कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा मिचेर बालुवा गिट्टी ठेक्का

बाराको निजगढ र कोल्हवी नगरपालिकाबीचको विवादित लालबकैया खोला ।तस्बिर : लक्ष्मीलालबकैया खोला सीमाभित्र रहेको दाबी गर्दै निजगढ नगरपालिकाले स्थानीय ओम सप्लायर्सलाई ७ करोड ७७ लाख ७७ हजारमा ठेक्का दिएको हो ।
लक्ष्मी साह

बारा — निजगढ नगरपालिकाले सीमा मिचेर बालुवा–ढुंगा र गिट्टी बिक्री ठेक्का लगाएको छ । लालबकैया खोला आफ्नो सीमाभित्र रहेको दाबी गर्दै उसले स्थानीय ओम सप्लायर्सलाई ७ करोड ७७ लाख ७७ हजारमा ठेक्का दिएको हो ।

सीमा मिचेर बालुवा गिट्टी ठेक्का

निजगढले उक्त ठेक्का लगाएपछि कोल्हवी नगरपालिका र निजगढबीच विवाद सुरु भएको छ । ठेक्का लगाइएको क्षेत्रलाई विगतदेखि नै निजगढ नगरपालिकाले प्रयोग र संरक्षण गर्दै आएकोले ठेक्का लगाइएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतचन्द्र अधिकारीले बताए ।


आम्दानीको स्रोत देखेपछि कोल्हवी नगरपालिकाले आँखा लगाउँदै विवाद सुरु गरेको उनको भनाइ छ । ठेक्का प्रक्रिया सुरु गर्नुअघि नगरपालिकाले जिल्ला समन्वय समितिसँग राय माग गरेकोमा विवाद समाधानमा खासै चासो नदेखाएकोले अन्तिममा ठेक्का लगाएको उनले बताए । पुनरावेदन अदालतको आदेश र सरकारी नक्सासमेत सच्याउन उनले माग गरे ।

‘प्रदेश सरकारले दररेट निर्धारण गरेपछि भोग चलनअनुसार हामीले ठेक्का लगाएका हौं,’ उनले भने, ‘कानुनी रुपमा सीमा जसको जहाँ जे भएपनि पहिलाकै चलनचल्तीअनुसार ठेक्का लगाइएको छ ।’ तत्कालीन जिविसको अधिकार कटौती गरी स्थानीय तहलाई ठेक्का लगाउने कानुनी व्यवस्था भएपछि निजगढले ठेक्का लगाएको हो ।


सो क्षेत्रको तत्कालीन जिविसले बालुवागिट्टी विक्री र जिल्ला निकासी करको ठेक्का लगाउँदै आएको थियो । स्थानीय तह पुनरसंरचना भएसँगै निजगढले पहिलो पटक यो बर्ष ठेक्का लगाउने सुरुवात गरेको हो । निजगढ र कोल्हवी छिमेकी नगर हो । लालबकैया खोला पारि (पुर्व–उत्तर) निजगढ नगरपालिका र वारि (पश्चिम दक्षिण) कोल्हवी नगरपालिका पर्छ । कोल्हवी नगरपालिकालेसमेत त्यही क्षेत्रलाई लक्षित गरी ३ करोड २१ लखमा बोलपत्र आहान गरिसकेको छ । बोलपत्र आहानको म्याद अझै बाँकी रहेकोले ठेक्का लागेको छैन ।

‘निजगढ नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर गैरकानुनी रुपमा सीमा मिचेर ठेक्का लगाएको हो,’ कोल्हवी नगरपालिकाका मेयर भरत भण्डारीले भने, ‘ठेक्का फिर्ता नलिए कानुनी उपचारको लागि फेरि अदालत जान्छौं ।’ २०५७ सालमै पुनरावेदन अदालतले लालबकैया खोलाको पुर्व–पश्चिम राजमार्गमा पर्ने पुल भन्दा दक्षिणपट्टीको भाग आफ्नो कोल्हवी नगरपालिको सीमानामा परेको उनले बताए । अदालतले सीमाबारे स्पस्ट रुपमा आदेश गरिसकेकोले हामीले त्यस क्षेत्रको ठेक्का लगाउनुपर्ने उनले माग गरे ।


‘अदालतले आदेश गरिसकेको विषयमा आम्दानी हात पार्न निजगढ नगरपालिकाले अदालतको आदेश अटेर गरी ठेक्का लगाएको छ,’ उनले भने, ‘व्यावहारिक रुपमा खोलाको पानीको मुख्य धार भन्दा पश्चिम आफ्नो नगर र पुर्व निजगढले ठेक्का लगाएपनि हुन्थ्यो । तर सीमा नै मिचेर खोलाको धार भन्दा पश्चिमपट्टिसम्मको बालुवा गिट्टी उसले उत्खनन र स्टक गरी बिक्री गर्न ठेक्का लगाएको अदालतको आदेशलाई ठाडो उल्लंघन गर्नु हो ।’ उसको यो सरासर गैरकानुनी कार्य भएको उनले बताए ।


राजमार्गको लालबकैया पुलबाट पूर्व–पश्चिम ५ सय मिटर दक्षिणतर्फको क्षेत्रमा ठेक्का लगाउने विषयमा दुई छिमेकी नगरबीच विवाद भएपछि ठेकेदारहरू पनि अलमलमा परेका छन् । निजगढको ठेक्का लिएर पनि ठेकेदारले बालुवा गिट्टी उठेको कर लिएको छैन । निजगढ नगरपालिकाले नै अमानत (आफंै) मा दस्तुर असुल गरिरहेको छ । सीमा खोलाको रुपमा रहेको उक्त खोलामा निजगढ नगरपालिकाले एक साताअघि ठेक्का लगाए पनि ठेकेदारलाई चलन पुर्जी नदिई अमानतमा दस्तुर उठाउन सुरु गरिसकेको छ । ठेकेदारले ठेक्का रकम नबुझाएकाले नगरपालिकाले नै अमानतमा दस्तुर उठाइरहेको निजगढ नगरपालिकाका प्रशासकीय अधिकृत भरतचन्द्रले बताए ।


‘निजगढ नगरले एकलौटी रुपमा ठेक्का लगाएर विवाद झिकेको छ,’ कोल्हवी नगरका मेयर भण्डारीले भने, ‘पहिला त्यो क्षेत्र साविक सपही गाविसअन्तर्गत पर्दथ्यो । अहिले पुनरसंरचनापछि कोल्हवी नगरअन्तर्गत पर्छ , त्यसैले त्यो क्षेत्र हाम्रो हो ।’ पुलदेखि दक्षिणतर्फ खोलाको सम्पुर्ण भाग कोल्हवी नगरपालिकामा पर्ने भएपनि निजगढ नगरले क्षेत्राधिकार मिचेर ठेक्का लगाउनु जबर्जस्ती भएको भण्डारीको उनको तर्क छ ।


‘अदालतको आदेश र सरकारी नक्सालेसमेत त्यो खोलको क्षेत्र कोल्हवीमा पर्ने देखाएको छ, उनले भने, ‘नियम विपरित लगाइएको ठेक्का कुनै पनि अवस्थामा संचालनमा आउन दिइन्न ।’ खोलाको सबै भाग आफ्नो नगरमा परे पनि कार्यपालिका बैठकले खोलाको बीच भागबाट पश्चिमतर्फबाट बालुवा ढुंगामा ठेक्का लगाउने निर्णय गरेको र आफू सोहीअनुसार अघि बढ्ने उनले बताए ।


जिल्ला समन्वय समिति बाराले दिएको निर्देशन समेत अटेर गरेर निजगढले ठेक्का लगाएको उनको आरोप छ । ‘ठेक्का सहमति दिने क्रममा जिल्ला समन्वय समितिले एक महिनाअघि आफ्नो सीमा क्षेत्रभित्र मात्र ठेक्का लगाउन पत्राचार गरेपनि निजगढ नगरसपालिकाले सो पत्रको वेवास्ता गरेर एकतर्फी ठेक्का लगाएको छ,’ उनले भने, ‘खोलाको सम्पुर्ण क्षेत्र कोल्हवीमा पर्ने भएपनि आपसी सहमतिमा खोलाको बीच भागबाट पुर्वतर्फ निजगढ र पश्चिमतर्फ कोल्हवीले ठेक्का लगाउने सहमति गर्न सकिन्छ । तर पुरै भाग कदापी दिन्नौं ।’

बालुवा ढुंगा ठेक्का विवादमा साविक सपही गाविसविरुद्ध निजगढले गरेको मुद्दामा पुनरावेदन अदालत हेटौंडाले खोलाको पानी वहाव क्षेत्रसम्म सपही गाविसको सीमा पर्ने र सोही अनुसार ठेक्का बन्दोबस्त गर्न भनी ०५७ सालमा आदेश गरेको थियो । आदेश गरिएपनि बकैया खोलामा दुई नगरले दाबी गर्दै आएका हुन । विवादित क्षेत्र निजगढ नगरको पश्चिमतर्फ आवादीसँग जोडिएको छ भने कोल्हवी नगरको आवादी क्षेत्र भने १५ किमी दक्षिणमा पर्छ ।


बालुवा, ढुंगा ठेक्का विवादमा सपहीविरुद्ध निजगढले गरेको मुद्दामा अदालतले सपही गाविसको पक्षमा आदेश सुनाएको थियो ।

प्रकाशित : आश्विन ११, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?