कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँस काट्न गएकी महिलाको हत्या

पवन यादव

सिमरा — घाँटी रेटी हत्या गरिएको अवस्थामा बाराको कलैया उपमहानगरपालिका १३ बलिरामपुरमा एक महिलाको शव आइतबार फेला परेको छ ।

घाँस काट्न गएकी महिलाको हत्या

स्थानीय अन्दाजी ४५ वर्षीया सियापति धोबीनको हत्या गरिएको अवस्थामा गाउँभन्दा पूर्वपट्टिको पसाहा नदी नजिकैको आफ्नै उखुबारीमा शव फेला परेको हो । घाँस काट्न भनी शनिबार दिउँसो ३ बजे खोलातिर निस्केकी सियापति राति अबेरसम्म घर नफर्केपछि परिवारजनले उनको खोजतलास गरेका थिए ।

स्थानीय रामबालक बैठाकी पत्नी सियापति ३ छोरी र एक छोराको आमा हुन् । श्रीमानको अनुपस्थितिमा मृतक सियापति घरको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

उनका छोरा लगायत आफन्तले खोजतलास गरे पनि राति उनलाई भेटाउन सकेको थिएन । बिहान गाउँलेले मृतकको शव उखुबारीमा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रंजित सिंह राठौरले बताए ।‘घाँटी रेटी हत्या भएको हो,’ उनले भने, ‘बलात्कारचाहिँ भएको छैन ।’ महिलाले जुन कपडा लगाएकी थिई जस्ताको त्यस्तै थियो । बलात्कारको भएको रतीभर शंका गर्न सक्ने अवस्था नदेखिएको उनले बताए ।

उनका अनुसार मृतक महिलाका पति रोजगारीका लागि २ वर्षदेखि घर बाहिर छन् । उनी घर फर्केका छैनन् । ती महिला छोरासँग घरमै बस्दै आएकी थिइन् । उनको हत्या किन र कसले गरेको हो खुल्न सकेको छैन ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल कलैयामा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजतलास गरी दोषीलाई कारवाही गर्न प्रहरीले लागिरहेको उनले जानकारी दिए । शव परीक्षणपछि अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार विभिन्न कारणबाट बारामा २ वर्षयता एक सय ३४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा ५५ जना र २०७४/०७५ मा ७९ जना गरी १ सय ३४ जनाले ज्यान गुमाएका हुन् ।

त्यस्तै चालु आर्थिक वर्षको ३ महिनायता १७ जनाले विभिन्न कारणबाट ज्यान गुमाएको प्रहरीले जनाएको छ । उक्त अवधिको साउनमा ११, भदौमा ४ र असोजमा २ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकले जनाएको छ । प्रहरीको तथ्यांकबाट बारामा हत्या हिंसाको घटना अत्यधिक रूपले बढेको जानकारले बताए । प्रहरीको फितलो अनुसन्धान र घटनाप्रति सुरक्षा अधिकारी गम्भीर नहुँदा हत्या हिंसाको घटना बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?