कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताजियामा रमाउँदै हिन्दु–मुस्लिम

श्यामसुन्दर शशि

जनकपुर — मध्य धनुषाको हंसपुर नगरपालिका ९ मोडहामा एक हिन्दुले निर्माण गराएको मुसलमानहरूको धार्मिक ताजिया (दाहा) उत्सवमा अचेल दुबै समुदायका मानिसहरू रमाउँदै छन् । हिन्दु–मुसलमान एकताको यस मनोरम पर्वमा हजारौं श्रद्धालु सहभागी छन् ।

ताजियामा रमाउँदै हिन्दु–मुस्लिम

हरवारा गाउँभन्दा पश्चिममा अवस्थित विद्यालयमा निर्माण गरिएको कलात्मक ताजिया अवलोकन गर्न तथा मेलालाई मनोरञ्जक बनाउन आयोजना गरिएको प्रतिष्पर्धात्मक लाठी,झरी झरी प्रतियोगितामा प्रतिष्पर्धा गर्न जिल्लाभरिकै मुसलमान युवायुवतीहरू सहभागी छन् ।

आकर्षक लिवासमा सजिएकी महिला तथा हातमा लाठी,बर्छी,फंरसा लगायतका पारम्परिक हतियारबाट सुसज्जित मुसलमान युवाहरूको टोली ‘हा हुसेन’ को जयघोष गर्दै कार्यक्रम स्थलतर्फ जाँदै र फर्किदै गरेको दृश्य मनमोहक छ ।

मेलाको तेस्रो दिन शनिबार प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव तथा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रतिष्पर्धाका सहभागी तथा विजेताहरूलाई चाँदीको तक्मा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

मन्त्री यादवले ताजिया मेलालाई हिन्दु–मुस्लिम सौहार्दको पर्वको संज्ञा दिए– ‘यस्ता सामाजिक तथा सांस्कृतिक पर्व र उत्सवहरूले समाजलाई एक ढिक्का बनाउन सहयोग गर्छ,’ उनको कथन थियो ।

१६ वर्ष पूर्व ‘छोरा जन्मे ताजिया बनाउने’ भाकल गरेका गाउँकै गंभीर साहले झन्डै ८ लाखको लागतमा ताजिया बनाएका हुन् ।


भारत सुरसण्ड थानास्थित हनुमाननगरका अनवारूल शाहले आकर्षक ताजिया निर्माण गर्न ३ लाख ६० हजार मजदुरीमात्र लिएका छन् । झन्डै अढाई महिनामा निर्माण सम्पन्न भएको उक्त ताजियामा सोह्री अर्थात् २ सय ५६ थान बाँस प्रयोग गरिएको छ भने दुई लाख अधिकको रंगीचंगी कागजको प्रयोग गरिएको छ । यसका अतिरिक्त नाच,तमासा तथा प्रतिष्पर्धीहरूलाई पुरस्कार आदिमा समेत राम्रै खर्च भएको ताजिया निर्माता गंभीर साहले बताए ।

१६ वर्ष पहिले गाउँकै असर्फी साहले निर्माण गराएको ताजियामा गंभीर साह र निजकी श्रीमतीले छोरा जन्मेपछि ताजिया निर्माण गर्ने भाकल गरेका थिए । भाकल गरेको दुई वर्ष नबित्दै गंभीरकी श्रीमतीले छोरा जन्म दिइन् । जसको नाम गौतम साह राखियो । अचेल गंभीरलाई दुई छोरा र दुई छोरी गरी चार सन्तान छन् । ताजियाको पूजा अर्चनाको जिम्मा गौतमकै जिम्मा हो ।

‘जेठो छोरा १४ वर्षको भयो । स्वस्थ छ अनि पढ्नमा पनि अब्बल छ । भाकल पूरा भएपछि जोर जम गरेर यस वर्ष ताजिया बनाएको छु । अल्लाह मियाले मेरो फरियाद (याचना) सुन्नु भयो,’ गंभीर साहले कान्तिपुरसँग भने ।

पुत्र प्राप्ति, सुख–शान्ति तथा धन्यधान्य प्राप्तिको कामना गरेर ताजिया बनाउने हिन्दुहरूको संख्या उल्लेख्य छ । यसअघि हरवारा गाउँका लालबाबु साह, असर्फी साह,धनेश्वर साह लगायतले ताजिया निर्माण गरेको गाउँकै मुसलिम धर्मगुरु लाल नदाफले जानकारी दिए । हिन्दुहरू आफ्नै खर्चमा ताजिया निर्माण गर्छन् अनि मुस्लिम धर्मगुरुहरू नि:शुल्क पूजा अर्चना गर्छन् । ताजिया निर्माणदेखि समापनसम्मको सम्पूर्ण पूजाअर्चना स्थानीय लाल नदाफले नै गर्ने गरेका छन् ।

‘खर्च भाकलकर्ताले दिन्छ । त्यसपछिका मिस्त्री ल्याउने,रेखदेख गर्ने, पूजाअर्चना गर्ने लगायतका सम्पूर्ण काम मै गर्छु । अल्ला मियाले धर्मको आधारमा विभेद गर्दैन । उनलाई स्मरण गर्ने सबैको मनोकामना पूरा हुन्छ,’ लाल नदाफ कान्तिपुरसँग भने ।

लाल नदाफका अनुसार ताजिया इमाम साहेवको घोडा हो । यसले चिताएको फल दिन्छ । इस्लामिक कैलेन्डरको पहिलो महिनामा मनाइने यस पर्वलाई सहादत पर्वका रूपमा मनाइन्छ । स्थानीय लाल नदाफका अनुसार मोहम्मदको वारिस (उत्तराधिकारी) इमाम हुसेनको सहादलत भएको यस महिनाका दस दिनलाई मुसलमानहरू शोकका रूपमा मनाउँछन् । ताजिया सजाएर शोक प्रकट गरिन्छ ।’

प्राचिन कर्बला हालको सिरियाका तत्कालीन सम्राट यजीद इस्लाम शहंशाह बन्न खोज्दै थिए । मोहम्मदका उत्तराधिकारी इमाम हुसेन र उनका भाइहरू आफ्ना सखासन्तान सहित मदिनाबाट इराकतर्फ जाँदै गर्दा यसीदले घेराबन्दी गरेर उनीहरूमाथि आक्रमण गरे । युद्धको दसौं दिन नवाज पढदै गरेका इमामलाई हत्या गरियो । यसै दिनदेखि मुहर्रमको महिनालाई मुसलमानहरू सहिद महिनाका रूपमा मनाउने गरेको मुस्लिम धर्मका जानकारहरू बताउँछन् ।

प्रकाशित : आश्विन ६, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?