कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठोरीमा हात्ती आतंक

शंकर आचार्य

पर्सा — दुई साताभित्रै ठोरी गाउँपालिकामा जंगली हात्तीले २ जनाको ज्यान लिएपछि स्थानीयबासी आतंकित छन् । जंगली हात्तीले शुक्रबार राति पनि एक वृद्धाको ज्यान लिएपछि स्थानीय आतंकित भएका हुन् ।

ठोरीमा हात्ती आतंक

ठोरी गाउँपालिका–३ सिकारीबासस्थित नेराप्राविको प्राङगण नजिक खाली जग्गामा शनिबार बिहान अन्दाजी ६५ वर्षीया वृद्धाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार त्यस भेगमा केही दिनदेखि मागेर खाने ती महिलाको सनाखत हुन सकेको छैन । शुक्रबार राति करिब ९ बजे स्थानीयले हात्ती कराएको आवाज सुनेका थिए । बिहान क्षतविक्षत अवस्थामा महिलाको शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । शवको नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरिएको छ ।


यसअघि असोज १ गते पनि जंगली हात्तीले त्यहा एक युवतीको ज्यान लिएको थियो । ठोरी गापा ३ ब्रह्मनगरमा बाटोमा राति करिब १ बजे हात्तीले २४ वर्षीया रेजिना स्याङबोको ज्यान लिएको थियो । नुवाकोट घर भई उनी बिजयबस्तीमा एक होटलमा काम गर्दै आएकी थिइन् । स्थानीय अमन आले र अर्की युवती निर्मला केसीसँगै राति मोटरसाइकलमा जाँदै गर्दा उनी हात्तीको आक्रमणमा परेकी थिइन् ।


यसरी दुई साताभित्रै हात्तीले २ जनाको ज्यान लिएपछि स्थानीय आतंकित भएको स्थानीय शिक्षक प्रेम लामा बताउँछन् । विशेष गरी साँझ परेपछि स्थानीय बासिन्दा सार्वजनिक बाटोमा हिँड्न पनि डराउन थालेका छन् । ‘स्थिति भयावह छ,’ उनले भने, ‘को कहाँ कतिखेर आक्रमणमा परिने हो भनी सावधानीपूर्वक हिँडडुल गर्न थालेका छन् ।’


धानको बाला फुट्ने र कतै पाक्ने पनि सिजन भएकाले पर्सा तथा चितवन राष्ट्रिय निकुञ्जका हात्ती बर्सेनि यो सिजनमा धान खान मानव बस्ती पस्ने गर्छन् । चैतको अन्तिम तथा वैशाखको पहिलो साता पर्सा निकुञ्जको रामभौरीभाठा क्षेत्रमा हात्तीको आक्रमणमा परी ३ जनाको ज्यान गएको थियो । पर्सा निकुञ्ज प्रशासनले निकुञ्ज छेउका मानबस्तीमा हात्ती प्रवेश गर्ने क्रम रोक्न विद्युतीय तारबार गरेको छ । ठोरी गाउँपालिकाकै सुवर्णपुर क्षेत्रमा साढे १४ किलोमिटर क्षेत्रमा तारबार गरिएको छ । हाल हात्ती आक्रमण प्रभावित क्षेत्रमा भने तारबार गरिएको छैन । ठोरी गाउँपालिका ठूलो रहेको र सुवर्णपुरदेखि ठोरी बजारको मुखसम्म मात्रै तारबार गर्न पनि करिब २० किमी बढी क्षेत्रमा थप तारबार गर्नुपर्ने हुन्छ ।


ठोरी गाउँपालिकाअन्तर्गत ठोरी, निर्मलबस्ती, बिजयबस्ती, सुवर्णपुरका बासिन्दाले वर्षौंदेखि जंगली हात्तीको आक्रमणको पीडा भोग्दै आएका छन् । वर्षेनी आउने हात्तीको समूहले स्थानीयको बालीनाली, घर आदि नष्ट गर्नुका साथै ज्यानै समेत लिने गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज जंगली हात्तीको रैथाने बासस्थान मानिन्छ । चितवन निकुञ्जमा पनि जंगली हात्ती छन् । स्थानीयले लामो समयदेखि हात्ती लगायत अन्य वन्यजन्तुको मानव बस्तीमा प्रवेशको समस्याको दीर्घकालीन समाधानको माग गर्दै आएका छन् ।

प्रकाशित : आश्विन १५, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?