिर काममा जाँदा बच्चा एक्लै हुन्छन्, साथीभाइसँग खेल्दाखेल्दै घर नजिकैको खाल्डामा डुब्छन् । चेतनाको पनि कमि छ ।’ पौडिन नआउने बच्चा पनि साथीको लहलहैमा खोला वा पोखरीमा नुहाउन जाँदा डुब्ने गरेको प्रहरी उपरीक्षक ढकालले जनाए ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?